Home / News / विचार / नेजाप्रतिको अपेक्षामा ११औं साधारणसभा

नेजाप्रतिको अपेक्षामा ११औं साधारणसभा

शरद पोखरेल

पछिल्लो वर्ष अमेरिकाको सुन्दर शहर लस एन्जलसमा नेजाको पाँचौं अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनप्रति ठूलो तिक्तता रह्यो । तिक्तता व्यक्तिगत थिएन न कि कोही संगठनको प्रमुख बनेनन् भन्नेमा नै थियो । उक्त समय अधिवेशनका नाउँमा आफूमाथि आउन जुन हथकण्डा अपनाइयो, यसप्रति मात्र मेरो कडा आपत्ति रह्यो । कति दिन त नेजाबाट राजीनामा दिएर किन नअलग्गिने भन्ने सोचाइ नआएको पनि हैन । तर, धेरै साथीहरुको सल्लाह रह्यो– ‘असहमतिको समाधान नेजाभित्रै रहेर किन नखोज्ने ?’

यो वर्ष पनि सधैंझैं विश्व प्रेस स्वतन्त्रता दिवसको दिन मे ६ र ७ मा नेजाको साधारणसभा हुने तय भयो । नेजाको साधारण सदस्यका नाताले समयमै निम्ता पनि पाइयो । शुरुमा त सम्मेलनमा भाग लिन जाने उत्ति चासो रहेन । तर, नेजा र कार्यसमितिका अधिकांश साथीहरुको सल्लाहबमोजिम कार्यक्रम स्थल डिसीतिर उडियो ।

यो साधारणसभा अमेरिकाको भर्जिनियास्थित मनाससमा सम्पन्न भएको थियो । यसका लागि नेजाका उपाध्यक्ष गुणराज लुइँटेलसहितको तयारी समिति करिब ३ महिना अघिदेखि अहोरात्र खटेका थिए ।

कार्यक्रम साधारणसभा थियो, तर यसको भव्यता कुनै अधिवेशनभन्दा कम थिएन । कार्यक्रममा नेजाका वर्तमान कार्यसमितिका पदाधिकारीहरुबाहेक अन्य लेखक एवम् पत्रकारहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । खासगरी अमेरिकी नेपाली डायस्पोरामा भिजेका लेखक एवम् पत्रकारहरु योगेश उपाध्याय, गिरिश पोखरेल, नारायण श्रेष्ठ, शिव प्रकाश, दिनेश कार्की, मनोज अधिकारी, रामप्रसाद खनाल, लेखनाथ भण्डारी, शैलेस श्रेष्ठ, विजय पौडेल, सन्तोष रिमाल, किरण मरहट्ठा, सुनिलमणि दाहाल आदिहरुको बाक्लै उपस्थिति थियो ।

पछिल्लो लस एन्जलसमा सम्पन्न नेजा सम्मेलन निकै भद्दा थियो । कार्यक्रमको उद्घाटन समारोह बेलुका राखिएको थियो भने कार्यक्रमको अधिकांश समय आसन ग्रहण र उद्घोषणमा सकाइएको थियो । जसको विरोध धेरैले गरेका थिए । पछिल्लो वर्षको पाठ सिकेरै हुनुपर्छ यसपटक नेजा साधारणसभामा अधिकांश उद्घाटन समय छोट्याइएको थियो । समारोहमा केही व्यक्तिहरुलाई मात्र बोल्न दिइएको थियो भने आसन ग्रहण कार्यक्रम पनि केही व्यक्तिमा मात्र सीमित पारिएको थियो ।

यस पटकको कार्यक्रमको सबैभन्दा आकर्षण भनेको नेजा सामुदायिक पत्रकारिता पुरस्कारको थियो । यसका लागि पछिल्लो छापिएको उत्कृष्ट लेखहरुको छनौटबाट लेखक एवम् पत्रकारहरु शिव प्रकाश, दिनेश कार्की एवम् मनोज अधिकारी छानिएका थिए । उनीहरु सबैलाई संयुक्त रुपमा १ हजार डलर बराबरको रकम प्रदान गरिएको थियो । नेजाको यस कार्यको सबै बौद्धिक वर्गले मुक्त कण्ठले तारिफ गरेका थिए ।

त्यसबाहेक महत्वपूर्ण मानिएको कार्यक्रमको बन्द सत्र बडो सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । विशेषतः पछिल्लो समय ढोका पछाडिबाट चुनावका बेलामा मात्र सदस्यता लिने र पत्रकार बन्नेहरुप्रति हाम्रा केही साथीहरुको ठूलो बिमती रहेको थियो । उक्त बिमतीउपर बन्द सत्रमा खुला दिलले छलफल भएको थियो ।

अघिल्लो नेजा विधान त अमेरिकाको कुनै पनि छापा र अनलाइन मिडियामा दुई लेख लेख्नी व्यक्ति नेजाको सदस्यताका लागि योग्य मानिन्थ्यो । तर, यसलाई हालको विधानले संशोधन गरेको छ । हालको विधानको धारा ४ को उपधारा ४.१ को दफा ४.१.१.३ का अनुसार ‘नयाँ सदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चारमाध्यममा काम गरेको प्रमाण पेश गरेको हुनुपर्ने’ बताएको छ । त्यस्तै। उक्त उपधाराको दफा ४.१.१.४ अनुसार ‘सदस्यता लिन इच्छुक पत्रकारहरुले आफू पत्रकार भएको प्रमाण निवेदनसाथ पेश गर्नपर्नेछ, विनाप्रमाण पेश भएका निवेदनलाई सदस्यता प्रदान गरिने छैन ।’

त्यस्तै, उक्त धाराको दफा ४.१.४ अनुसार पत्रकारिता विषयको अध्ययन, अध्यापन गरेका तर वर्तमानमा पत्रकारिता नगरेकाहरुले सदस्यता लिन चाहेमा एसोसिएट्स सदस्यता लिन सकिने प्रावधान राखिएको छ । यी दुवै प्रावधान आगामी दिन नेजाका लागि महत्वपूर्ण साबित हुनेछ ।

विगतका चुनावमा नेजाको कार्यसमितिमा आफू पुग्नका लागि आफ्नो मान्छेहरुलाई सदस्यता दिने र कमजोर पक्षको हुर्मत लिएर चुनाव जित्ने परिपाटीलाई सम्भवतः यो विधान संशोधनले अवश्य पनि छेकबार लगाउने छ । त्यस्तै, सामाजिक सञ्जालमा दुई–चार अक्षर कोर्ने र कथा अनि कविताका भरमा ‘म पत्रकार’ भन्न खोज्नेहरुलाई पनि संशोधित विधानले केही अंकुश अवश्य लगाउने छ ।

यति हुँदाहुँदै पनि नेजामा सुधार्नुपर्ने कुराहरु प्रशस्त छन् । भन्ने नै हो भने यो संस्थामा एकसे एक खारिएका पत्रकारहरु आबद्ध छन् । ती खारिएका पत्रकारहरुको सीप एवम् ज्ञानलाई कुनै कार्यक्रमहरुको आयोजनाबाट नयाँ पत्रकारहरुमा आदानप्रदान गर्न सकिन्छ । त्यस्तै, प्रवासमा पत्रकारिता गर्दाका चुनौतीका बारेमा ज्ञानको आदान–प्रदान गर्न पनि सकिन्छ । अबका दिनमा नेजाले यसप्रति गम्भीर हुन जरुरी छ ।

र अन्त्यमा, नेजा दशौं वर्ष अमेरिकी भूमिमा नेपाली पत्रकारका हकहितका लागि संघर्षरत संस्था हो । संस्थाभित्र विभिन्न समयमा, विभिन्न भिन्न–भिन्न व्यक्तिहरुको बाहुल्य हुनु स्वाभाविक हो । योभित्र हिजो पनि केही साथीहरुको मत–मतान्तर थियो, आज पनि छ र भोलि पनि रहनेछ । जीवन्त संस्थामा यो हुन जरुरी पनि छ । तर, आफू विपरीत कुनै कुरा हुनेबित्तिकै संस्थालाई नै घाँटी थिचेर मार्न खोज्नुचाहिं गलत हो । हामी सबै पत्रकारहरु यसप्रति सजग हुन जरुरी छ भन्ने कुरामा एघारौं साधारण सभामा धेरैको मत रह्यो ।

Check Also

अनधीकृत रूपमा बसे ग्रीनकार्ड लिन समस्या

अमेरिकामा बसेर ग्रीनकार्ड पाउनका लागि विदेशीले अपवादबाहेकको अवस्थामा आफ्नो नन इमिग्रान्ट स्टाटसलाई कायम राख्नु पर्दछ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *