Home / News / अर्थ / १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला राजधानीमा सुरु, करिब ६ करोडको कारोबार हुने लक्ष्य

१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला राजधानीमा सुरु, करिब ६ करोडको कारोबार हुने लक्ष्य

वैशाख ७। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पुँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताएका छन् ।

लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा सुरु भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को उदघाटन गर्दै उनले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास आवश्यकता औंल्याए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा उनले नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको बताए ।

मुलुकको आन्तरिक उत्पादनलाई बढाएर आयात प्रतिष्थापन गर्न सकिने भन्दै मन्त्री महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुकको आन्तरिक उत्पादनलाई बढाउन सम्भव नहुने बताए ।

लघु, घरेलु तथा साना उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै उनले सरकारले ल्याउन लागेको आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिए । लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याईने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मुलुक लामो समयसम्म राजनीतिक खिचातानीबाट गुज्रँदै आएको भन्दै उहाँले राजनीतिक परिवर्तनको यात्रा पुरा भएकाले अब सम्पूर्ण ध्यान आर्थिक विकास र समृद्घिको यात्रामा लगाउनुपर्नेमा उनले जोड दिए ।

विज्ञान मन्त्री प्रेमबहादुर सिंहले मुलुकमा रहेका साधन स्रोत र प्रविधि पर्याप्त हुँदा पनि तिनको आवश्यक अनुसन्धान र विकास गर्न नसकेका कारण दिगो विकास र समृद्घि हासिल गर्न नसकिएको बताए । मुलुकको दिगो विकास र समृद्घिका लागि कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलाई विज्ञान प्रविधिसँग जोडेर मात्र अगाडि बढ्न सम्भव भएको उनको भनाई थियो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकी उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको भन्दै थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरु उद्योगसंग जोडिइ समुचित उपयोग र प्रवद्र्धन हुन नसकेको बताए ।

प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ । यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव १ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । यसका अलावा प्रदर्शनी अवधिमा अनुसन्धानकर्ता, उद्यमी र सरोकारवाला निकाय बीच ‘इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्राइज’ विषयक अन्तरक्रिया, महिला उद्यमशिलताको विकासमा सरकारी निकायहरुको भूमिका विषयक छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमहरु संचालन हुनेछन् भने मेला भित्रको मेला रोजगारी मेला पनि संचालित रहेको छ ।

सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिइएको महासंघले जानकारी दिएको छ ।

प्रदर्शनी औद्योगिक व्यापार मेला समेत भएको हुँदा मेलामा हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने बताइएको छ । यसका अलावा चीन, भारत, पाकिस्तान र बंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी हुने सुनिश्चित भएको छ ।

मेलामा रोजगरादाता र बेरोजगारबीच सुचना पुलको काम गर्ने उद्देश्यले महासंघले आइएलओ र श्रम विभाग, रोजगार सूचना केन्द्रको सहकार्यमा मेला भित्रको मेला रोजगार मेलाको आयोजना पनि गर्न लागेको छ । प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिब ६ करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *