Home / News / प्रवास / विश्वराज अनि लेख्ने सकसक

विश्वराज अनि लेख्ने सकसक

जीवनमा कोही बोलेर अभिव्यक्त गर्छन् त कोही लेखेर । बोल्नेहरु लेखेर अभिव्यक्त गर्न गाह्रो मान्छन् त लेख्नेहरु बोल्न । यो हरेक मानिसभित्र लुकेको पाटो हो । अमेरिकाको युनिभर्सिटी अफ ओक्लोहामा सिटी कम्युनिटी कलेजमा पढाउँदै गरेका विश्वराज अधिकारीमा लुकेको पाटो पनि यस्तै छ । उनी बोल्नभन्दा लेख्न मन पराउँछन् । उनको भनाइमा लेख्दा जति भावहरु मनबाट उप्किन्छन्, त्यति बोल्दा निस्किंदैनन् । पाइला–पाइलामा कोरिने रैछ जीवन । उनको जीवन भोगाइ पनि यस्तै खालको छ । खाँटी पहाडे बाहुन, तर उनको जन्म भने सर्लाही । त्यो पनि आजभन्दा करिब ५८ वर्ष पहिले । कसरी सम्भव भयो त ? विश्वराजका जिजुबुबालाई उतिखेर चारकोशे झाडी जोगाउन राणा प्रधानमन्त्रीले तराईको दरबन्दीमा खटाएका रैछन् । चारकोशे झाडी जोगाउने जागिरे उनी छतौना, सर्लाहीमा घरजम गरी बस्न थालेछन् र त्यहीँ उनीलगायत उनका अन्य परिवारको पनि स्थायी बसोबास हुन पुग्यो । उनका जिजुबुबा छतौनाभन्दा अघि काठमाडौंबाट ३०–३५ किलोमिटर पर पनौतीका स्थायी बासिन्दा थिए । तर, अहिले पनौती उनको परिवारको भावनासँग मात्र जोडिएको छ ।

जिजुबुबाले आर्जेको छतौना सर्लाहीको बासलाई हजुरबुबा अनि उनका बाबुले तन्काउँदै गए । जहाँ विस २०१५ मा उनको पनि जन्म भयो । पछि उनका बाबु रौतहटको स्थानीय विद्यालयमा शिक्षक नियुक्त भए । विश्वराज सम्झन्छन्– ‘सानो छँदा मेरो बुबा गाउँको पढेलेखेकोमा गनिन्थे ।’ उसो त उनका हजुरबुबाले पनि बनारसबाट आचार्य गरेका थिए । रौतहटको स्थानीय विद्यालयमा बाबु शिक्षक भएपश्चात् उनीहरुको बसाइँ पनि रौतहट नै हुन पुग्यो । विद्यालय त जम्मा ३ कक्षासम्मको मात्र थियो । तैपनि बाबु विद्यालयको शिक्षक भइदिँदा सबैको इज्जत थियो । यही विद्यालयमा विश्वराजले आफ्नो बाल्य अध्ययन सकाएका थिए ।

हिंडाइ र नयाँ देखाइसँगको भोगाइमा प्रगति देख्छ जीवनले पहाडमा जन्मेकालाई सदरमुकामको सपना, सदरमुकामको कलेजमा पढ्नेलाई काठमाडौंमा उच्च शिक्षाको सपना अनि काठमाडौंमा पढ्दै गरेकालाई विदेशी विश्वविद्यालयमा उच्च शिक्षाको सपना । उनको जीवन पनि एवम्रीतले मोडिएको छ । छतौनाबाट रौतहट, रौतहटबाट वीरगञ्ज, वीरगञ्जबाट काठमाडौंको मिन भवन कलेज अनि अमेरिकाको पढाइ यात्रा । अहिले यो अवधिमा भने उनको हिंडाइले केही बिट मारेको छ । हाल उनी धेरै वर्षदेखि एउटै कम्युनिटी कलेजको प्राध्यापनमा रमाउँदै छन् ।

यी त भए उनको देखिने भोगाइहरु । विश्वराज साहित्यकार पनि हुन् । उतिखेर उनी रौतहट वीरगञ्जतिर हुँदा तराईमा हिन्दीको प्रभाव ज्यादै थियो । नेपाली पत्रपत्रिका अनि साहित्यिक खुराकका सामग्रीहरु रौतहटतिर नगन्यझैं हुन्थे । त्यसको साटो हिन्दी पत्रपत्रिका अनि पुस्तकहरु सबैतिर व्याप्त थिए । उनी यस्ता पुस्तकहरु खुब पढ्ने गर्थे । उनी १७/१८ वर्षका हुँदा यो क्रम निकै चलेको थियो । उनले त्यही समयमा प्रशस्तै कथा अनि कविता लेख्न थाले । तर, उतिखेर अहिलेजस्तो मिडियाको जगजगी थिएन । लेखेर पछाउने ठाउँहरु पनि कमै हुन्थे । एकाध नेपालमा भएका मिडियाहरुमा पनि सम्भ्रान्त वर्गकै जगजगी थियो । यसैले लेख्यो अनि राख्यो । जेहोस्, उनमा लेख्ने सुषुप्तावस्ता भने उनी १५÷१६ वर्षको हुँदै पलाएको थियो ।

विस २०४१ पछि उनको स्थायी बास काठमाडौं हुन थाल्यो । तत्पश्चात् मात्र बिस्तारै उनका लेखहरु र साहित्यिक खुराकहरुले विभिन्न पत्रपत्रिकाहरुमा स्थान पाउन थाले । कान्तिपुर, गोरखापत्र, देशान्तर, विश्वमित्र, प्रतीकलगायतका विभिन्न पत्रपत्रिकामा उनका लेखहरु प्रशस्तै छापिन थाले ।

तत्पश्चात् खाली पत्रपत्रिकाको लेखन साहित्यमा मात्र उनी रोकिएनन् । उसबीचमा उनको २०५४ सालमा सूर्य लघुकथा संग्रह निस्क्यो । त्यसपछिका वहलिया (२०५८, अभिनय (२०६०), मधुर मिलन (२०७०), मिसिसिपीको किनार (२०७२), अन्तिम निर्णइ कृतिहरु बाहिर आइसकेका छन् । उनीद्वारा लिखित र हालसालै प्रकाशित विश्वगीताको चर्चा पनि यतिखेर बजारमा निकै छ । त्यसबाहेक उनीद्वारा लिखित त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा आधारित रहेका व्यवस्थापन र बजारशास्त्रका करिब एक दर्जन उनका पुस्तकहरु पनि प्रकाशित छन् ।

अमेरिकामा प्राध्यापन गरी जीवन धानिरहेका विश्वराजका बारेमा प्रख्यात साहित्यकार गीता केशरी भन्छन्– ‘श्रष्टाले आफ्नो कल्पनाबाट आफू रहेको र भोगेको समय, परिस्थिति र परिवेशको आधार समाती आफ्नो सम्झना र विचार व्यक्त गर्न सिर्जना गरेको छायाँ संसार नै हो कथा र उपन्यास । यस कार्यमा विश्वराज खरा उत्रिएका छन् । विश्वराजका कथा संग्रहमा यिनै कुराहरुको राम्रो संयोजन पाइन्छ ।’

उनी अब नयाँ साहित्यिक कृति ‘मेघदूत’ निकाल्न लागिपरेका छन् । उनकै भाषामा मेघदूत नेपाली पाठकहरुका लागि बिल्कुल नयाँ अनि स्वादिलो साहित्यिक खुराक हुनेछ । आखिर के हो त मेघदूत ? उनी भन्छन्– ‘राजा अकबरको कारिन्दा यक्ष एक वर्षका लागि कुनै जंगलको सजाय भोग्दै हुन्छ । जहाँ कोही हुँदैनन् । ऊ एक्लो हुन्छ । त्यस समय उसले बादलमार्फत आफ्नो सन्देश आफ्नी प्रेमिकासम्म पु¥याउँछ । यही प्रेमकथाको संयोजन हो मेघदूत ।’

(कुराकानीमा आधारित)

प्रस्तुति – शरद पोखरेल

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *