Home / News / प्रवास / लामो समयसम्म बाहिर बस्दैमा बदर हुँदैन अंगीकृत अमेरिकी नागरिकता

लामो समयसम्म बाहिर बस्दैमा बदर हुँदैन अंगीकृत अमेरिकी नागरिकता

विनोद रोका

अमेरिकाको अंगीकृत नागरिक भएको मानिस अमेरिका बाहिर  लामो समयसम्म बसेमा अमेरिकाको नागरिकता बदर हुन्छ भनी केहीले मलाई प्रश्न सोध्ने गर्नुहुन्छ । जुन कुरा अहिलेको अवस्थामा साँचो होइन । तर, सन् १९७८ भन्दा अगाडि भने अमेरिकाको अध्यागमन कानुनले अमेरिकाको अंगीकृत नागरिकता पाएका विदेशी पहिला आफू नागरिक भएको देशमा फर्केर गई ३ वर्षसम्म बसे वा त्योभन्दा बाहेकको अन्य देशमा गई ५ वर्षसम्म बसेमा अमेरिकाको अंगीकृत नागरिकता गुमाउनुपर्ने व्यवस्था गरेको थियो । उक्त कानुनी व्यवस्थालाई अमेरिकाको संघीय अदालतले सन् १९७८ मा Schneider v. Rusk को मुद्दामा असंवैधानिक ठहर गरेको थियो ।

तसर्थ, अहिले भइरहेको अमेरिकी अध्यागमन कानुनअनुसार अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिले अमेरिकामै जन्मिएको जन्मसिद्ध नागरिकसरह हक र अधिकारको उपभोग र कर्तव्यको पालना गर्नुपर्दछ । अमेरिकाको एकपटक नागरिक भएको व्यक्ति सधैंका लागि नागरिक नै हुने हुँदा अमेरिकाभन्दा बाहिर गएर जतिसुकै लामो समयसम्म बसे पनि नागरिकता त्याग्नु पर्दैन । तर, अमेरिकी नागरिकको हैसियतले निर्वाह गर्नुपर्ने कर्तव्य, कर तिर्ने आदि भने पूरा गर्नुपर्दछ । यदि कर्तव्य पालना नगरेमा त्यसको परिणाम भोग्नुपर्दछ । तर, कुनै व्यक्तिले गलत तरिकाले अमेरिकाको अंगीकृत नागरिकता लिएको अदालतबाट ठहरिएको अवस्थामा भने अदालतको आदेशबाट बदर हुन सक्दछ । यद्यपि यसरी बदर गरिनुअगाडि असर पर्ने व्यक्तिलाई सफाइका लागि सुनुवाइको मौका भने दिइन्छ ।

(विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एटर्नी एट ल का रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी इमिग्रेसन बार एसोसिएसनका सदस्य हुनुहुन्छ । उहाँलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउनेसम्मको ध्येय राखिएको छ । तपाईंको अमेरिकी अध्यागमन कानुनसम्बन्धी कुनै समस्या भए टेलिफोनमार्फत् कानुनी सल्लाहका लागि रोकालाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)

Check Also

सिंगारिंदै ज्याक्सन हाइट्स प्लाजा

उर्गेन शेर्पाले पहिर्याए मेयरलाई खदाग न्यूयोर्क । ज्याक्सन हाइट्सस्थित दक्षिण एसियाली आप्रवासीहरुको चौतारी ‘डाइभर्सिटी प्लाजा’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *