Home / News / प्रवास / एनआरएन अमेरिकामा नेतृत्वका लागि पैसाको बल

एनआरएन अमेरिकामा नेतृत्वका लागि पैसाको बल

निर्वाचन मिति तोक्ने गाँठो फुक्न मुस्किल

  • विजय पौडेल/न्यूयोर्क
  • सुरज भण्डारी/टेक्सस

गैरआवासीय नेपाली संघ, अमेरिकाको सन् २०१७/२०१८ का लागि नियमसंगत समितिको निर्वाचन सम्पन्न हुनुपर्ने मिति घर्किसक्यो, तर निर्वाचनको मिति भने अहिलेसम्म तोकिएको छैन । सामान्यतया हरेक वर्ष बडा दशैंको पूर्वसन्ध्यामा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गरिने गैरआवासीय नेपाली संघको अधिवेशनमा राष्ट्रिय समन्वय परिषद्हरुले भाग लिने र प्रतिनिधि पठाउने व्यवस्था छ । सम्भवतः सेप्टेम्बर २१ तारिख परेको घटस्थापना आसपास आईसीसीको अधिवेशन हुनेछ । तर, यता त्यही आईसीसी अधिवेशनमा भाग लिन प्रतिनिधि पठाउनुपर्ने एनआरएन अमेरिकाको राष्ट्रिय निर्वाचन जुन महिना सकिंदासम्म सम्पन्न हुने छाँट देखिएको छैन । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा प्रतिनिधि पठाउने अधिकार हरेक राष्ट्रिय परिषद्को निर्वाचित समितिलाई मात्र हुने गर्दछ ।

गैरआवासीय नेपाली संघ, अमेरिकाको निर्वाचनको मिति तय हुन नसकेको निर्वाचन समिति प्रमुख कानून व्यवसायी बन्दिता शर्मा दहालले जानकारी दिइन् । दहाल भन्छिन्– ‘सदस्यता वितरणको विषयमा बजारमा हल्ला चलेको कुरा त सबैलाई थाहा नै छ । अहिले सदस्यता छानबिन समितिले काम गरिरहेको छ । सदस्यता छानबिन समितिको पूरा कागजात हामी कुरेर बसेका छौं ।’ उनले नियमसंगत निर्वाचन हुनुपर्ने मितिसमेत नाघिसकेको कुरा स्वीकारिन् । ‘जुन महिनाको पहिलो हप्ता नै नयाँ समितिलाई काम जिम्मा दिनुपर्ने हो, तर सदस्यता छानबिन गरी सदस्यहरुको अन्तिम नामावली नआएका कारण मिति तोक्न सकेका छैनौं, तर पनि जुलाई महिनाको दोस्रो हप्तासम्म निर्वाचन हुन्छ,’ उनले भनिन् । उनका अनुसार सदस्य नै निश्चित नभएसम्म तिनै सदस्यमध्येबाट समितिको विभिन्न पदमा उम्मेदवार बन्ने भएका कारण कानूनीरुपमा उम्मेदवार भन्ने अवस्था छैन ।

निर्वाचनको मितिसमेत सार्वजनिक नभएको निर्वाचनलाई लक्षित गर्दै झण्डै १ वर्षअगाडिदेखि अमेरिकी एनआरएनमा नेतृत्व गर्ने आकांक्षा लिएर देश दौडाहा गर्ने उम्मेदवारहरुको दृश्य भने रोचक छ । देश दौडाहा मात्र होइन सम्बन्धित व्यक्तिहरुलाई पत्तै नदिई कतिपय सदस्यहरुको नाम र ठेगाना प्रयोग गरेर नक्कली फोन नम्बर र इमेल आईडी खडा गरी उम्मेदवार स्वयम्ले नै सदस्यता शुल्क तिरी दिएर हजारौं सदस्य बनाउने कामसमेत एनआरएन अमेरिकामा भएको कुरा सार्वजनिक भइसकेको छ । कतिपय राज्यहरुमा अमेरिकी राष्ट्रपति निर्वाचन जस्तै डिबेट गरेको भन्दै विभिन्न संघसंस्था र व्यक्तिले अध्यक्ष पदका आकांक्षीबीच डिबेट आयोजना गरेर व्यस्त अमेरिकी जिन्दगीमा अनुत्पादक खर्च बढाएको गुनासोसमेत गरेका छन् । वर्तमान समितिका उपाध्यक्ष तथा अध्यक्ष पदका आकांक्षी राम सी पोखरेल भन्छन्– ‘नोमिनेसन नै नभएको अवस्थामा हामी कोही पनि यस्ता डिबेटमा गएर अनावश्यक समय र पैसा खर्च नगरौं भनेर सबै साथीलाई मैले आग्रह गरें । हामीले टेक्नोलोजीको भरपूर प्रयोग गरेर मतदातासम्म पुग्नुपर्छ । तर, के गर्नु म एक्लो गएन भने ल ! राम सी पोखरेल उठ्दैन भनेर हल्ला गरिदिन्छन् ।’ फेसबुक लाइभ भएकै हुन्छ अनि फरक–फरक राज्यमा गएर डिबेटमा हामी उम्मेदवारहरुले भाग लिनुपर्ने औचित्य मैलेचाहिं देखेको छैन भन्छन् पोखरेल । निर्वाचन मिति नै घोषणा नभए पनि भड्किलो प्रचारशैली उम्मेदवारहरुले शुरु गरिदिएका कारण बाध्य भएर कुद्नुपरेको पोखरेलको भनाइ छ ।

वर्तमान उपाध्यक्ष र अध्यक्षका प्रत्यासी राम सी पोखरेल मात्र होइन वर्तमान अध्यक्ष तथा पुनः अध्यक्षका आकांक्षी डा. केशव पौडेलको पनि यही गुनासो छ । निर्वाचन हुनुभन्दा एक वर्षअगाडिदेखि आफूलाई उम्मेदवार हो भन्दै भड्किलो खर्च गर्ने परम्परा तोडिनुपर्ने डा. पौडेलको राय छ । उनी भन्छन्– ‘उम्मेदवारहरुसँग डिबेट गराउँदा पनि निर्वाचनभन्दा १५ दिनअगाडि कुनै प्रतिनिधिमूलक संस्थाले सबैलाई बोलाएर एक–दुई ठाउँमा गरे पुग्छ । यो राज्यपिच्छे डिबेट गराएर के काम ? अमेरिका बसेर प्रविधिको प्रयोग हामीले कहिले गर्ने ?’

एनआरएन अमेरिकाको प्रचारप्रसारमा लागेका अध्यक्ष पदका अर्का प्रत्यासी गौरीराज जोशीले पनि निर्वाचन भड्किलो बनेको स्वीकारे । यो बीचमा एनआरएन अमेरिकाको अध्यक्ष पदको आकांक्षा देखाएसँगै उनले भ्रमण गरेका १० राज्य र निकट भविष्यमा भ्रमण सूचीमा रहेका अन्य ५ राज्यको नाम लिंदै उनले भने– ‘एउटा राज्यको कार्यक्रममा चुनाव प्रचारप्रसारका लागि भाग लिन जाँदा लगभग २ हजार अमेरिकी डलर खर्च हुन्छ ।’ त्यस्तै, कृष्ण पोखरेलले पनि आफ्नो चुनाव प्रचारप्रसारका लागि भ्रमण खर्च झण्डै ५० हजार अमेरिकी डलरसम्म लाग्ने अनुमान गरेका छन् । पोखरेलले भने– ‘एनआरएन अमेरिकाको निर्वाचनमा जित्नका लागि ठूलो धनराशीको चलखेलसमेत हुने गरेको बुझेको छु । आफू भने आफ्नो भ्रमण खर्च मात्र गर्ने प्रष्ट पार्दछु ।’

गत फेब्रुअरी महिनादेखि अध्यक्ष पदमा आकांक्षा देखाउँदै विधिवत प्रचारप्रसारमा हिंडेकी वर्तमान उपाध्यक्ष रविना थापा पनि १५ वटा राज्य प्रचारप्रसारकै लागि पुगेको बताउँछिन् । थुप्रै राज्य पुग्नुपर्ने भएपछि प्रचारप्रसारकै लागि भ्रमण खर्चमा ठूलो रकम खर्च हुने उनको पनि अनुमान छ । रविना भन्छिन्– ‘पछिल्लो समय एनआरएन अमेरिकाको निर्वाचनसँग आर्थिक पक्ष जबर्जस्त रुपमा जोडिन पुगेकोमा चिन्तित छु ।’

भड्किलो बन्दै गएको अमेरिकी एनआरएनमा उम्मेदवार स्वयम्ले आफ्नै पैसा खर्च गरेर सदस्यता बनाउनु सामान्य भइसकेको छ । प्रचारप्रसार र भ्रमण खर्चमा मात्र कतिपय उम्मेदवारले ५० हजार डलरको बजेटसमेत अनुमान गरे भने उम्मेदवार हुन्छु भन्नेबित्तिकै उम्मेदवारसँगै पैसा मागेर आयोजकले कार्यक्रम गर्ने र कतिपय राज्यहरुमा उम्मेदवारहरुले पैसा खर्च गरेर कार्यक्रम आयोजना गर्न लगाउने गरेको गुनासोसमेत सुनाए । अध्यक्ष पदका आकांक्षी अधिकांश उम्मेदवारहरुले ‘एनआरएनमा हामी लिन होइन दिन जाने हो’ भन्न भने छुटाएनन् । दिनकै लागि नेतृत्वमा पुग्न कसिएका एनआरएन अध्यक्षका प्रत्यासीहरुले किन हजारौंहजार बगाएर छन् ? समयले प्रष्ट पार्ला ।

एनआरएन मुभमेन्ट बढेको छ : पौडेल

डा. केशव पौडेल

सन् २०१५ मा २ वर्षे कार्यकालका लागि निर्वाचित भएसँगै ३० वटा राज्यमा पुगिसकेको छु । हवाई टिकटवापत मात्र यो दुई वर्षमा ८० हजार अमेरिकी डलर खर्च भइसकेको छ । अमेरिका देश नै ठूलो छ । ५० वटा राज्य छन् । हुन त कार्यक्रमहरुमा स्काइप, फेसटाइमलगायत प्रविधि प्रयोग गर्दा खर्च कम हुने हो, तर सबैको चाहना अध्यक्षसँग सामुन्नेमा भेट गर्ने हुन्छ । मैले मेरो कार्यकाल शुरु गरेपछि अमेरिकामा एक प्रकारको एनआरएन मुभमेन्ट नै आएको महसुस गरेको छु । हरेक राज्यमा आफैं पुग्ने गरेका कारण मान्छेहरुले माया गरे पनि, गाली गरे पनि एनआरएन मुभमेन्ट चाहिं अमेरिकामा बढेकै हो ।

यो त सामाजिक काम गर्ने संस्था न हो । कमाउन जाने त पक्कै होइन नि । जस्तो म अस्पतालमा एक पटकमा एउटा बिरामी जाँच गरेर उपचार गर्थें, अहिले मेडिकल डाइरेक्टर भएका कारण मेरो मातहतमा ८० जना चिकित्सक काम गर्नुहुन्छ । मैले कुशल व्यवस्थापन गर्ने मौका पाएका कारण हिजो एक जनालाई उपचार गरेको भन्दा धेरैलाई उपचार गर्ने पद्धतिमा सहजता, सुविधा, आरामदायितालगायत थुप्रै कुरा विकास गर्ने मौका पाएको छु । ठ्याक्कै त्यस्तै हो, म एनआरएनको सिस्टमको विकास गर्न जाने हो । अगाडिको कार्यकालमा पद बहाली गरेको दिनदेखि नै मुद्दा खेप्नुप¥यो । अदालत धाउनुप¥यो, तर पनि नोटिसेबल थुप्रै काम गर्न सफल भयौं । त्यतिबेलाका अपुरा काम गर्ने चाहना छ ।

अर्को कुरा निर्वाचन शुरु हुनुभन्दा १ वर्षअगाडिदेखि उम्मेदवार घोषणा गरेर तडकभडक गर्ने प्रचलन बन्द हुनुप¥यो । डिबेटहरु गराए पनि निर्वाचनभन्दा १० दिनअगाडि गराए पुग्छ, त्यो पनि सबै संस्थालाई समेटेर एउटै संस्थाले गरे हुन्छ । साथीहरुले डिबेट भनेर आयोजना गरिदिनुहुन्छ अनि नजाने उम्मेदवार छायाँमा परिने डरले बाध्य भएर सरिक हुनुपर्छ । राम्रा–राम्रा योजना देखाएर सामान्य तरिकाले मत मागे हुन्छ, तर यहाँ त योजना केही हुन्न, त्यत्तिकै मलाई एक भोट भनेको छ । अर्को कुरा सिस्टमको लुप होल पत्ता लगाएर सदस्यता बनाउँदा जुन दुरुपयोग गरियो, त्यो पनि राम्रो भएन । अब सायद अर्को वर्षदेखि यो सदस्यता प्रक्रिया आईसीसीले ह्याण्डल गर्ने कुरामा बहस चलिरहेको छ । अमेरिका, युके र अष्ट्रेलियाको टेष्टसमेत भइरहेको छ ।

ठूलो देशको एनआरएन भएकाले भ्रमण खर्च हुनु त स्वाभाविक हो, तर सदस्य स्वयम्ले आफ्नै पैसा खर्च गरेर सदस्य बन्ने परिपाटीसमेत विकास नहुनु दुःखद पक्ष हुन् । कार्यक्रम गर्नेले उम्मेदवारसँगै पैसा मागेर कार्यक्रम गर्नु, उम्मेदवार आफैंले पैसा दिएर कार्यक्रम गर्न लगाउनु, यी सबै अति विकृत पक्ष हुन् ।

अनुत्पादक काम बढी भयो : पोखरेल

राम सी पोखरेल

एनआरएन अमेरिकाको पद र पोजिसनलाई अलि धेरै महत्व दिएर प्रविधिको दुरुपयोग गरेर जसरी पनि पदमा पुग्न खोज्नु अत्यन्त दुःखद पाटो हो । आर्थिक चलखेल मात्र होइन, सदस्य बनाउने प्रक्रियासमेत दुरुपयोग भएको देखेर एउटा सामान्य ढंगले सच्चा नेतृत्व चाहियो भनेर म उठेको हुँ । उम्मेदवार हुने घोषणापछि ९ पटक विभिन्न राज्य पुगिसकें । भर्जिनियामा आयोजित पहिलो डिबेटमा पुग्न नभ्याउँदा लौ राम सी पोखरेल उठ्दैन भन्ने हल्ला चलाइयो । दोस्रो डिबेटमा ‘तपाईं आउनुभएन भने हामी तपाईं उठ्नुहुन्न भन्ने बुझ्छौं’ भनेर आयोजक साथीहरुले भन्नुभयो अनि दोस्रो डिबेटमा पुगें । मैले न्यूयोर्कको डिबेटमा सबै अध्यक्षका आकांक्षी साथीहरुलाई नोमिनेसन भएकै छैन । टेक्नोलोजीको जमाना छ । अब हामी यो कुनै डिबेटमा नजाऔं यो अति अनुत्पादक काम भयो भनें । स्रोत, साधन र समय अमेरिकामा महत्वपूर्ण छ । अब नोमिनेसनपछिको एउटा मात्र डिबेटमा सहभागी हुने भनेर सबै साथीलाई प्रस्ताव गरें । लिडरसिपमा जान चाहने साथीहरुले नियमित खर्च त गर्नै पर्छ, तर निर्वाचन हुनुभन्दा एक वर्षअगाडिदेखि मत माग्न थालेका कारण अनावश्यक खर्च भएका छन्, बरु त्यस्ता खर्चलाई बचाएर नेपालकै कुनै ठाउँमा सामाजिक काम गर्न सके सकारात्मक परिणाम निस्कने थियो । प्रवासमा हामी एक हुनुपर्ने, सौहार्दता विकास गर्नुपर्नेमा त्यस्तो एकता निर्माण गर्न सकेनौं । खर्चिलो, भड्किलो अनि व्यापक धु्रवीकरण हुनु प्रवासी समाजमा विडम्बना नै हो ।

अनावश्यक तामझाम : थापा

रविना थापा

सामाजिक सेवामा लागेर पाउने भनेको आत्मसन्तुष्टि नै हो । गत फेव्रअरीवाट औपचारिक चुनाव अभियान थालेकी हुँ । सदस्यता बनाउने अभियानको क्रमलाई समेत जोड्दा नर्थ क्यारोलिना, भर्जिनिया, डेलेवर, पेन्सेलभेनिया, न्युजर्सी, न्युयोर्क, बोस्टन, रोड आइल्याण्ड, न्यु हेम्सपायर, टेक्सस, क्यालिफोर्निया, डिसी मेट्रो क्षेत्रमा पुगिसकेको छु । टाइम म्यानेज गरेर विभिन्न राज्यमा गैराखेको छु । यति नै खर्च भयो भनेर त राखेकी छैन । तर, जाँदा–आउँदा खर्च त भैहाल्छ ।

पछिल्लो समय एनआरएन अमेरिकाको चुनावसँग आर्थिक पक्ष जर्बजस्त रुपमा जोडिंदा आफूलाई बढी चिन्तित बनाएको छ । अमेरिका देश ठूलो र साझा संस्थाको नेतृत्वमा आउने चाहना राख्दा राज्यको भ्रमण गर्नु साथीभाइ भेट्नु अन्तरक्रिया गर्नु जरुरी र स्वाभाविक हो । तर, यसलाई कम खर्चमा समेत गर्न सकिन्छ । अनावश्यक तामझाम जरुरी छैन । यस्तो खर्च कम गर्न सामूहिक अभियानमा जोड दिइनुपर्दछ । हामीले समाजलाई बुझाउन सके सामुहिक रुपमा नेतृत्व स्थापित गर्न अभियान चल्न सक्दछ, त्यसले व्यक्तिगत प्रेसर कम गर्दछ ।

आत्मसन्तुष्टिलाई अधिक खर्च : जोशी

गौरीराज जोशी

अमेरिकामा संघसंस्थाको नेतृत्व लिन त्यस व्यक्तिको आर्थिक पक्ष पनि बलियो हुनुपर्ने अवस्था एनआरएन अमेरिकाको चुनावी माहौलले देखाएको छ । अझ गैरआवासीय नेपाली संघ जस्तो नेपालीको साझा संस्थामा नेतृत्व लिने व्यक्तिमा समयको पर्याप्तता र आर्थिक रुपले समेत त्यो व्यक्ति सक्षम हुनुपर्दछ । गत जनवरीमा अध्यक्ष पदका लागि अभियान सुरु भएयता न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, क्यालिफोर्निया, कनेक्टिकट, नर्थ क्यारोलिना, डिसी मेट्रो क्षेत्र लगायतका राज्यमा पुगिसकेको छु । अबवको केही हप्ताभित्र इलिनोइस, एटलान्टा, इण्डियाना, ओहायोलगायतका स्टेट जाने योजना बनाएको छु । चुनावका लागि विभिन्न राज्यहरुमा जाँदा लागेको खर्च ठ्याक्कै यति नै खर्च भएको छ भनेर त राखेको छैन । तर, कुनै पनि राज्यमा जाँदा–आउँदाको यात्रा खर्च १ हजार डलर र त्यहाँ रहँदा सामान्य पनि १ हजार डलर खर्च राख्दा एउटा राज्य जाँदा कम्तीमा २ हजार डलरको दरले खर्च हुन आउँछ ।

कम्तीमा पनि २० वटा नै राज्य राख्दा पनि एउटा प्रत्यासीको कम्तीमा ४० हजार डलर खर्च हुने रहेछ । अमेरिका ठूलो देश भएको र नेपालीको कार्यक्रमहरुसमेत बढ्दै गएकाले पनि यहाँ उम्मेद्वार बन्दा आफू ट्राभल गर्न सक्छु कि सक्दिन, समय कतिको छ, आर्थिक रुपले कति गाह्रो पर्छ भन्ने कुरामा हेक्का राख्नुपर्ने हुन्छ । यस संस्थामा आउने भनेकै लिन नभई दिन नै हो । समय, पैसा, स्रोतसाधन खर्च हुन्छ । अझ नेतृत्वमा आएपछि सामाजिक उत्तरदायित्व बढ्छ । आत्मसन्तुष्टिका लागि यसमा लागेको हुँ । नेपालीको संघसंस्थामा नेतृत्व लिनका लागि हुने धनराशी खर्च सामाजिक दृष्टिकोणले अनुत्पादक क्षेत्रमा लगानी हो । त्यसो त केही गर्न सक्ने सामथ्र्य भएका, तर पैसाले साथ नदिनेहरु चाहना भएर पनि खुम्चनुपर्ने अवस्था देखिन थालेको छ । अर्कोतर्फ चुनावमै जाने हो भने समूह बनाएर अभियान थाल्दासमेत खर्च बाँडिने हुँदा  केही सहज हुनेछ । तर नेतृत्वभन्दा तलको पदकाले पर्ख र हेरको नीति लिंदा यसमा पनि समस्या देखिने गरेको छ ।

अनसीन ठूलो धनराशीको चलखेल : पोखरेल

कृष्ण पोखरेल

पछिल्लो समय अमेरिकाका नेपाली सम्बद्ध संस्थाको नेतृत्वमा जाने कुरा आकांक्षीको आर्थिक सक्षमतासँग जोडिने अवस्था आउनु दुखद हो । चुनावी अभियानलाई लिएर विभिन्न राज्यमा जानु र त्यहाँ भेटघाट गर्दा लाग्ने खर्चबाहेक पनि ‘अनसीन’ स्वार्थसिद्ध गर्न ठूलो धनराशीको चलखेल भइरहेको सुनिनु दुखद भएको र यसले समाजलाई सही बाटोमा लैजाँदैन । चुनावी अभियानका लागि हालसम्म बोस्टन, कनेक्टिकट, न्यु हेम्सपायर, न्यु जर्सी, मेरिल्याण्ड, भर्जिनिया, नर्थ क्यारोलिना, टेक्सस र इलिनोइस राज्यमा पुगिसकेको छु । अन्य राज्यमा पनि जाने तयारी गर्दै छु । मैले यसअघि नै कम्तीमा ४० देखि ५० हजार डलर खर्च हुने अनुमान पहिला नै गरेको थिएँ ।

चुनाव जित्न पैसाकै चलखेलसमेत हुन थालेको सुनेको छु, चुनाव जित्न सदस्यता बनाइदिने गरेको खबर पनि आएकै हो । नेपाली संघसंस्थाको नेतृत्वमा जानका लागि आर्थिक हैसियत प्रधान बन्ने अवस्थाले समाजलाई सही ट्र्याकमा लैजाँदैन् । गैर नाफामूलक सामाजिक संघसंस्थाको नेतृत्वमा जानु भनेको कुनै पावरको पद, सरकारी ओहोदा, न त त्यस्तो सहुलियत पाउने पद आर्जन गर्ने पद नै हो । यो संस्थामा सामाजिक सेवा गर्ने हो, सामाजिक काम गर्ने हो तर आज यो पदमा जान धेरै कस्टली भइरहेको छ ।

सामाजिक संघसंस्थाको नेतृत्वमा जानुसँग आर्थिक पाटो जोडिएर आउनु सही होइन । पैसा हुने कुरा र सामाजिक कार्य गर्ने कुरा फरक कुरा हुन् । त्यसैले पैसा हँुदैमा राम्रो काम गर्छ भन्ने हुँदैन ।

चुनावलक्षित विभिन्न प्रयोजनमा ठूलो धनराशी अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ । त्यो पैसा सामाजिक सेवामा लगाउँदा धेरै गर्न सकिन्थ्यो । यसलाई कम गर्न स्टेट लेभल इलेक्सन गराउन सकिन्छ । स्टेटबाटै रिप्रिजेन्ट गर्न सक्ने अवस्थाले धेरै सहयोग पुग्न सक्दछ, आफ्ना क्षेत्रमा सामाजिक अभियन्तालाई चुन्न पाउँदा त्यहाँको स्टेटमा नेपाली–नेपालीबीचको सम्बन्ध अझ दरिलो बन्न सक्दछ । विश्वसनीयता पनि बढ्न जान्छ ।

अमेरिकामा यसरी स्थापित भयो एनआरएन

संयुक्त राज्य अमेरिकामा सन् १९९१ देखि नेप्लिज अमेरिकाज काउन्सिल (न्याक) नामक संस्था अस्तित्वमा थियो । अमेरिकाको टेनेसी राज्यमा दर्ता भएको न्याकले तत्कालीन अवस्थामा अमेरिका र क्यानडामा सञ्चालित झण्डै ५० जना नेपाली संस्थाहरुको छाता संगठनका रुपमा काम गर्दथ्यो । न्याकको हरेक साधारणसभामा भाग लिनका लागि प्रत्येक संस्थाले तीन जना प्रतिनिधि पठाउने र प्रतिसंस्था एक सय अमेरिकी डलर शुल्क तिर्ने प्रावधान थियो । अमेरिका र क्यानडाभित्रको नेपाली समाजमा आइपर्ने बिपत्ती अथवा सुखद कामका साथै अमेरिका र क्यानडाको नेपाली समाजको तर्फबाट नेपालमा कुनै प्रकारले प्रतिनिधित्व गर्नुपरेको खण्डमा गैरआवासीय नेपाली संघ स्थापना नभएकै अवस्थामा पनि न्याकले प्रतिनिधित्व गर्ने गर्दथ्यो ।

सन् २००३ मा उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको अवधारणा ल्याएपछि संघको केन्द्रीय समितिसँग अमेरिकाबाट राष्ट्रिय परिषद्कै रुपमा अनौपचारिक रुपमा न्याकले काम गर्न थाल्यो । समय बित्दै जाँदा सन् २००५ देखि २००७ सम्मका लागि हाल क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसिएट्स भाइस प्रेसिडेन्ट र लङविच क्याम्पसका डिन डा. जित जोशी न्याकको नेतृत्वमा आए । सन् २००६ मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अमेरिकास्थित न्याकलाई अमेरिकी एनआरएन शाखाको रुपमा प्रस्ताव ग¥यो । सन् २००६ मा डा. जित जोशीको कार्यकालमा उक्त प्रस्ताव न्याकले स्वीकार ग¥यो । आईसीसीको प्रस्ताव स्वीकार गरेसँगै डा. जित जोशी अमेरिकी एनआरएनको पहिलो अध्यक्ष बने ।

सन् २००८ मा क्यानडाले न्याकसँगको सहकार्य तोड्दै गैरआवासीय नेपाली संघ, क्यानडा छुट्टै गठन गरियो । अन्ततोगत्वा न्याकले आईसीसीलाई सदस्यता शुल्क बुझाउने विषय प्राविधिक हिसाबले मिल्न सकेन । न्याक संस्थाहरुको प्रतिनिधि छाता संगठन थियो । न्याकले प्रतिसंगठन १ सय डलर शुल्क लिने गर्दथ्यो । उता, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई प्रतिसदस्य शुल्क बुझाउनुपर्दथ्यो । प्राविधिक रुपमा आर्थिक पाटो नमिलेपछि न्याक एनआरएन बसिरहन सकेन । सन् २०१० मा सुमन तिमल्सिना न्याकको नेतृत्वमा रहँदा न्याकलाई एनआरएन एनसीसी अफ युएसए बनाइयो भने टेनेसी राज्यमा दर्ता भएको न्याकको नाम मात्र परिवर्तन गरियो । पटक–पटक विधान संशोधन गरेर एनआरएन अमेरिकाले यहाँसम्मको यात्रा तय गरेको हो ।

(न्याकमा सन् २००७ का नेतृत्वकर्ता डा. अम्बिका अधिकारीसँगको कुराकानीमा आधारित)

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *