Home / News / समाचार / झापाका १३ तहमा काँग्रेसले छान्यो उम्मेद्वार, दुई नगरपालिकामा आमा–छोरी नै उपप्रमुखका उम्मेदवार

झापाका १३ तहमा काँग्रेसले छान्यो उम्मेद्वार, दुई नगरपालिकामा आमा–छोरी नै उपप्रमुखका उम्मेदवार

जेठ १८। झापा दुई नगरपालिकामा आमा–छोरी नै एउटै पार्टीको उपमेयरको उम्मेदवार बनेपछि त्यहाँ निकै चर्चा भएको छ । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका हुन् ।

नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् । उनीहरु दुबैले पार्टीमाच काम गरेको आधारमा मूल्याङ्कन भएको बताएका छन् ।

नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहेकी तारा ७१ वर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपप्रमुख उम्मेद्वार हुन् । उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० बर्ष अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् ।
त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् ।
झापाका १३ तहमा काँग्रेस उम्मेद्वार

यसैबीच, झापामा नेपाली काँग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।
यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो ।

कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ । पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ । रासस
––––––

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *