Home / News / प्रवास / महत्वाकांक्षी प्रेसिडेन्सियल डिबेट

महत्वाकांक्षी प्रेसिडेन्सियल डिबेट

डा. अविन ओझा

नेपाल स्थानीय चुनावमय भइरहेका बेला अमेरिकामा पनि चुनावी सरगर्मी छाएको छ । एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि नेपाली डायस्पोराबीच निकै ठूलो जोडघटाउ भइरहको देखिन्छ । मेम्बरसिप ड्राइभदेखि सुरु भएको चलखेल मेम्बर भेरिफिकेसनसम्म आइपुग्दा छताछुल्ल भइसकेको स्थिति छ । अमेरिकी राष्ट्रपति चुनावको परम्परा ‘प्रेसिडेन्सियल डिबेट’को सिको गर्दै आगामी एनआरएन अमेरिका हाँक्ने महत्वाकांक्षा बोकेका प्रेसिडेन्टका प्रत्यासीहरुबीच चलाइएको प्रेसिडेन्सियल डिबेटका चार शृङ्खलाहरु केही प्रत्यक्ष त केही फेसबुक लाइभ हेरिसकेपछि यो शब्दको जोडघटाउमा सहभागी हुन मन लाग्यो । सोहीअनुरुप केही शब्दहरु यहाँ जोड्ने जमर्को गरेको छु ।

रोचक त के लाग्यो भने एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका उपल्लो दर्जाका सबै सदस्यहरु भनौं या महत्वपूर्ण पदमा रहेकाहरु नै आगामी कार्यकालका लागि ड्राइभिङ सिटको प्रत्यासी रहेका छन् । प्रेसिडेन्सियल डिवेट श्रवण गर्दा यस्तो लाग्यो कि प्रेसिडेन्टका सवै प्रत्यासीहरुलाई एनआरएन अमेरिकाको नभई नेपालकै कार्यकारी प्रमुख बनाउँदा देशले आर्थिक विकासको मार्गप्रशस्त गर्दछ भन्ने भान भयो । नेपालमा लगानी भित्र्याउनेदेखि पूर्वाधार निर्माण गर्नेसम्म, रोजगारी सिर्जना गर्नेदेखि गरिबी हटाउँदै आर्थिक विकास गर्ने तथा रेमिट्यान्स व्यवस्थापन एवम् प्रतिव्यक्ति आम्दानीको वृद्धिजस्ता अति महत्वाकांक्षी विषयहरु बहसको प्राथमिकतामा परे । संस्थाको उद्देश्य र डायस्पोराको आवश्यकताहरुको चर्चा कति भयो–भएन ? कार्यक्रम सञ्चालकका प्रश्नहरुले समेटे–समेटनन् ? यसको बहस नेपाली डायस्पोराले पक्कै पनि गरेका होलान् ।

संस्थाको भाइटल पोस्टमा बहाल रहेका आकांक्षीहरुबाट प्रष्ट रुपमा यो कार्यकालमा यी कार्यक्रम र यस्ता योजनाहरुको तर्जुमा गरियो । अब  एक्सन इप्लिमेन्टका लागि यस्ता रोडम्यापसहित मेरो उम्मेदवारी छ भन्ने प्रष्ट विचार सायदै सुनिए । एउटा श्रोता एवम् मतदाताको हैसियतले नेपाली डायस्पोराको हरेकले जान्न चाहेको केही सवालहरु यहाँ प्रस्तुत गरिएको छ । एनआरएन अमेरिकाको प्राथमिकताको पहिलो प्रधानता अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय हो कि अन्यत्र ? अहिलेसम्म संस्थाले नेपाली समुदायका लाग प्रत्यक्ष महसुस गर्ने, गर्व गर्नलायक के–के ग¥यो या अब गर्नेछ ? अमेरिकामा नेपाली समुदायको उपस्थिति र मजबुती स्थापित गर्न कस्तो भूमिका खेल्यो या खेल्दैछ ? नेपाली समुदायको पहुँच अमेरिकी समुदाय र प्रशासनसम्म पु¥याउन कुन हदसम्म सफल रह्यो–रहनेछ ? नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्दै कम्तीमा दोस्रो पुस्तामा हस्तान्तरण गर्न र विश्व समुदायलाई जानकार गराउन कस्ता ठोस कार्यक्रम ग¥यो या गर्नेछ ? यी र यस्ता प्रकृतिका धेरै विषयहरुमा एनआरएन अमेरिकाले गरेका ठोस कार्यक्रम तथा योजनामार्फत आगामी नेतृत्वको दाबी गर्ने हिम्मत कुनै पनि प्रत्यासीको रहेन । सबैले वर्तमान नेतृत्वको आलोचना गर्दै नेतृत्व कमजोर रहेको तर्क दिँदै आफू नेतृत्वमा आए कायापलट हुने अत्यन्त महत्वाकांक्षी वाणीहरु वाचन गरे । सायद एक औंलाले वर्तमान नेतृत्वको आलोचना गर्दा बाँकी चार औंलाले आफैंतर्फ देखाएको हेक्का भएन ।

एनआरएन अमेरिका साँच्चिकै ‘गियर अप’ हँुदै गरेको केही वर्ष भएको हुनाले यसबाट नेपाली डायस्पोराले धेरै ठूलो आशा त गरेको देखिदैन । देखिन्छ त केवल केही सामान्य कार्यहरुको सुरुवात । पहिलो, आप्रवासी नेपालीहरुको मातृभूमिप्रतिको कानुनी सम्बद्धतता र प्रावधानहरु । यो मुद्दा अमेरिकी नेपालीको मात्र नभई सम्पूर्ण प्रवासी नेपालीको हो । यसको बहस र विश्लेषण अर्कै लेभलमा होला । दोस्रो, नेपाली समुदायको आपत–विपतमा एनआरएन अमेरिकाको भूमिका । प्रष्टसँग भन्दा, अकल्पनीय भवितव्यका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको राहतका लागि संस्थाको स्पष्ट नीति तथा कार्यक्रम के छ ? संस्थागत संरक्षणको अनुभूति त गरुन् सदस्यहरुले । तेस्रो, नेपाली समुदायबीच एकता कायम राखी मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै स्थानीय समुदायमा नेपालीहरुको उपस्थिति कायम राख्ने । आज नेपाल भनेर चिनाउनु पर्दा भारत र चीनको नाम लिनुपर्ने अवस्था छ । कम्तीमा विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्धको देश र कहिल्यै पनि कसैको उपनिवेश नभएको वीर गोर्खालीको देश नेपाल भन्ने सन्देश त दिन सक्ने होस् एनआरएन अमेरिका । चौथो, नेपाली क्षमता र सामथ्र्यको समुचित व्यवस्थापन । विशेषगरी नेपाली क्षमता र सीपलाई कसरी अमेरिकी श्रमबजारको प्रतिस्पर्धामा स्थापित गराउने ? यी कुरालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रमहरु ल्याउन कुनै प्रत्यासी इच्छुक देखिए, न त यस्ता विषयहरु उनीहरुको एजेण्डामा अटाए । आए, अत्यन्त महत्वाकांक्षी एवम् स्वप्निल योजना । हो, फेन्सीफूल योजनाहरु तब निकै सान्दर्भिक हुनेछ, जब न्यूनतम् एवम् अति आवश्यक कार्यक्रमहरु सफल रुपले कार्यान्वयन हुनेछन् ।

यहाँ, नेजा टेक्सास डिबेटको एउटा प्रसंग उल्लेख गर्न सान्दर्भिक लाग्यो । पत्रकारको एउटा प्रश्नमा, प्रेसिडेन्टका अधिकांश आकांक्षीहरु प्रष्ट रुपमा भाषा र संस्कृति मिलेको आधारमा विदेशीलाई एनआरएनएमा कुनै न कुनै तवरले आबद्धता गर्नुपर्ने अभिव्यक्ति दिँदै गरेको कार्यक्रममा एक नेपाली विद्यार्थी जो युथ कोअर्डिनेटरका आकांक्षी हुँ भन्दै थिए । उनको सदस्यता भेरिफिकेसन कमिटीले अवैध ठहर गरेको विचार राख्दै गर्दा दर्शक दीर्घाबाट एक स्वरमा उनीसँग ग्रीन कार्ड भएको–नभएको प्रश्न उठ्छ । उनीसँग सो नभएको कुरा नटुंगिँदै सोही कारण उनी भोटर र उम्मेदवार दुवै हुन नसक्ने भेरिफिकेसन कमिटीको निर्णय हो भन्ने कठोर उत्तर सुनिन्छ । यो अवस्थालाई हामी सर्वसाधारणले कसरी बुझ्ने ? यसको जिम्मेवारपूर्ण उत्तर कसले दिने ? भाषा र संस्कृति मिलेकै आधारमा गैरनेपालीले एनआरएनएको सदस्यता पाउने सम्भावना रहेको जिकिर भइरहँदा हरियो पत्ता नभएकै कारण नेपाली वर्जित हुनुपर्ने यो कस्तो नियती हो ? यसको विषयमा कसले सम्बोधन गर्ने ? नेपाली डायस्पोराबीचमा चलखेल गर्ने मेच होइन, एकता, सम्बद्धता र संरक्षण कायम गर्ने थलो बन्नुपर्छ एनआरएन अमेरिका ।

संस्था अहिले बामे सर्ने अवस्थामा होला । केही सैद्धान्तिक तथा नीतिगत पक्षहरुको सुधार गर्दै यसलाई सही दिशा दिनुपर्ने अवस्था होलान् । अहिले जति पनि चर्चामा आएका प्रेसिडेन्टका प्रत्यासीहरु छन् । आफैँमा सबै सक्षम देखिन्छन् । संस्थाका लागि अति नै आवश्यक देखिन्छन्, तर जुन हिसाबले उनीहरुबीच अहिले प्रेसिडेन्टका लागि रस्साकस्सी गरी राखेका छन् । यसले संस्था एवम् डायस्पोरामाझ पक्कै पनि सकारात्मक सन्देश दिएको छैन । डेमोक्रेसीमा प्रतिस्पर्धामा होमिएर जनताको अभिमतद्वारा नेतृत्व हत्याउने सैद्धान्तिक नियम होला । तर, आज संस्थागत सुदृढीकरण एवम् डायस्पोराको विश्वास जिती संस्थाको गरिमालाई कायम राख्न फुटेर होइन, जुटेर आउनु जरुरी छ । यसर्थ, अहिले चर्चामा आएका सबै प्रत्यासीहरुले आपसी समझदारीमा दायित्वभार आफैँ निर्धारण गर्दै कम्तीमा एक कार्यकाल संस्थाको नीतिगत र कार्यगत सुधारका निम्ति सबैले मन फराकिलो पारी मिलेर आउनुमा नै सबैको जीत हुनेछ । कार्यगत प्रभावकारिताकै आधारमा जनसाधारणले संस्थाको वैधता र विश्वसनीयता मापन गर्दछ । संस्थामा  अपनत्व स्वीकार गर्दछ । संस्थाको स्पष्ट नीति र कार्यक्रम स्थापित भए  डायस्पोराका सम्पूर्ण नेपाली संरक्षण खोज्दै स्वस्फूर्त संस्थामा आबद्ध हुन्छन् ।

abinojha@gmail.com

Check Also

देउवा सरकारमा थपिए १९ मन्त्री, मन्त्रीको सङ्ख्या दुई दर्जन नाध्यो

साउन ११ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा १९ जना मन्त्री थपिएका छन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *