Home / News / मनोरञ्जन / फुर्सदमा हमाल, चिन्तामा पत्नी

फुर्सदमा हमाल, चिन्तामा पत्नी

  • श्याम स्मृत

नेपाली चलचित्रका महानायकको पगरी गुथेका राजेश हमाल यतिखेर विश्राममा रहेका छन् । हमालको हातमा यतिखेर कुनै चलचित्र छैन । ३० वर्ष निरन्तर नेपाली चलचित्रमा राज गरेका उनको व्यस्ततामा  विश्राम लागेको यो पहिलो घटना हो । जसले गर्दा पत्नी मधु भट्टराईसँग उनी फुर्सदिला दिन गुजारिरहेका छन् ।

वैवाहिक जीवनको चार वर्ष बितिसक्दा पनि आफ्ना लागि समय नदिएको सधैं गुनासो गर्ने मधु पनि यतिखेर एकाएक श्रीमान्को आवश्यकताभन्दा बढी फुर्सद देखिएपछि अलि आत्तिएकी छन् । कतै अब हमालको दिन गएको पो हो कि भन्ने उनमा व्यापक चिन्ता बढेको हमाल निकटहरुले बताउने गरेका छन् । यस चिन्तालाई दूर गर्न हमालले आम चलचित्रका कलाकारहरुले जस्तै फिल्म नपाएपछि चलचित्र निर्माण तथा निर्देशनको सहारा लिने निश्चितजस्तै भएको छ ।

यसै वर्ष हमालले आफ्नै निर्माण तथा निर्देशनमा नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । तर, उनले उक्त चलचित्रका बारेमा खुलासा गरेका छैनन् । जुन चलचित्रमा हमालका अत्यन्त नजिकका मित्र चलचित्र मुक्तिदाताका निर्माता राजेन्द्र ठकुरीले पनि साथ दिने भएका छन् । निर्माता ठकुरी भने यस कुरालाई हाललाई गोप्य नै राख्न रुचाउँछन् । प्रोसेसमा भएका कारण तुरुन्तै खुलासा गर्ने पक्षमा ठकुरी देखिएका छैनन् ।

गतवर्ष भदौ महिनामा महिलाको भूमिकामा हमालले अभिनय गरेको चलचित्र शकुन्तलापछि उनको नयाँ कुनै चलचित्र रिलिज भएको छैन । जुन चलचित्रले जति अपेक्षा गरेको थियो, अपेक्षा गरेअनुरुप सफलता प्राप्त गर्न सकेन । त्यसपछि पनि हमाल अभिनित ओल्डिज फिल्महरु बजारमा आए तापनि सफलता प्राप्त गर्न नसकेको तथ्यले हमालको फिल्मी मार्केट ओरालो लागेको अनुमान गरिएको छ ।

हुन त ३० वर्षको फिल्मी दौडानमा हमालका कुनै पनि चलचित्र सुपरहिट बनेको पाइएको छैन । एभरेज बिजनेसबाहेक त्यस्तो उल्लेखनीय रेकर्ड राखेको नपाइएको नाम उल्लेख गर्न नचाहने एक चलचित्रकर्मीले भनेका छन् । उनका अनुसार राजेश हमालले नेपाली चलचित्रका निर्मातालाई एभरेज व्यापार गराएर उनीहरुको लगानी भने सुरक्षित अवश्य गराइदिएका छन् । तर, नाफा दिन भने सकेका छैनन् ।

राजेश हमाललाई लिएपछि चलचित्रको व्यापारमा नाफा नभए तापनि फिल्म चल्छ भन्ने फिल्म व्यवसायीहरुको विश्वासले यतिका वर्ष राजेश हमाल चलेको अध्ययनले देखाएको छ । ३० वर्षअघि चलचित्र युगदेखि युगसम्मबाट नेपाली फिल्मी करियरलाई मजबुत बनाएका हमालको ३० वर्षपछि करियर डाउन हुनुमा समयलाई कारण मान्छन् अधिकांश चलचित्रकर्मी । ‘एउटै मान्छे हेर्दाहेर्दा वाक्क भएका नेपाली चलचित्रका दर्शकहरुले चेन्ज खोजेका होलान्’, अधिकांश चलचित्रकर्मीको जबाफ थियो– ‘अब राजेश हमाल नायकबाट चरित्र अभिनेतामा अपग्रेड भएर फिल्म खेल्न आवश्यक हुन थालेको छ ।’

हुन पनि कथाले पनि अबका दिनमा राजेश हमाललाई योङ एङ्ग्रिमेनभन्दा पनि ओल्डिज मेनका रुपमा खोजिरहेको छ । त्यसअनुरुपका चलचित्रहरुमा हमाल फिट एण्ड फाइन देखिने निश्चित छ । हमालले पनि यसप्रकारका रोलहरुमा आफूलाई मजबुत बनाउँदै गएमा बलिउड बादशाह अमिताभ बच्चनले जस्तै करियरमा जीवन्तता ल्याउन सकिने चलचित्रकर्मीहरुको राय छ ।

बलिउडका महानायक अमिताभ बच्चन जस्तै नेपाली चलचित्रका महानायक राजेश हमाल पनि राजनीतिमा लाग्ने कुराले पनि केही समययता चर्चा पाएको थियो । स्थानीय निर्वाचनमा बीबीसीको रहरलाग्दो जागिर छाडेर नेपालमा राजनीति गर्न आएका पत्रकार रविन्द्र मिश्रको साझा पार्टीबाट राजनीतिमा लाग्ने कुरा आए तापनि पछि आफ्नै घरछिमेकका नेतालाई वडा अध्यक्षमा जिताउन तथा उनलाई टिकट दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत दबाब दिने कार्य हमालबाट भएको थियो । उक्त उम्मेदवारको प्रचारमा समेत देखिएका हमालको नेकपा एमालेसँग निकै साँठगाँठ रहेको देखिए पनि त्यस उम्मेदवारले वडा अध्यक्षमा जित्न भने सकेन । जसले गर्दा हमाल हिस्स बनेका छन् । यसले गर्दा नेपाली राजनीतिमा तुरुन्तै खुलेर आउने कुरामा अझै हमाल मौन बसेका छन् ।

Check Also

नायिका–निर्माता स्क्याण्डल चर्चा

राम्रोभन्दा नराम्रो तौरतरिकाले चर्चा तथा परिचर्चा हुनु राम्रो अवश्य होइन । होहल्लाको किसिम, स्थान तथा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *