Home / News / खेलकुद / नेपाली कप्तान पारस कारबाहीमा पर्नसक्ने

नेपाली कप्तान पारस कारबाहीमा पर्नसक्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय क्लब क्रिकेट प्रतियोगिताका विषयमा विवाद उत्पन्न हुँदा पारस त्यही विवादको केन्द्रमा फसेका छन् । सोमबार काठमाडौंमा उद्घाटन भएर मंगलबारदेखि शुरु भएको प्रतियोगितामा नेपाली खेलाडीलाई खेल्नका लागि रोकेपछि उनी विवादमा मुछिएका हुन् । नेपाली क्रिकेटरलाई आयोजकले प्रतियोगिताको ३ लाख रुपैयाँसम्म दिने तयारी गरेको थियो । तर, पारसले कसैलाई पनि नखेल्न दबाब दिए । पारसको दबाबपछि नेपाली क्रिकेटरले आफूले अमेरिकाका विभिन्न ठाउँमा पुगेर पैसा कमाउने, तर आफूहरुलाई खेल्न नदिने भन्दै उनको चर्को विरोध गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले समेत पारसको व्यवहार असामान्य खालको रहेको भन्दै असन्तुष्टि जनाएको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले खेल रोक्नका लागि विभिन्न खेलाडी र विभिन्न तहको प्रयोग भए पनि सफल नहुने बताए । उनले दोषी देखिएमा खेलाडी वा अरु पदाधिकारी कारबाहीको भागिदार हुने बताए । स्रोतका अनुसार पारसले अब फेरि उस्तै गतिविधि जारी राखेमा कारबाहीको तयारी राखेपले गरेको छ । आफूले नखेल्ने भएपछि थोरै भए पनि रकम कमाउने नेपाली खेलाडीको चाहनालाई पारसले रोकेको खेल पदाधिकारीले बताएका छन् । यसअघि पनि पटक–पटक नियमविपरीत राजनीति गरेको राखेप सदस्यसचिव विष्टले गुनासो गर्ने गरेको स्रोतको दाबी छ ।

मंगलबारदेखि अन्तर्राष्ट्रियस्तरको क्लब क्रिकेट शुरु भएको छ । पहिले एसियन प्रिमियर लिग टी–ट्वान्टी भनिए पनि विवादकै कारण यसलाई क्लब क्रिकेटमा परिणत गरिएको हो । खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा भइरहेका छन् । क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डिगढ पञ्जावको आयोजनामा प्रतियोगिता शुरु भएको होे । त्यसका लागि अघिल्लो सोमबार काठमाडौंमा एक पाँच तारे होटलमा खेलाडी लिलामीसमेत गरिएको थियो । खेलको भारतीय चर्चित टेलिभिजन च्यानल सोनी सिक्सले प्रत्यक्ष प्रसारण गर्नेछ । राखेप सदस्य सचिव केशवकुमार विष्टका अनुसार दुबईमा हुने तय भएको प्रतियोगिता अन्तिम समयमा नेपालमा सारिएको हो । यो नेपाली खेल क्षेत्रकै लागि राम्रो अवसर भएको राखेपले जनाएको छ ।

प्रतियोगितामा विभिन्न क्लबमा विभिन्न देशका खेलाडीले सहभागिता जनाउनेछन् । असार २० गतेसम्म चल्ने प्रतियोगितामा साब्निल पाटिलको कप्तानीमा रहेको नेपाल स्ट्रोम, तिलकरत्ने दिलसान कप्तान रहेको इण्डियन स्टार, परवेज महारुफ कप्तान रहेको लंकन लायन, अलअमिन हुसेन कप्तान रहेको बंगलादेश टाइगर, अब्दुल सकुर कप्तान रहेको दुबई वारियर्स र राना नाभिद उल हसन कप्तान रहेको अफगान बुल्सले सहभागिता जनाएका छन् । यद्यपि केही टोलीका कप्तान परिवर्तन गरिएको छ । प्रतियोगिताका लागि सोमबार १ सय ८ खेलाडीलाई अक्सनमा सहभागी गराइएको थियो । त्यसमध्ये ९० खेलाडी छानिएका छन् । तीन समूहमा राखिएका खेलाडीको प्रारम्भिक मूल्य १०, २० र ३० हजार भारतीय मूल्य राखिएको थियो । केही खेलाडी लाखौं मूल्यमा समेत किनबेच भएको छ ।

लिग चरणबाट दुई टोली बाहिरिने छन् भने चार टोली सेमिफाइनलमा पुग्नेछन् । विभिन्न देशका खेलाडीलाई अवसर प्रदान गर्न र क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डिगढ पञ्जाबले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ प्रदान गरिनेछ । उपविजेताले १० र तेस्रो टोलीले ५ लाख भारतीय रुपैयाँ प्राप्त  गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार भारतीय रुपैयाँ दिइनेछ भने म्यान अफ दि सिरिजले कार पुरस्कार पाउनेछन् ।

नेपालमा कुनै पनि ठूलो प्रतियोगिता आयोजना हुँदा विभिन्न खालका आशंकासमेत उब्जिने गरेका छन् । यो लिगलाई लिएर पनि यस्तै खालका आशंका उब्जिएका छन् । यस्ता प्रतियोगिताले नेपालको खेल पर्यटनलाई राम्रो फाइदा पुग्नेछ । तर, नेपालमा यो प्रतियोगिताको नेपाली कप्तान खड्का लगायतबाटै विरोधसमेत शुरु भएको छ । हरेक कुरामा वादविवाद हुने गरेकामा यो प्रतियोगितामा समेत विवाद शुरु भए पनि नेपाली खेलाडीको संलग्ना हुने वा नहुने भन्ने अन्यौल भएको हो । तर, राखेपले एउटा संस्थाले क्लब लिग गर्ने भनेर आएकाले आफूहरुले अनुमति दिएको र यसले नेपाली क्रिकेट क्षेत्रमा फाइदा पुग्ने जानकारी दिए । नेपालमा क्रिकेटको संरचनात्मक विकासका हिसाबले हेर्दा आन्तरिक विवादले धेरै प्रतियोगिताहरु रोकिएका छन् । यसअघि आईसीसीले नेपालमा निर्माण गर्ने भनिएका भौतिक संरचना विवादले गर्दा यूएई र मलेसिया पुगेका छन् । यसले हरेक वर्ष लाखौं पर्यटक नेपाल भित्रिनबाट रोकिएको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *