Home / News / मनोरञ्जन / नायिका–निर्माता स्क्याण्डल चर्चा

नायिका–निर्माता स्क्याण्डल चर्चा

राम्रोभन्दा नराम्रो तौरतरिकाले चर्चा तथा परिचर्चा हुनु राम्रो अवश्य होइन । होहल्लाको किसिम, स्थान तथा क्षेत्रअनुरुप फरक हुने गर्दछ । त्यसले पक्ष तथा विपक्ष दुवैका लागि फाइदाभन्दा बढी घातक नै हुने गर्छ । यसप्रकारका खराब हो–हल्ला प्रायः सबै क्षेत्रमा हुँदै आएको पाइन्छ । यद्यपि, ग्ल्यामर क्षेत्रमा भने यसको बढी हो–हल्ला हुने गर्दछ । सिनेमाको भाषामा भन्दा यसलाई स्क्याण्डल भन्ने गरिएको छ ।

चलचित्र क्षेत्रको स्क्याण्डलमा विशेषतः नायक–नायिका र निर्माता–निर्देशकसँग सम्बन्धित नै हुने गर्दछ । बढी मात्रामा यौनजन्य हो–हल्ला तथा चर्चा–परिचर्चा हुने गरिएको छ । ४० को दशकदेखि महिला कलाकारको मामिलामा यौनजन्य प्रस्ताव तथा ह्यारेसमेन्टका विषयमा बढी स्क्याण्डल हुँदै आएको देखिन्छ । अझ फिल्म क्षेत्र भनेपछि महिलाहरुका लागि सुरक्षित क्षेत्र मानिदैन । फिल्म खेल्न अनेक सम्झौता गर्नुपर्ने तथा निर्माता–निर्देशकका हरेक शर्त महिला कलाकारले मान्नुपर्नेजस्ता कुराहरु प्रकाशमा आउने गर्दछन् । जुन कुराहरुमा सीमा नाघ्न थालेपछि दुई पक्षमध्ये एक पक्षले पर्दाफास गर्दा स्क्याण्डल बन्ने गरेको छ ।

चर्को शोषण सहन नसकेर नै यसप्रकारका स्क्याण्डल बजारमा आउने गरेको पाइन्छ । यस्ता स्क्याण्डलमा पुरुष पात्रको भन्दा महिला पात्रको नै बढी आउने गरेको देखिएको छ । निर्माता तथा निर्देशकले महिला पात्रलाई फिल्म खेलाउनका लागि यौनको प्रस्ताव राख्ने र घुमाउरो पाराले आफ्नो गर्लफ्रेन्ड बन्नुपर्ने तथा रातबिरात घुम्न जाने अफर गर्नेजस्ता कुराहरु स्क्याण्डलका रुपमा चर्चामा आउने गर्दछ । चलचित्र निर्माण गर्नु कुनै पनि निर्माताका लागि सस्तो मनोरञ्जन अवश्य पनि होइन । लगानीअनुरुप त्यस्तो डब्बल कमाउने सिद्धान्तविपरीत निर्माताहरु यौनको तरंगमा फसेर स्क्याण्डल मच्चाइरहेको देखिन्छ । चलचित्रलाई राम्रो बनाएर मालामाल बन्नुभन्दा नायिकाको शरीरको पछाडि भौतारिने पाखण्डी निर्माताहरुका कारण नेपाली चलचित्र उद्योग पातालमा धसिँदै गएको छ । चलचित्र चलोस् या नचलोस् । नायिकाको शरीरसँग खेल्न पाएमा चलचित्रको व्यापारलाई बेमतलब नगर्ने निर्माताहरुकै कारण चलचित्र उद्योग बदनाम बन्दै गएको छ ।

गत हप्ता एक नायिका र निर्माताको स्क्याण्डलले नेपाली चलचित्र उद्योग नराम्ररी रंगियो । सायद–२ नामक नेपाली चलचित्रले भनेजस्तो व्यापार गर्न सकेन । नसक्नुमा यस चलचित्रका निर्माता सुनिल रावलले नयाँ कलाकारहरु भएको आरोप लगाए । नयाँ कलाकार लिएर चलचित्र निर्माण गर्नु खतरा रहेको र अबउप्रान्त नयाँ कलाकार लिएर चलचित्र निर्माण नगर्ने घोषणा गरेर घनघोर नयाँ कलाकारविरुद्ध विषवमन गरेको केही दिनमै उनै निर्माता रावललाई शोषकका रुपमा प्रस्तुत गरियो ।

नयाँ कलाकारलाई चलचित्र खेलाउने नाममा गर्लफ्रेन्ड बन्न बाध्य बनाउन खोज्ने र उसको अण्डरमा बसेर उसकै चाहनामा काम गर्नुपर्नेजस्ता रावलको कर्तुतको पर्दाफास नयाँ कलाकारबाटै भयो । रावल निर्मित चलचित्र सायद–२ की नायिका स्यारोन श्रेष्ठले त्यसप्रकारको घटिया प्रस्ताव तथा शोषण गर्न खोजेको पत्रकार सम्मेलन गरेरै खुलासा गरेपछि निर्माता रावलको असलियत छताछुल्ल बनेको छ । निर्माता रावल नायिका स्यारोनको यसप्रकारको आरोप झूटो भएको बताउँदै स्यारोनले आफूसँग माफी माग्नुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा स्यारोनले निर्माता रावलको शर्त नमानेकै कारण आफूले चलचित्र सायद–२ खेलेको पारिश्रमिक हालसम्म पनि पाउन नसकेको सार्वजनिक गरिन् ।

अब यस स्क्याण्डलले चलचित्र क्षेत्र जतिसुकै तडक–भडक तथा रंगीन देखिए पनि यसभित्र शोषण हुँदै आएको खुलासा भएको छ । अन्यायसँग लड्ने ताकत बोकेका नवकलाकारले सञ्चारमाध्यमसमक्ष आफूलाई परेको मर्का तथा चलचित्र खेल्दा आफूले झेलेको समस्यालाई बोल्नु अवश्य पनि झूटो हुन सक्दैन । निर्माता यसलाई पैसाको आडमा झूटो बनाउने कोसिस गर्दैछन् । नायिकाको इज्जतलाई बजारमा लिलाम गर्ने कोसिस हुनु र उल्टै नायिकाले माफी माग्नुपर्नेजस्ता बेतुकका कुराले पुरुषवादी हैकम प्रवृत्ति चलचित्र उद्योगमा अझै कायम रहेको यो स्क्याण्डलले प्रष्ट पारेको छ ।

Check Also

वेबसाइटमा मह

ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महको अफिसियल वेबसाइट पनि निर्माण भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *