Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानूनका कुरा

वकिलसँग कानूनका कुरा

रमेशकुमार श्रेष्

विश्व सन्देश पत्रिका हरेक हप्ता हेर्ने गर्छु । यो पत्रिकाले लेखेका खबरहरु मलाई मन पर्छ। यसमा पनि मैले वकिलसँगको कुरा सधैं पढ्ने गर्छु । त्यसैले मेरो आफ्ना केही कुरा यही पत्रिकामार्फत रमेशकुमार श्रेष्ठलाई सोध्न मन लाग्यो। कृपया यसको उत्तर दिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु। मेरो श्रीमतीले सन् २००८ मा डीभी लोटरी भर्दा उनले आफ्नो वैवाहिक अवस्थामा अविवाहित भनेर लेखेकी थिइन्। त्यसबेला हाम्रो विवाह भएको ४ वर्ष भइसकेको थियो र हामीसँग २ वर्षको छोरा पनि थियो। तर, मेरो श्रीमतीको उमेर २० वर्षभन्दा कम भएकाले हाम्रो विवाह दर्ता र छोराको जन्मदर्ता दुवै गरेका थिएनौं। डीभी लोटरी परेपछि फेरि केही समस्या हुन्छ कि भनेर उनी सिंगल स्टाटसमै अमेरिका आइन्। २ वर्षपछि नेपाल फर्केर हामीले सन् २०११ मा विवाह दर्ता गरेर मलाई स्पोन्सर गरिन्। र, अहिले हामी दुवै अमेरिकामा छौं। अब हामी हाम्रो छोरालाई ल्याउन चाहन्छौं। तर, छोराको जन्मदिनभन्दा हाम्रो विवाह दर्ता भएको दिन ४ वर्ष पछाडि छ। यस्तो स्थितिमा कसरी हाम्रो छोरालाई अमेरिका ल्याउन मिल्छ होला? सुझावको आशामा।

– प्रेम, न्यूयोर्क

प्रेमजी, सर्वप्रथम विश्वसन्देश पत्रिका र विशेष यो कानूनी स्तम्भको नियमित पाठक हुनुभएकोमा धेरैधेरै धन्यवाद छ । अमेरिकामा प्रवेश गर्ने आवेदनमा (अस्थायी वा स्थायी भिसाको जेसुकै भए पनि) वैवाहिक अवस्था र छोराछोरीहरुको विवरण दिनुपर्ने हुन्छ । तपाईंको श्रीमतीले डीभी लोटरीको आधारमा भर्नुपर्ने फारमहरुमा छोराको विवरण नखुलाएको कुरा टेक्निकलरुपमा गलत विवरण वा मिसरिप्रिजेन्टेशन गरेको मानिन्छ । तर, व्यावहारिक रुपमा मेरो अनुभवको आधारमा अमेरिकी अध्यागमन वा राजदूतावासले यसलाई गम्भीररुपमा लिने गरेको देखिएको छैन । तपाईंको सोचाइमा वा नेपाली संस्कारअनुसार विवाहअगावै कसरी बच्चा जन्मियो भन्ने असम्भवताको मानसिकता भए तापनि अमेरिकी अध्यागमनको कानूनअनुसार विवाहअघि नै जन्म भएको वा आउट अफ वेडलक बच्चाहरुलाई पनि उत्तिकै कानूनी मान्यता दिइनेछ । त्यसैले तपाईंको छोराको जन्म, विवाहअगावै भएको देखिए तापनि तपाईंहरुबीच विवाह भइसकेकोले सो आधारमा उसको जन्म अबको अवस्थामा कानूनी मानिनेछ । त्यसैले मात्र छोराको जन्म तपाईंहरुको विवाहभन्दा ४ वर्षअघि नै भएको भन्ने आधारमा तपाईंको छोराको लागि पेश गरेको पेटिसनलाई अस्वीकार गर्न नमिल्ने हुन्छ । त्यसैले छोराको जन्म मिति यथावत नै राखी फेमिली भिसा पेटिसन फायल गर्ने सुझाव छ ।

Check Also

वकिलसँग कानुनका कुरा

म सन् २००२ मा बी–२ भिसामा अमेरिका आएको थिएँ। सन् २००७ मा असाइलमको निवेदन गरें। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *