Home / News / खेलकुद / प्रतिभालाई भूगोलले बाँध्दैन

प्रतिभालाई भूगोलले बाँध्दैन

पारस खड्का

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का हाल अमेरिकामा छन् । खेलाडी मात्र नभई लामो समयसम्म कप्तानी सम्हालेका उनी टिम व्यवस्थापनमा समेत दख्खल राख्दछन् । नेपालमा क्रिकेट खेल पछिल्लो समय निकै लोकप्रिय बन्दै आएको छ । उपलब्धिका हिसाबले समेत नेपालको क्रिकेट टोलीले प्रशंसनीय प्रदर्शन गर्दै आएको छ । तर, समय–समयमा खासगरी राजनीतिक खिचातानीको सिकारसमेत नेपाली क्रिकेट क्षेत्र पर्दै आएको छ । व्यवस्थापनका कारण नेपाली क्रिकेटले धेरै गर्न सक्ने सम्भावनालाई अवसरमा रुपान्तरण गर्न नसकेको यथार्थतासमेत कसैबाट छिपेको छैन । नेपालमा क्रिकेट खेल, खेलाडीको अवस्था, व्यवस्थापनको पाटो, भोलिको गन्तव्य अनि समग्रमा नेपालको खेल क्षेत्रलाई पारसकै आँखाबाट नियाल्ने प्रयासस्वरुप उनीसँग अमेरिका आएको समयमा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं—

नेपालमा क्रिकेट खेललाई कसरी हेर्नुभएको छ ?

म एउटा खेलाडीको हिसाबले भन्दा नेपालमा क्रिकेट खेल सबैभन्दा आशालाग्दो खेल भइरहेको छ जस्तो लाग्दछ । अझ एउटा क्रिकेट फ्यानको हिसाबले समेत म आफूलाई हेर्दा नेपालमा क्रिकेट क्रेज दिनदिनै बढेको छ जस्तो लाग्दछ । नेपालको क्रिकेटलाई धेरैले माया गरिरहनुभएको छ, यसको निरन्तरताका निम्ति सबैसँग अनुरोध गर्दछु ।

समस्या के देख्नुहुन्छ ?

समस्याको कुरा गर्दा सबैभन्दा ठूलो समस्या भनेको असल व्यवस्थापन नहुनु हो । यो मैले पहिलादेखि नै भन्दै आएको छु । समय–समयमा नेपालको क्रिकेट व्यवस्थापन पक्षमै कमजोर देखिने गरेको छ । व्यवस्थापनको कुरा गर्दा प्रशासन, स्रोतदेखि टिम व्यवस्थापन सबैलाई बुझ्नु आवश्यक छ, तर विडम्बना विविध कारणले व्यवस्थापनको समस्या एकदमै देखिने गरेको छ, यसलाई सुल्झाउनु आवश्यक छ जस्तो मलाई लाग्दछ । व्यवस्थापन सही हुँदा खेलाडीको संरक्षणदेखि नयाँ प्रतिभाको खोजीसमेत सम्भव रहन्छ । त्यसतर्फ जोड दिनु आवश्यक छ । आवश्यक पूर्वाधारको निर्माण, संरक्षण र व्यवस्थापनसमेत प्रभावकारी हुन सक्दछ ।

नेपाली क्रिकेटसँग लामो समयदेखि जोडिनुभएको छ, यसमा लगानीदेखि यसप्रतिको बुझाइलाई कस्तो देख्नुभएको छ ?

पहिलाभन्दा धेरै इम्प्रुभ भइरहेको छ । मेन कुरा भनेको प्यासन पनि हो । सबै नेपालीलाई एक ठाउँमा उभ्याउने भनेको खेल क्षेत्र नै हो । यसमा राज्यको लगानीसमेत बढ्नु आवश्यक छ । पहिलाको तुलनामा अहिले धेरै भइरहेको छ, खेलाडीले पनि सुविधाहरु पाइरहेका छन् । पर्याप्त नै छ त म भन्दिन तर हिजोभन्दा आज राम्रो छ । आशा गरौं भोलि अझ राम्रो हुँदै जानेछ । देशको हिसाबले केही सन्तोष मान्ने ठाउँ बन्दै गएको छ ।

नेपाली क्रिकेटको प्राविधिक पक्षलाई कसरी केलाउनुहुन्छ, अझ भनौं कमजोरी पक्षचाहिं के हो ?

प्राविधिक पक्ष कुरा गर्दा ब्याटिङ देखिन्छ, यो हाम्रो मात्र होइन टेस्ट मान्यताप्राप्त टोलीका लागि पनि यही समस्या बढी देखिन्छ । फिल्डिङ र बलिङ राम्रो भए पनि ब्याटिङ समस्या बन्ने गरेको छ । तर, पहिलाभन्दा धेरै सुधार भएको छ । जुनियर टोलीमा समेत क्षमतावान खेलाडीहरु आइरहेका छन् । टिभी हेरेर क्रिकेट खेल्न थालेका हामी आज यहाँसम्म आएका छौं, नयाँ–नयाँ टेक्निक सिक्ने अवसर पाइरहेका छौं । अझ यसलाई बढाउनु जरुरी छ, घरेलु लिगदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र अन्तरदेशीय क्रिकेट खेलहरुको आयोजना र सहभागिता बढाउनु आवश्यक छ । प्रशिक्षणलाई समेत अझ प्रभावकारी बनाउँदै लग्नुपर्दछ ।

खेलका क्रममा तपाईंबाट बढी आशा राखिएको हुन्छ, यस्तो लाग्छ कि नेपाली क्रिकेट र पारस पर्याय नै हुन्, तपाईंलाई चाहिं कस्तो लाग्छ ?

यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु, मप्रति जुन विश्वास गर्नुभएको छ, त्यसमा सकेसम्म न्याय नै गर्ने कोसिस मेरो रहन्छ । तर, मेरो लागि टिम महत्वपूर्ण हो । टिमको नतिजामा मेरो भूमिका गौण विषय हो । एक्लैले गरेर मात्र केही हुँदैन । बलिङ, फिल्डिङ, ब्याटिङ अनि यीबाहेक नदेखिने अप्रत्यक्ष धेरै कुराले खेलमा भूमिका राख्दछ । टिम वर्कले मात्रै सुखद् नतिजा सम्भव रहन्छ । मेरो टिम नै मेरो लागि महत्वपूर्ण हो ।

नेपालको खेल क्षेत्रमा प्रवासी नेपालीको योगदानलाई कसरी लिनुहुन्छ ?

मेरो विचारमा नेपालमा बसेर मात्रै नेपालका लागि गर्न सकिन्छ भन्ने लाग्दैन । अझ हाम्रोजस्तो रेमिट्यान्समा निर्भर देशमा प्रवासमा रहेका नेपालीको योगदान महत्वपूर्ण छ । आर्थिक मात्र होइन सीप, दक्षता, ज्ञान आदिमा पनि नेपालका लागि महत्वपूर्ण रहन्छ । अवसरका लागि प्रवासमा रहेकाहरुले नेपालका लागि जे गरिरहनुभएको छ, त्यो निकै प्रशंसायोग्य रहेको छ, यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ त्यो महत्वपूर्ण हो । नेपालको खेल क्षेत्रमा समेत प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको छ । पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानी बढिरहेको छ । यी यस्ता धेरै कामहरु प्रवासी नेपालीहरुबाट गर्न सकिन्छ ।

ठोस केही गर्न सकिने आधार देख्नुहुन्छ ?

नेपाल सरकार, सम्बन्धित खेलकुद निकाय, संघसंस्था र प्रवासमा रहेका गैरआवासीय नेपाली संघजस्ता विभिन्न संघसंस्था मिलेर निश्चित योजना बनाएर जान सक्दा धेरै गर्न सकिन्छ जस्तो मलाई लाग्दछ । एकत्रित रुपमा पूँजी संकलन गरेर काम गर्न सकिने सम्भावना रहेको छ ।

प्रतिभा विदेसिएको देख्दाचाहिं कस्तो लाग्छ ?

मुख्य कुरा भनेको राज्यले हेर्ने विषय हो । हो, आज पनि धेरै प्रतिभाहरु विदेसिएका छन्, अवसर मात्र होइन बाध्यताका कारण पनि प्रतिभाहरु विदेसिएका छन् । हरेकजसो देशमा आज प्रतिभाहरु आफ्नो प्रतिभालाई खुम्च्याएर बस्नुपर्ने बाध्यता देखिएको छ । यसका पछाडि धेरै फ्याक्टरहरुले काम गर्दछ, मुख्य कुरा देशमा बसिरहन सक्ने राज्यले अवस्था निर्माण गर्न नसक्दा यो समस्या बढी देखिन्छ । अवसरका लागि समेत जानेहरु रहेका छन्, यसलाई भने हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।

प्रवासमा रहेका नेपाली प्रतिभाले नेपालमा अवसर पाउने कि नपाउने, के लाग्छ तपाईंलाई ?

यो कुरामा म अलि खुला छु । सक्षम छ भने हामीले नेपालमा छ या बाहिर भनेर विभेद गर्नु हुँदैन भन्ने लाग्दछ । नियमसंगत ढंगबाट उसको सहभागिता हुन सक्दछ भने अवसर दिनुपर्दछ भन्ने मलाई लाग्दछ । प्रतिभालाई केबल भूगोलभित्र बाँध्नु हँुदैन भन्ने लाग्दछ । तर, यसो भनिरहँदा देशको प्रतिनिधित्वको कुरा गर्दा कम्तीमा निश्चित क्राइटेरिया जो रहेको हुन्छ, त्यसलाई फलो गरेर जानुपर्दछ । जस्तो क्रिकेटको कुरा गर्दा कम्तीमा त्यो देशबाट खेल्न त्यो देशमा ३ वर्ष विधिबमोजिम बसेको हुनुपर्दछ, यस्तो नियम अरु खेलमा के–कस्तो छ त्योअनुसार गर्नुपर्दछ । हाम्रो प्रतिभा जो बाहिर रहनुभएको छ, उहाँहरु नेपाली नै हुनुहुन्छ, अहिले यहाँ हुनुहुन्छ नेपालमा गएर नेपालबाट खेल्छु भन्ने चाहना राख्दा हामीहरु खुसी नै हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *