Home / News / प्रवास / समाजसेवी प्रवासीको प्रवास भोगाइ

समाजसेवी प्रवासीको प्रवास भोगाइ

विगतमा जुट्नै गाह्रो, जुट्नेबित्तिकै छुट्टिनै हतार हुन्थ्यो

‘नयाँ ठाउँ, नयाँ परिवेशमा कसरी जम्ने होला ?’ अमेरिका आउने समय नजिकिंदै जाँदादेखि रमेश पोखरेललाई यो चिन्ताले सताइरहेको थियो । १४ वर्षअघि जिन्दगीको महत्वपूर्ण दिनहरु बिताएको देशबाट अर्को देशमा आउँदा पोखरेलका लागि यहाँको परिवेश बिल्कुल भिन्न थियो ।

त्यसै पनि नयाँ ठाउँ, सबै फरक लाग्ने नै भयो । उनले विगत सम्झँदै भने– ‘मुख्य कुरा विकासले हामीलाई यहाँ पछ्याइरहेको न हो । त्यो नै मेरा लागि खास विषय थियो । यहाँ पुल–पुल मिलाएर बाटाहरु जसरी संयोजन गरिएको हुन्छ, यो एउटा सिकाइको पाटो नै हो ।’

साँघुरो सडकमा जोखिमपूर्ण यात्राको लामो अनुभव संगालेका हामीहरुका लागि यहाँको सडक सञ्जाल अभूतपूर्व लाग्नु कुनै नौलो विषय थिएन र उनका लागि पनि त्यो एक प्रकारको फरक अनुभूति नै थियो । नेपालमा नदेखेका र प्रयोग नगरेका धेरै पक्षसँग दिनचर्या जोडिएको हुन्छ यहाँ, आउँदाको समयमा यहाँको सपिङ सेन्टरजस्ता ग्यास स्टेशनदेखि लिएर पूर्वाधारका धेरै पक्षलाई दैनिकी बनाएर हिंड्दा सुरुवातको प्रवास अनुभव निकै रमाइला र निकै सम्झनयोग्य हुन्छन् ।

१४ वर्षअघि यहाँ आउँदा र अहिले प्रविधिले समेत धेरै फड्को मारिसकेको छ । नेपालमा नदेखेका प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्ने यहाँको उपलब्धताका बीच दिनदिनैं विकसित भइरहने त्यही प्रविधिको पनि अपडेटेड भर्सनसँग आफूलाई समायोजन गर्नु पनि कम सहज थिएन । ‘यहाँ सुरुवातको चरणमा बैङ्किङ प्रणाली र डेबिट, क्रेडिट आदिका बारेमा बुझ्न पनि समय लागेको थियो,’ उनी विगत सम्झन्छन्– ‘नेपालमा यस्ता कार्डहरु प्रचलनमै थिएनन्, यहाँ नयाँ लाग्नु स्वाभाविक नै थियो ।’ त्यसो त नेपालमा कृषि विकास बैंकमा लामो समय सेवा गरेको अनुभव पोखरेलसँग रहेको छ । त्यति मात्र कहाँ हो र ? अहिलेजस्तो इमेल, इन्टरनेटको प्रयोग पनि निकै कम हुन्थ्यो । उनले भने– ‘नेपाल फोन गर्न पनि कार्डमार्फत फोन गर्नुपर्दथ्यो ।’

सन् २००३ अप्रिलमा डलासको वेथरफोर्डमा आएका रमेश समयसँगै समाजमा भिज्दै गए । हुन त नेपालमा रहँदा पनि सामाजिक सेवामा सक्रिय रमेशका लागि यहाँ आएर पनि त्यहीमा रम्न चाहना आउँदाको दिनदेखि नै नभएको होइन । तर, अहिलेजस्तो सरल कहाँ थियो र सबै संघर्षकै चरणमा रहेका थिए । त्यसैले समाजमा आफ्नो सक्रियता सन् २००६ पछि अलि बाक्लो बनाएको उनले सुनाए । सन् ९०, ९४ र ९६ पछि नेपालीहरु यता आउने क्रम भए पनि २००० र २००३ पछि मात्रै नेपालीको संख्या ह्वात्तै बढ्न गएको देखिन्छ । ‘एउटै पिढी र एउटै प्रकृतिको नेपालीहरुको उपस्थितिको समयले गर्दा काम गर्न सहज र असहज दुवै थियो,’ त्यो बेला उनी सम्झन्छन् । सबै एउटै मनस्थितिबाट आएकाले पनि काम गर्ने सोंच पनि मिल्न गएको थियो, जसका कारण अहिले भएका काम गर्न सजिलो भएको उनलाई लागेको छ ।

त्यो बेला नेपालीहरु भेट हुने भनेको विवाह, पार्टी, व्रतबन्धहरुमा हुने गर्दथ्यो । समय बित्दै जाँदा नेपालीको संख्या पनि बढ्दै गयो, एकअर्कामा चिनजान पनि बढ्दै गयो अनि नेपालीका कार्यक्रमहरु पनि बढ्दै गएको उनको अनुभव छ । ‘२००६ को तीजका बेलामा महिलाहरु तीज मनाउन एक कार्यक्रममा जम्मा भएका थिए,’ उनले विगत कोट्याए– ‘त्यतिखेरसम्म हाम्रो नेपालीको कुनै हलसम्म थिएन, बैकुण्ठजीको सकिएर गौरीजी नेपाली समाज टेक्ससको नेतृत्वमा भर्खर आउनुभएको थियो, हामीहरुले त्यो समयमा नेपालीका लागि एउटा हलको आवश्यकता देख्यौं र छलफल गरेर सन् २००७ मा डा. मुरली अधिकारीजीको संयोजकत्वमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र गठन ग¥यौं ।’ आज त्यही केन्द्रमार्फत नेपाली धर्म–संस्कृति, भाषाको क्षेत्रमा धेरै कामहरु भएको उनी सुनाउँछन् ।

तर, तत्कालीन समयमा काम गर्न अहिलेजस्तो सहज थिएन । ‘अधिकांश काम गर्नेहरु हुनुहुन्थ्यो, बिजनेश गरेर बस्नेको संख्या निकै कम थियो,’ उनले विगतका अप्ठ्यारा सामाजिक संघर्षका दिनहरु भन्दै थिए– ‘मिटिङमा जुट्नै गाह्रो थियो, जुटे पनि काममा जान सबैलाई हतार हुन्थ्यो, काम नगरी यहाँ चल्दा पनि चल्दैन, अनि धेरै मिटिङ औपचारिक हुन पनि सक्ने अवस्था थिएन ।’ आफू पनि मिटिङका लागि १ घण्टाको यात्रा तय गर्दै अर्विङमा जाने गरेको उनले विगत सम्झिए । उनी भन्छन्– ‘म त्यो टाइममा ड्राइभिङ गर्दैनथें, मलाई आफू कामबाट आएर कपिल अधिकारीले लैजाने–ल्याउने गर्दथे । त्यो समयमा संस्था सञ्चालन गर्न सबैलाई समेटेर लैजान निकै गाह्रो थियो ।’ समाज अघि बढ्न धार्मिक तथा सांस्कृतिक पक्षको महत्व बुझेर आफूहरुले मन्दिर निर्माण गर्ने काम थालेको उनले बताए । उनले त्यसबेलाको आफ्नो प्रयास सम्झिंदै भने– ‘नेपालमा रहँदाको एक प्रकारले भन्दा कट्टरतालाई केही खुकुलो गर्दै हिन्दू वा बौद्धको नाममा नेपाली बाँडिनु हुँदैन भनेर हामीले दुवैका लागि हुने गरी हिन्दू बौद्ध मन्दिर निर्माणको काम थाल्यौं, केही हिन्दू पक्षधर र केही बौद्ध पक्षधरहरुको असन्तुष्टि पनि नभएको होइन, तर त्योभन्दा माथि एकता थियो । हामीले त्यसैलाई महत्व दिएर अघि बढ्यौं ।’

अमेरिका आएदेखि नै व्यवसायमा जोडिएर अघि बढेका रमेशका लागि सामाजिक काममा परिवारको सहयोग सदैव रहिरह्यो । सामाजिक तथा प्रवास आउँदाका अनुभव मात्र होइन, व्यावसायिक अनुभव पनि उनीसँग रहेको छ । ‘अहिलेजस्तो प्रतिस्पर्धा थिएन त्यो समयमा, महँगाइ पनि अहिलेजस्तो थिएन उदाहरणका रुपमा त्यो समयमा ग्यास ग्यालेनको १ डलर ३२ सेन्ट र मार्लबोरो सिगरेटको ३ डलर २० सेन्ट थियो,’ उनी तत्कालीन समयको व्यावसायिक पाटो खोतल्दै भन्छन्– ‘अहिले महँगाइ एकदम बढेको छ ।’

समयसँगै नेपाली व्यवसायमा बढ्ने क्रमले समाजलाई चलायमान बनाउन बल पुगेको उनी बताउँछन् । आफ्नो तेस्रो पुस्तासमेत यहाँ बसिरहेका रमेश प्राज्ञिकका साथै वैज्ञानिक, प्रतिस्पर्धी, व्यावसायिक अनि सीपयुक्त शिक्षा सिकेर यहाँको प्रतिस्पर्धी समाजसँग भिज्न सक्ने गरी अगाडि बढ्न नयाँ पुस्तालाई सुझाव दिन्छन् ।

(नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्सस, डलासका कार्यकारी समिति अध्यक्ष रमेश पोखरेलसँगको कुराकानीमा आधारित)

Check Also

देउवा सरकारमा थपिए १९ मन्त्री, मन्त्रीको सङ्ख्या दुई दर्जन नाध्यो

साउन ११ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा १९ जना मन्त्री थपिएका छन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *