Home / News / प्रवास / संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस अभिनन्दित

संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस अभिनन्दित

वासिङ्टन डिसी । वरिष्ठ साहित्यकार तुलसी दिवस अमेरिकामा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा संस्कृतिविद् तथा साहित्यकार दिवसलाई अभिनन्दन गरिएको हो ।

लामो समयदेखि नेपालको लोक संस्कृति र साहित्यिक विधामा कलम चलाउँदै आएका तुलसी दिवसले अभिनन्दन गर्ने संस्थालाई धन्यवाद दिए । समारोहमा दिवसले नेपाली कला–साहित्यका बारेमा बोल्नुका साथै केही कविता पनि वाचन गरेका थिए ।

त्यस्तै, अनेसासका संस्थापक अध्यक्ष, डिसी मेट्रो कमिटीका संरक्षक अग्रज साहित्यकार होमनाथ सुवेदी र प्रा. पुरुषोत्तम सुवेदीले दिवसका बारेमा समालोचकीय मन्तव्य राख्दै दिवस नेपाली कविता, साहित्य र लोक–संस्कृति क्षेत्रका उज्ज्वल नक्षत्र भएको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालको लोक–संस्कृित र साहित्य क्षेत्रका धुरन्धर विद्वान प्रोफेसर दिवससँगको प्रत्यक्ष भेटघाट, साक्षात्कार, उनलाई सुन्ने र विशेष अभिनन्दन गर्ने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाले गर्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै साहित्यकार दिवसको प्रगति र निरन्तर लेखनका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।

अनेसास डिसीका महासचिव पण्डित भूपनारायण घर्तीमगरको उद्घोषण कलाको प्रशंसा गर्दै प्रा दिवसले मगरको छोरो तर वास्तवमै पण्डित नै भनेर गरेको प्रशंसाले पनि माहौलमा रौनकता थपेको थियो । समारोहमा अनेसास डिसी सचिव चर्चित कवयित्री नीरा शर्माले अभिनन्दन पत्र वाचन गरेकी थिइन् भने अध्यक्ष रामप्रसाद खनालले प्रा दिवसलाई अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गरेका हुन् ।

Check Also

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *