Home / News / प्रवास / एनआरएन अमेरिकाको चुनावी चासो र सदस्यता संख्या

एनआरएन अमेरिकाको चुनावी चासो र सदस्यता संख्या

शरद पोखरेल

नियमित चुनावी प्रक्रियामा गएको भए आजका दिनसम्ममा एनआरएन अमेरिकाले नयाँ नेतृत्व पाइसकेको हुने थियो । नियमित कार्यतालिकाअनुसार चुनाव मे महिनाको २०–२१ सम्ममा भइसक्नुपथ्र्यो भने मे महिनाको अन्त्यसम्ममा नयाँ नेतृत्व चयन आइसक्नुपर्ने हो । तर, आज जुन महिनाको १२–१५ भइसक्दा पनि एनआरएनमा नयाँ चुनाव हुन सकेको छैन । यसले सबैमा अन्योलता बढाएको छ ।

मे महिनामै चुनाव हुने पक्कापक्की थियो । यही आधारमा करिब ६ महिना अघिदेखि नै चुनावी चहलपहल व्यापक सुरु भयो । साँच्चै भन्दा गत वर्षको नोभेम्बर–डिसेम्बरदेखि नै एनआरएन अमेरिकाको चुनावी माहौल बिस्तार शुरु भएकोे हो । सामाजिक सञ्जालमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले माहौल एकाएक तताएका थिए । तर, हाल लामो समय बितिसक्दा पनि चुनावको टुङ्गो लागेको छैन ।

एनआरएन विधानअनुसार वर्तमान कार्यसमितिले चुनाव गराई मे महिनाको अन्त्यसम्ममा नयाँ कार्यसमितिलाई पद जिम्मा दिनुपर्ने हो । यसैले पनि केही व्यक्तिविशेषले वर्तमान कार्यसमितिको वैधानिकतामाथि प्रश्नचिह्न उठाइरहेका छन् । तर, बुझ्नुपर्ने के छ भने वर्तमान एनआरएन अमेरिकाको ५०१ (सी) मा दर्ता भएको संस्था हो । ५०१ (सी)को प्रावधानअनुसार यदि समयमा चुनाव नभए वर्तमान कार्यसमितिले चुनावद्वारा नयाँ कार्यसमिति नबनेसम्म काम गर्न सक्छ । उता, एनआरएन एनसीसीको वर्तमान विधानले पनि चुनाव समयमा नभएको अवस्थामा स्थानीय कानूनलाई आधार मान्नुपर्ने बताएको छ । यसरी केलाउँदा वर्तमान एनआरएन अमेरिकी कार्यसमिति नयाँ चुनाव नहुन्जेल वैधानिक छ ।

उता, केही एनआरएन अमेरिका सम्बन्धित व्यक्तिहरु भने अब एनआरएनको चुनाव दशैं–तिहारपश्चात् मात्र हुने बताइरहेका छन् । उनीहरुका अनुसार एनआरएन आफूअनुकूल बनाउनका खातिर स–साना निहुँमा वर्तमान कार्यसमिति चुनाव पछाडि धकेल्ने बहानामा छ । सम्बन्धित स्रोत भन्छ– ‘यो कार्यसमिति चुनावलाई दशैं–तिहारसम्म पु¥याउने मनसायमा छ । आईसीसीमा आफ्नो अनुकूलता हेरी यताको चुनाव गराउने मनसाय वर्तमान कार्यसमितिको छ ।’ तर, यसलाई एनआरएन वर्तमान अध्यक्ष डा. केशव पौडेल ठाडै नर्काछन् । उनी भन्छन्– ‘वर्तमान छानबिन कमिटी स्वतन्त्र भई काम गरिरहेको छ र उसले काम सकाउनासाथ चुनाव हुन्छ ।’ छानबिन समितिको हालै इमेल छानबिन गर्ने कामप्रति केही एनआरएन उम्मेदवारहरु रुष्ट बनेका छन् । तर, वर्तमान कार्यसमितिका उपाध्यक्ष राम सी पोखरेल वर्तमान छानबिन कमिटीको कार्यबाट आफू सन्तुष्ट रहेको बताउँछन् । उनी भन्छन्– ‘वर्तमान छानबिन कमिटीको कार्यबाट एनआरएन अमेरिकालाई सही ठाउँमा हिँडाउन मद्दत पुग्ने छ ।’

देखिएको सदस्यता संख्या

Download (PDF, 39KB)

अहिलेसम्मको आँकडाअनुसार एनआरएन अमेरिकामा २०१७–१९ सम्मका लागि १४ हजार ७ सय ७३ जना सदस्यहरु बनेका छन् । हाल सदस्यता संख्यामाथि छानबिन कमिटीले काम गरिरहेको हँुदा यो संख्या तलमाथि हुन सक्छ ।

एनआरएन अमेरिकाको पछिल्लो चुनावी वर्ष र यस वर्षको सदस्यता संख्याको अन्तरहरु केलाउँदा विभिन्न रोचक तथ्यहरु फेला पर्छन् । अल्बामा, अर्कान्सस, मेन आइल्याण्ड, मेरिल्याण्ड, म्यासाचुसेट्स, मोन्टाना, नेब्रास्का, न्यू जर्सी, न्यू मेक्सिको, नर्थ डकोटा, ओरेगन, पेन्सलभेनिया, रोडियो आइल्याण्ड, टेनीसी, भर्मोटजस्ता राज्यहरुमा एनआरएन सदस्यता बढ्नुको सट्टा घटेको देखिन्छ । अझ टेनिसी, मेरिल्याण्ड, म्यासाचुसेट्सजस्ता राज्यहरुमा त सयांैको संख्यामा एनआरएन सदस्यता गतवर्षको भन्दा घटेको छ । अरु केही राज्यमा भने केही नगन्य मात्रामा सदस्यहरु घटेका छन् । सबैभन्दा रोचक तथ्याङ्क त मेरिल्याण्ड राज्यमा देखा परेको छ । मेरिल्याण्डमा अघिल्लो चुनावताका सदस्यता संख्या १२१६ थियो, जुन घटेर हाल ७ सय ५० पुगेको छ । यो राज्यको मात्र गणना गर्दा लगभग ४ सय ५० जनाभन्दा बढी सदस्यहरु घटेका छन् । यो राज्यबाट गतवर्ष उपाध्यक्षमा रविना थापाले जितेकी थिइन् र हाल उनी अध्यक्षकी प्रत्यासी हुन् । उता, यही राज्य च्याप्टर सभापति जेदु पोखरेलको पहलमा नेपालीमा ड्राइभिङ लाइसेन्स लागू भएको हो । तर, यति काम हुँदाहुँदै पनि यहाँबाट सदस्य संख्या घट्नु आश्चर्यको विषय बनेको छ ।

त्यस्तै, क्यालिफोर्निया, कोलोराडो, इलिनोइस, न्यूयोर्क, टेक्सस, भर्जिनियाजस्ता राज्यहरुमा सयौं संख्यामा सदस्य बढेका छन् । सबैभन्दा बढेको सदस्यता संख्या न्युयोर्क र टेक्ससमा छ । टेक्ससमा लगभग २ हजार २ सयभन्दा बढी सदस्य बढेका छन् । जुन अप्रत्याशितझैं लाग्छ । टेक्ससका स्थानीयहरु राम सी पोखरेल र गौरी जोशी अध्यक्षमा उठेका कारण यो संख्या बढेको धेरैको अनुमान छ । यी दुवै टेक्ससका स्थानीय हुन् । टेक्ससको आफ्नो स्थानीय पकडको भोट उनीहरुका लागि महत्वपूर्ण हुन्छ । यसैले यी दुवैले आफ्नो प्रभुत्व बढाउन पनि भोट ब्याङ्क बढाएका हुन सक्छन् । अमेरिकाको राज्यहरुका आधारमा टेक्ससको सदस्यता संख्या ठूलो देखिए पनि समग्र एनआरएन अमेरिकामा भने यो संख्या अप्रत्याशितचाहि हैन ।

न्यूयोर्कको सदस्यता संख्या विगतको तुलनामा लगभग ३ सय जनाको हाराहारीमा बढेको छ, जसलाई सामान्य नै मान्न सकिन्छ । एनआरएन अमेरिकाले लगभग १ सय सदस्य संख्यालाई एक च्याप्टर स्थापनाको आधार तय गरेको छ । अहिले हरेक राज्यहरुको सदस्य संख्यालाई केलाउने हो भने अब एनआरएनका लगभग २७ वटा च्याप्टर निर्माण हुने पक्का जस्तै छ ।

सदस्यता वितरणको सुरुवाती दिनहरुमा धेरै जनाले सदस्यता लिन उदासिनता देखाएका थिए । धेरैको यो चिन्ताको विषय पनि बनेको थियो । अघिल्लो पटकको सदस्य संख्या १० हजार ७ सय ७५ लाई कायम राख्न शुरुमा सबैलाई धौधौ परेको धेरैलाई थाहा नै छ । तर, सदस्यता वितरणको अन्तिम अवस्थामा भने सदस्यता संख्या ह्वात्तै बढेको थियो । त्यसमा पनि अन्तिम समयमा टेक्ससको सदस्यता संख्या अप्रत्याशित थियो ।

एनआरएन छानबिन समितिको अन्तिम नतिजा आउनुअघि हालको सदस्यता संख्या १४ हजार ७ सय ७३ छ । जुन संख्यालाई धेरै मान्नेहरु प्रशस्तै छन् । तर, बुझ्नुपर्ने के छ भने हालै साउथ एसियन रिसोर्स सेन्टर र ग्लोबल सेतोपाटीले गरेको रिसर्चअनुसार अमेरिकास्थित नेपालीहरुको संख्या ३ लाख ५० हजार छ । त्यस्तै, एनआरएन अमेरिकाले आफ्नै पहलमा गरेको तथ्याङ्कले पनि करिब २ लाख ५० हजार नेपालीहरु अमेरिकामा रहेको वताउँछ । अवैधानिक संख्या, विद्यार्थी संख्या र अन्य संख्याहरुलाई हटाएर गणना गर्दा एनआरएन बन्न योग्य नेपालीहरुको संख्या अमेरिकामा १ लाखभन्दा माथि देखिन्छ । तर, विडम्बना धेरै प्रयासका बाबजुद पनि एनआरएनमा अमेरिकी नेपालीहरुको संख्या जम्माजम्मी १४–१५ हजारको हाराहारीमा पुगेको छ ।

अझ कसै–कसैले त पछिल्लो पटकको एनआरएन १० हजार ७ सय ७५ संख्या बढेर हाल १४ हजार ७ सय ७३ पुग्नुलाई बढाइचढाइँ गर्ने गरेका छन् । तर, बुझ्नुपर्ने कुरा के छ भने पछिल्लो चुनावबाट यो चुनाव आइपुग्दा लगभग २ वर्षभित्र जम्माजम्मी मात्र ४ हजारको हाराहारीमा सदस्यहरु बढेका छन् । यो अवधिमा यो संख्याभन्दा बढी नेपालीहरु अमेरिका आएका छन् र यही अवधिमा अमेरिका आएर एनआरएन हुन योग्य भएका नेपालीहरुको संख्या पनि धेरै छ । जुन संख्याप्रति कसैले हेक्का राखेका छैनन् । हाल बढेको एनआरएन संख्यालाई विगतको संख्यासँग मात्र दाँज्नु सरासर गलत हो ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *