Home / News / खेलकुद / प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

भनिन्छ, हरेक व्यक्तिमा केही न केही क्षमता लुकेको हुन्छ । क्षमताको प्रस्फुटन र अभ्यासले क्षमतामा निखारता ल्याउन सक्दछ । हरेक बालबालिकामा फरक रुची र फरक क्षमता छिपेको हुन्छ । त्यो क्षमता चिन्नु र त्यसलाई अवसरको मार्गमा डो¥याउने अभिभावकको कर्तव्य हुन आउँछ । त्यही कर्तव्यलाई विकास कार्कीले पूरा गर्न सक्दा आज उनका छोरा नेपाली मूलका विनय अष्ट्रियाका राष्ट्रिय खेलाडी बन्न सफल भएका छन् ।

सन् २००२ मा अष्ट्रियाको इन्सब्रुक शहरमा जन्मिएका विनयको त्यो क्षमतालाई विकासले बुझन् सके । ८ वर्षकै उमेरमा नै आफ्नो छोरालाई तेक्वान्दो प्रशिक्षणमा पठाएका विकासले त्यसपछि कहिल्यै पछि फर्केर छोराका बारेमा सोच्नु परेन । विकास र निरूका सन्तान विनयले जुनियर समूहबाट अष्ट्रियाको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

६ वर्षको उमेरमा विद्यालय भर्ना हुँदा आत्मरक्षाका लागि पनि काम लाग्ने ठानेका विकासले छोरामा फरक प्रतिभा देखे र ८ वर्षमै उनलाई तेक्वान्दो स्कुलमा भर्ना गरिदिए । सन् २०१० मा साल्सोसिटी ओपनसिपमा पहिलो पटक सहभागिता जनाएका विनयको प्रदर्शनले उनको भविष्यको रेखा कोरिदिएको थियो । त्यसपछि राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै र पदक जित्दै अगाडि बढेको विनयको खेलाडी जीवनको यात्राले सन् २०१४ देखि नयाँ बाटो लिएको छ । नेपाली मूलका विनयले सन् २०१४ देखि अष्ट्रियाको राष्ट्रिय खेलाडीका रूपमा सहभागिता जनाउँदै आएका छन् । यो बीचमा फ्रान्स, रूमेनिया, टर्की, सोफिया, जर्मनी, बेलग्राद, क्रोयसिया, बेल्जियम, लक्जमबर्ग, डच, स्लोभेनियामा गएर प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । प्रायः सहभागी भएका प्रतियोगितामा पदकविहीन हुनु नपरेको सुखद इतिहास रचेका विनय धेरै प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

६ वर्षको खेलाडी जीवन यात्रामै विनयले झण्डै २० वटा देशमा भएका अफिसियल तथा अनअफिसियल प्रतियोगितामा सहभागिता जनाउँदै १ सय प्रतियोगितामा ८० वटा पदक जितिसकेका छन् । जसमध्ये स्वर्ण पदकको संख्या मात्रै ५२ रहेको छ । अष्ट्रियामा कीर्तिमानसमेत राख्न सफल विनयको परिवार २० वर्षदेखि अष्ट्रियामा बस्दै आएको छ । नेपालप्रतिको सम्मानलाई अझ फराकिलो पार्न सम्भव भए नेपालबाट समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विनयको चाहना रहेको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रियामार्फत केही प्रतियोगितामा सहभागी भएका विनय देशकै लागि पनि आफ्नो खेल्ने चाहना रहेको बताउँछन् । छोराको प्रगतिले आज आफू बस्दै आएको शहरमा नै परिचय फेरिएको बताउने विकासले छोराको नेपालबाट खेल्ने रहर पूरा गर्न आफू लागिपरे पनि नेपालको खेलकुद निकायबाट सहयोग नपाएको गुनासो गरे ।

विनय अफ द गोल्ड, इलेभन इयर्स वोय वन द गोल्ड, कार्की स्टार अफ द तेक्वान्दोजस्ता दर्जनौं शीर्षकका समाचारसहित अष्ट्रिया तथा अष्ट्रिया बाहिरका मिडियामा छाएका विनयले आफू, आफ्नो परिवारको मात्र नभई नेपालको नामसमेत चिनाउन सफल भएका छन् ।

आफू निरन्तर खेलकुदमा रम्न चाहेको बताउने विनय सामाजिक सेवामा समेत जुट्ने गर्दछन् । नेपालको तर्फबाट एकपटक ओलम्पिकमा सहभागी हुने चाहना राखेका विनय अवसर पाए सही सिद्ध गरिदिने हिम्मत राख्छन् । म यहाँ (अष्ट्रिया)बाट खेलिरहेको छु । यसका साथैं म नेपालवाट पनि खेल्न चाहन्छु । उनले भने अष्ट्रिया समावेश नभएको अवस्थाका प्रतियोगिता पनि हुन सक्दछ, म सहभागी हुन सक्दछु । आफू नेपालबाट खेल्न बुबाले धेरै प्रयत्न गरेको बताउँदै उनले भने– ‘आशा अझै मारेको छैन । अवसर पाए गरेर देखाउँछु ।’

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *