Home / News / प्रवास / एनआरएन अमेरिका— अध्यक्षका प्रत्यासीबीच चुनावी बहस

एनआरएन अमेरिका— अध्यक्षका प्रत्यासीबीच चुनावी बहस

न्यूयोर्क । नेप्लिज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबीसी टेलिभिजन नेपालको संयुक्त प्रयासमा न्यूयोर्कमा आयोजित एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासीबीचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा. केशव पौडेल, गौरीराज जोशी, रामसी पोखरेल, कृष्ण पोख्रेल, रविना थापा र डिल्ली भट्टराईले आफ्नो चुनावी एजेण्डाहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुको प्रश्नको जबाफ दिएका थिए ।

आफ्नो अथक प्रयासले एनआरएन अमेरिकालाई विभिन्न कानुनी र प्राविधिक समस्याहरुबाट मुक्त गर्नमै कार्यकाल खर्च भए पनि संगठन निर्माण, आन्तरिक तथा वैदेशिक सम्बन्ध विकास, अमेरिका र नेपाल सरकारसँग दरिलो समन्वय गर्न आफ्नो कार्यकाल सफल भएको बताउँदै वर्तमान अध्यक्षसमेत रहेका केशव पौडेलले एनआरएन शुद्धीकरण अभियान, २६ वटा च्याप्टर गठन र नेपालीलाई टीपीएसको दर्जा दिलाउन आफ्नो कार्यकाल सफल भएको बताए । ‘मेरो कार्यकालको अधिकांश समय मुद्दा सल्टाउनैमा बित्यो, अब मैले सुरुवात गरेका केही महत्वपूर्ण र नविन योजनाहरु कार्यान्वयन गर्नका लागि मलाई थप एक पटक मौका दिनुहोस्,’ डा. पौडेलले सहभागीसमक्ष आग्रह गरे । उनले सामुदायिक भवन निर्माणलगायत योजनाहरु कार्यान्वयन गर्दै आफ्नो कार्यकालमा एनआरएन अमेरिकालाई विश्वकै उत्कृष्ट एनसीसी बनाउने दाबी गरे ।

अध्यक्षका अर्का प्रत्यासी गौरीराज जोशीले नयाँ पुस्तामा एनआरएन अमेरिकाप्रति देखिएको विकर्षण हटाउने, साना पूँजीले उद्यमशीलता बढाउने, अमेरिकी सरकारले अल्पसंख्यक आप्रवासीलाई प्रदान गर्ने विभिन्न शैक्षिक, आर्थिक र सामाजिक अधिकारका लागि पहल गर्ने, सीपमूलक तालिम सञ्चालन गरी नेपालीलाई दक्ष श्रमबजारमा प्रवेश गराउने आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले च्याप्टरहरु गठन भए तापनि अधिकार र कार्यक्रमविहीन अवस्थामा राखिएको भन्दै च्याप्टरहरुलाई स्वायत्तता प्रदान गर्ने, नेपाल र अमेरिकी सरकारबीच व्यापार सम्झौताका लागि पहल गर्ने र दोहोरो कर प्रणाली हटाउन पहल गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए । ‘अमेरिकामा रहेका सबै नेपाली अट्न सक्ने नयाँ एनआरएन बनाउन मलाई सहयोग गर्नुहोस्,’ जोशीले आग्रह गरे ।

कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी एवम् वर्तमान उपाध्यक्ष रामसी पोखरेलले एनआरएन अमेरिका हिजो गोजीमा थियो र आज हार्डड्राइभमा सीमित पारिएकोे छ भन्दै सदस्यता वितरणप्रति चर्काे असन्तुष्टि व्यक्त गरे । पोखरेलले एनआरएन अमेरिकामा पद्दतीको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, सामूहिक लगानी बढाउन र नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आफ्नो उम्मेदवारी आएको बताए । पैसाको प्रभावले एनआरएन अमेरिकाको मर्मलाई नष्ट पार्न लागिएको प्रति आक्रोश पोख्दै पोखरेलले भने– ‘मेरो उम्मेदवारी एनआरएन बचाउन हो, एनआरएन अमेरिकामा मैले दिएको योगदान र प्राप्त उपलब्धिको मूल्यांकन गरी नेतृत्व गर्ने मौका दिनुहोस् ।’

ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरको सभाकक्षमा विशाल जनसहभागिताबीच सम्पन्न कार्यक्रममा अर्का उम्मेदवार कृष्ण पोख्रेलले आकस्मिक कोषको स्थापना, सामुदायिक भवनको निर्माण र हरेक राज्यमा नेपाल डे परेड आयोजना गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए । युवापुस्तामा एनआरएनप्रति आकर्षण बढाउन र अमेरिकामा नेपालीले सिकेको सीपलाई नेपालमा लगी उपयोग गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘हामीले आर्थिक स्वावलम्बन र क्षमता विकासमा ध्यान दिनु जरुरी छ, मेरो उम्मेदवारी यही कुराको सुनिश्चितताका लागि हो,’ पोख्रेलले भने ।

वर्तमान उपाध्यक्ष एवम् अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएन अमेरिकाले महिलाको मुद्दालाई आजसम्म पनि गम्भीरतापूर्वक सम्बोधन नगरेकाले महिला आफँैले नेतृत्व लिनु आवश्यक भएको ठहर गर्दै उम्मेदवारी दिएको बताइन् । ‘महिला सहभागिता, सशक्तीकरण तथा नेतृत्व विकासका लागि मेरो उम्मेदवारी हो ।’

अध्यक्षका प्रत्यासीबाहेक अन्य पदका उम्मेदवारहरुले पनि संक्षिप्त एजेण्डा प्रस्तुत गरेको कार्यक्रममा अर्का प्रत्यासी डिल्ली भट्टराईले अमेरिकी मूलधारमा रहेको क्षमतालाई नेपाली समुदायमा विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए । एनआरएनले मात्र सबै नेपालीको भावनाको साझा प्रतिनिधित्व गर्न सक्ने भन्दै उनले भने– ‘एनआरएनलाई सबैकोे साझा संस्था बनाऔं ।’

आईसीसी सदस्यद्वय डा. विनोद शाह र खगेन्द्र जिसीले एनआरएन अमेरिकाको बारेमा टिप्पणी प्रस्तुत गरेका थिए भने पत्रकार दिनेशजंग शाहले पैसाले एनआरएन अभियानमा पारेको नकारात्मक प्रभावका बारेमा प्रश्न गरेका थिए । पत्रकार किरण मरहठ्ठाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी विश्वबहादुर शाह, महासचिवका प्रत्यासी सूर्य लम्साल, बीआर लामा, उपाध्यक्षका प्रत्यासीहरु राधा पौडेल, हरिशचन्द्र हमाल, मणि नेपाली पनेरु, महिला संयोजकका उम्मेदवार उमा त्रिपाठी, सदस्यका प्रत्यासीहरु नवराज केसी, मीन खड्का, खेम भट्ट र सचिवका उम्मेदवार टेक लामालगायतले पनि आफ्ना एजेण्डा प्रस्तुत गरेका थिए ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *