Home / News / अन्तर्वार्ता / निलम कार्की निहारिकासँग पुस्तक वार्ता

निलम कार्की निहारिकासँग पुस्तक वार्ता

निलम कार्की निहारिकालाई केही वर्षअघिसम्म धेरैले सञ्चारकर्मीको रुपमा चिन्दथे। नेपाल टेलिभिजनमा उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउने गर्दथिन्। तर, केही वर्षयता उनको परिचयको दायरा फराकिलो भएको छ। उनको साहित्यकारको रुपमा पनि परिचय थपिएको छ। पछिल्लो वर्ष कार्कीको उपन्यास चिरहरणले पद्मश्री पुरस्कार पाएको छ। उसो त निलमले एकातिर नेपाली साहित्यमा एमएसम्मको अध्ययन पूरा गरेकी छन भने अर्कोतिर नर्सिङ शिक्षामा पनि एमएड गरेकी छन्। २०५३ को राष्ट्रिय कविता महोत्सवमा तेस्रो र विराट कविता महोत्सवमा दोस्रो भएदेखि उनी कवियत्री गनिएकी थिइन्। तर, पछि उनको लेखन उपन्यासतिर मोडियो। हाल उनी नयाँ ऐतिहासिक विषयमा कलम चलाइरहेकी छिन्। उनै निलम कार्कीसँग विश्व सन्देशका लागि शरद पोखरेलले गरेको पुस्तक वार्ता-

अहिले पढ्दै गरेको पुस्तक ?

अहिले म श्री बाबुराम आचार्यबाट लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनी पढ्दै छु ।

पढेको उत्कृष्ट पुस्तक ?

पढेको उत्कृष्ट पुस्तकहरु धेरै छन् । तर, एउटा मात्र नाम लिन पर्दा महाभारत ।

रुचीकर आख्यान कि गैरआख्यान ?

आख्यान र गैरआख्यान दुवै पढ्न मन पर्छ ।

तपाईंलाई प्रभाव पार्ने पुस्तक ?

ऐतिहासिक र मिथक पुस्तकहरुले मलाई प्रभाव पार्छन् ।

पढ्न सिफारिस पुस्तक ?

हाम्रो धरातल हामी आफैले वुझ्नका लागि अहिलेलाई भन्दा आफैंले पढिरहेको पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भन्छु म ।

मनपर्ने लेखक र उनको मनपर्ने कृति ?

लामो सूची तयार हुन्छ । कुनै सर्जकका फुटकर रचना पनि मन पर्छ । कसैका प्रायः सबै सिर्जना । अग्रज अनि समकालीन धेरैका सिर्जना फरक–फरक स्वादमा मन पर्छन् । अनुसन्धात्मक लेखहरु अझ बढी पढ्न लायक हुन्छन् ।

संख्याले मात्र राम्रो लेखन दिन्छ कि दिंदैन ?

दुवै छ । नदिन पनि सक्छ र दिन पनि सक्छ । हामी सधैं संख्याको कुरा गर्दा भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मानिस’को उदाहरण दिन्छांै । भूपिका अन्य कृतिहरुमाझ त्यो विशेष मान्नु अर्को कुरा । देवकोटाको ‘मुनामदन’, पारिजातको, ‘शिरीषको फूल’ अनि बीपी कोइरालाको ‘सुम्निमा’ मात्र राम्रा कृतिहरु त हैनन् नि ? उहाँहरुको अन्य सिर्जनाहरु पनि त उत्तिकै सशक्त छ । तर नाम लिंदा रामै्रको नाम मात्र अगाडि आउँछ । संख्याले राम्रो लेखन दिन्न भन्न सकिन्न । संख्या बढाउनका लागि मात्र पनि लेख्नु भएन, त्यही हो ।

किन पढ्नुहुन्छ ?

ज्ञानको लागि अनि आनन्दको लागि पढ्छु । कुनै पनि पुस्तक छान्ने वेला सोच्ने गर्छु, म के बारेमा पढ्दैछु अनि त्यहीअनुसार पुस्तक लिन्छु पनि ।

पढ्नका लागि रोजाइको स्थान ?

यही यस्तै भन्ने छैन । कहिले ग्रोसरी जाँदा पनि झोलामा किताब हुन्छ । कसैलाई पर्खी बस्न प¥यो भने पार्किङमै पनि पढ्ने गर्छु । भिडमा पनि पढ्न सक्छु । यात्रामा पढ्न झन् मन पर्छ ।

अहिले के लेख्दै हुनुहुन्छ ?

केही कथाहरु पूरा गर्नु थियो, तर उपन्यास नै लेख्न शुरु गरें ।

के विषयमा लेख्दै हुनुहुन्छ ?

ऐतिहासिक विषयमा नै हो र २०७४ सालभित्रै पाठकको हातमा पुस्तक पर्छ होला ।

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *