Home / News / अन्तर्वार्ता / अमेरिकी मूलधारमा जाने एउटा ‘वे’

अमेरिकी मूलधारमा जाने एउटा ‘वे’

राजेन थापा

अमेरिकाको क्यालिफोर्नियामा सन् २००६ मा नेपालीहरुको सहभागितामा बर्कली अन्नपूर्ण लायन्स क्लब स्थापना गरी त्यसको संस्थापक अध्यक्ष भएका राजेन थापा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ४ सी ३ को वर्ष २०१७ र १८ को डिष्ट्रिक्ट गर्भनर बन्दैछन्। लायन्समा लागेर यो पदसम्म पुग्ने राजेन अमेरिकाको पहिलो नेपाली लायन्स हुन्। सन् १९९६ बाट लायन्समा लागेका उनी नेपालमा इटहरी लायन्स क्लबसँग आबद्ध रहँदै नेपालमा रहेको लायन्स डिष्ट्रिक्ट ३२५ ए का विभिन्न ओहोदामा पुगेका थिए। नेपालमा प्राध्यापक पेशामा रहेका राजेन अहिले यहाँ व्यवसायी बनेका छन्। अमेरिकामा सन् २००३ मा आएका उनी यहाँ आएर आफू मात्र होइन अन्य नेपालीलाई समेत सहभागी गराउँदै नेपालीको लायन्स क्लबहरु खोल्नसमेत सक्रिय रहँदै आएका छन्। सक्रियताले आज राजेन ४९ वटा क्लब हेर्ने डिष्ट्रिक्टका प्रमुख बनेका छन्। उनीसँग लायन्स, लायन्समा आबद्ध भएपछिको नेपाली समुदायको सक्रियता अनि नेपाली–नेपाली मिलेर खोल्ने लायन्सले समुदायमा पार्ने प्रभाव, उनका आगामी लक्ष्यबारेमा गरिएको कुराकानी—

अमेरिकामा आएर पनि लायन्समै रम्न खोज्नुको कारणचाहिं के होला ?

म नेपालमा रहँदा पनि लायन्समा रहेर काम गरेको थिएँ । विश्वव्यापी नेटवर्क भएको सामाजिक सेवामुखी र सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको लायन्समा रहेर यहाँ पनि केही गर्न सकिन्छ भन्ने ठानेर म यसमा लागेको हँु । अर्को कुरा, पक्कै पनि हामी जन्मभूमि आफ्नो देश छाडेर कर्मभूमि अर्को देशलाई बनाएका छौं, तर हामी यहाँ पनि आ–आफैंमा रमाएर बस्न रुचाउने गरेका छौं । नेपालीभन्दा पनि बाहिर यहाँ अर्को समुदाय छ, उनीहरु पनि यहाँ बस्छन्, केही गरिरहेका छन् भन्नेसमेत हामी जान्न र बुझ्न खोज्दैनौं । यसले हामीलाई अमेरिकामा पनि साँघुरो घेरामा राख्छ, जब हामी अर्को समुदायसँग सम्पर्क नै गर्न खोज्दैनौं, सम्बन्ध बनाउन नै चाहन्नौं अनि त्यसले पक्कै पनि अवसरको खोजीमा समेत असर गर्ने गर्दछ । सेवा, अवसरको निर्माण अनि व्यक्तित्व विकासमा लागि लायन्सको भूमिका महत्वपूर्ण रहेको म ठान्दछु ।

अवसर निर्माणको कुरा गर्नुभयो, कस्तो अवसरको कुरा गर्न खोज्नुभएको हो ?

हामी सेवा गर्छौं भन्ने मूलमन्त्र नै लायन्सको भएकाले सामाजिक सेवा यसको पहिलो काम हो । लायन्समा लाग्ने भनेकै सेवाकै लागि लाग्ने हो, समाजलाई केही गर्नकै लागि लाग्ने हो । यो लायन्सको कोणबाट बुझ्दा पहिलो महत्वपूर्ण पाटो हो । रह्यो कुरा अवसरको, अवसर भनेको सम्बन्धले निर्माण हुने हो, सम्पर्कबाट त्यसको आधार बन्ने हो । लायन्स अन्तर्राष्ट्रिय संस्था भएकाले लायन्समा लाग्नेहरु हामी नेपाली मात्रै छैनौं, यहाँ सबै देशका नागरिकहरु रहेका छन् । यहाँ अमेरिकामा पनि अमेरिकी मूलकै अमेरिकनदेखि लिएर हामीहरुजस्ता आप्रवासीहरु विभिन्न देशबाट यहाँ छौं । सबैसँग सम्पर्क बढाउने एउटा कडीका रुपमा लायन्स क्लब बन्न सक्दछ । तपाईंमा क्षमता र केही गर्ने ऊर्जा छ भने यहाँका ती व्यक्तिहरुसँगको तपाईंको सम्पर्कले त्यो बाटो खोल्न सक्छ भन्ने प्रत्यक्ष लायन्समा लागेकै कारणले यो मिल्ने नभई अप्रत्यक्ष रुपमा लायन्समा लागेकै कारणले त्यसका लागि बाटो बन्ने हो । यो अर्को समुदायसँगका व्यक्तिहरुसँगको सम्पर्कमा मात्रै होइन हामी नेपाली–नेपालीबीच पनि त्यो बिजनेश प्वाइन्ट अफ भ्युबाट समेत त्यसले सहयोग पु¥याउने गर्दछ ।

मेरो हकमा नै कुरा गर्दा हामीले बर्कली अन्नपूर्ण खोल्ने समयमा जापानी मूलका एल सताकी, जो अहिले ७३ वर्ष पुग्नुभयो, उहाँ गाइड पर्सनको रुपमा आउनुभएको थियो, जो ४० वर्षदेखि हाउजिङ व्यवसायमा संलग्न हुनुहुन्थ्यो, उहाँसँगको सहकार्यले आज उहाँ मेरो बिजनेस पार्टनरको रुपमा रहनुभएको छ । मेरो नेतृत्वमा उहाँ लायन्सको विभिन्न पदमा समेत रहेर काम गरिसक्नुभएको छ, उहाँ र मैले रेष्टुरेण्ट, हाउजिङमा पार्टनरसिप गरिरहेका छौं, यस्ता अवसर अन्यलाई पनि मिल्न सक्दछ । आफूले कति लिन सक्ने हो, त्यो आफूमा भर पर्दछ । नेपालीहरु पनि विभिन्न पेशामा सक्षम छन्, तर नेपालीको मात्रै काम गर्नुपरिरहेको छ, अर्को समुदायमा जान सक्ने बाटो नहुँदा क्षमताअनुरुप समेत आयआर्जन हुन सकिरहेको छैन, जस्तो चार्टर्ड एकाउटेण्ट वा सीपीए नेपाली प्रशस्त हुनुहुन्छ, तर उहाँहरुले खाली नेपालीकै काम गर्नुपरेको छ, उहाँहरुलाई हामीले यहाँको कम्युनिटीमा जोड्न सक्दा ‘बिजनेस प्वाइन्ट अफ भ्यु’बाट समेत त्यो फलदायी हुन सक्दछ भन्ने हो ।

नेपाली समुदायलाई के चाहिं मिलेको छ भन्ने लाग्छ ?

मुख्य कुरा नेपाल, नेपाली भाषा–संस्कृतिको प्रवद्र्धनमा हामीले केही गर्न सकेका छौं भन्ने हो । डलास एभरेष्ट लायन्स क्लबको स्थापना भएपश्चात् हाल अमेरिकामा १५ वटा नेपाली–नेपाली मिलेर लायन्स क्लबहरु खोलेको अवस्था छ । ४ वटा खुल्ने क्रममा रहेको छ । यी सबै क्लबको नाम हामीले सम्बन्धित सिटीपछि नेपालको कुनै न कुनै पहिचान झल्कने खालका नाम समावेश गरेर लायन्स क्लब बनाइरहेका छौं । जस्तो– अन्नपूर्ण, मकालु, बुद्ध, एभरेष्ट, नेप्लिज यी यस्ता खालका नाम हामी समावेश गरिरहेका छौं । यसले अर्को समुदायमा नेपाली चिनाउने काम गरेको छ । अनि हामीलाई आत्मसम्मानसमेत मिलेको छ । विभिन्न समयमा विभिन्न खालका नेपाल झल्कने कामहरु क्लबहरुले गरिरहेका छन् । तर, योभन्दा महत्वपूर्ण भनेको यो अन्तर्राष्ट्रिय संस्थाअन्तर्गतको क्लब भएकाले यो सञ्चालनको विधि फरक हुन्छ, डिष्ट्रिक्टअन्तर्गत काम गर्नुपर्दछ, डिष्ट्रिक्टमा धेरै क्लबहरु ह्ुन्छन् सबैसँग समन्वयमा काम हुने गर्दछ । यसले अर्को समुदायमा नेपाली सुमदाय चिनिन ठूलो बल पुगेको छ । सेवा प्रवाहको हिसाबले समेत यहाँको नेपाली समुदाय र नेपालमा समेत सहयोग हुँदै आएको छ ।

मूलधारमा जाने एउटा ‘वे’ हो भन्न खोज्नुभएको हो ?

एकदम हो, नत्र जति पनि हाम्रा संघसंस्थाहरु छन् । त्यहाँ हामी आ–आफूमै रमाउने हो । हामीले मियो नै छोप्न सकिरहेका छैनौं । हामी न अर्को समुदायमा जान सक्छौं न त अर्को समुदायले हाम्रो आवश्यकता बोध गरिरहेको हुन्छ । जहाँ पनि सम्बन्ध र सम्पर्कले ठूलो महत्व राख्दछ, त्यसका लागि यस्ता क्लबहरुको भूमिका महत्वपूर्ण रहन्छ । नेपालमा रहँदा म सामान्य प्रिन्सिपल लेक्चरर न थिए । आज यसमा लागेर यहाँ आइपुग्दा मेरो परिचय नै यसले फेरिदिएको छ । यो एउटा उदाहरण मात्र दिन खोजेको हो, यस्ता धेरैको जीवनमा सम्भव हुन सक्दछ । हामी आफैं भनौं यदि हामी लायन्स वा यस्ता क्लबहरुमा नलाग्दा हामीसँग यहाँका अमेरिकन वा अन्य समुदायका अमेरिकन किन आउने, कसरी पहुँच पुग्न सक्दछ, कसरी उनीहरुले हाम्रो समुदाय चिन्न सक्दछन् । म मेरै कुरा गर्न चाहन्छु, हामीले हाम्रो क्लबमा लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष, पूर्वअध्यक्ष, नोेबेल पुरस्कार विजेताहरु विभिन्न सरकारी ओहोदाका व्यक्तिहरु ल्याएका छौं, क्यालिफोर्नियाका गभर्नर, सिनेटर, मेयर, नेताहरुसँग भेटघाट र छलफल गर्ने अवस्था बनेको छ । के यसले नेपाली समुदायलाई केही गरेको छैन त ? म दाबीसाथ भन्न सक्छु । यसले नेपाली समुदायलाई बिस्तारै बिस्तारै परिचित र यहाँको मूलधारमा समाहित गर्न एउटा पुलको काम गरिरहेको छ ।

सामाजिक सेवामा चाहिं यहा“का नेपाली लायन्स क्लबको भूमिका कस्तो रहेको छ ?

हामीले यहाँ र नेपालमा पनि सामाजिक सेवाको कामहरु गर्दै आएका छौं । नेपालको डिष्ट्रिक्टमार्फत हामीले हाम्रो डिष्ट्रिक्टसँग मिलेर काम गर्दै आएका छौं । इनभ्युजअल रुपमा समेत यहाँका नेपाली लायन्स क्लबहरुले काम गर्दै आएका छन् । नेपालमा गएको भूकम्पको समयमा समेत हामीले लायन्स इन्टरनेशनलमार्फत सहयोग गर्न सक्यौं, नेपालमा कुरा गर्दा लायन्सले आँखा, रुबेला खोपलगायतका धेरै महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ । अर्को कुरा, हामी नेपालीहरु पनि यहाँ लायन्समा यसरी सक्रिय हुँदा पक्कै पनि नेपाललाई हुने सहयोगमा समेत त्यसले सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

अन्त्यमा, तपाईंका योजना ?

डिष्ट्रिक्ट गभर्नर भएपछि मैले डिष्ट्रिक्टअन्तर्गतका सबै क्लबहरुलाई हेर्नुपर्ने हुन्छ । डिष्ट्रिक्टले सुरु गरेका योजनाहरु जो अहिले लाइनमा छन् तिनीहरुलाई पूरा गर्नु र प्राथमिकताका आधारमा नयाँ योजनाहरु निर्माण गरेर काम अघि बढाउने छु । युथहरुलाई लायन्सबारे बुझाउने युथकेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने सोच रहेको छ । अर्कोतर्फ, नेपाली भएकाले नेपालप्रति सद्भाव हुनु स्वाभाविक नै हो, त्यसैले मैले क्यालिफोर्नियामा नेपाली सामुदायिक भवन बनाउन पहल गर्नेछु । यहाँका अन्य नेपाली लायन्स क्लबहरुसँग छलफल गरेर योजनाहरु बनाएर काम गर्नेछु ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *