Home / News / विचार / म डाक्टर पौडेल कि इन्जिनीयर जोशीको ?

म डाक्टर पौडेल कि इन्जिनीयर जोशीको ?

गोकुल ढकाल

सपना बोकेर उच्च शिक्षा हासिल गर्ने भनेर टन्टलापुर घाममा घैंया गोड्दागोड्दैको कुटो फ्याँकेर ‘हामी पनि हुइँकियौं बाबै, साझा बसैमा’ भन्दै राजधानी काठमाडौं हिँडियो । सानो कदको आफू, कहिल्यै लामो यात्रा नगरेको । चलेको बस पनि एकै ठाउँमा हल्लिरहेको जस्तो । मलेखुको बासी भात चाख्दै, बसबाट छाद्दै वीर अस्पताल झरियो । दुईचार दिन घुम्दै, सामाखुसी र गोंगबुतिर हराउँदै, कोठो पत्ता लगाउँदै रुमल्लिइयो, नेपाल शहरमा ।

दाजुहरुको सहयोगमा भाग्यवश ठमेलमा कुचो लगाउने जागिर खाने भाग्यमानीमा परें, म । सधैंं व्यस्त, सफा र अंग्रेजी गीत घन्कने ठमेल नजिकको क्याम्पस खोजियो । कोठो नजिकै, दिउँसो काम पनि गर्न पाइने, बेलुकी दश रुपैयाँमा मःमःले तुम्बो भरेर पढ्न पाइने । गुणस्तरमा खासै चर्चा नकमाएको तर राजनीति, ढुंगामुढा र आन्दोलनमा ठमेलका सिसाजडित दोकानहरु बन्द गराउन ब्ल्याक आउटका लागि चर्चित सरस्वती क्याम्पस प्यारो ठहरियो ।

१३ वर्षको उमेरमा नेपाल विद्यार्थी संघका संगठन प्रमुख, सबैका प्यारा, इमानदार गोरखाली नेता आदरणीय स्व. श्यामसुन्दर श्रेष्ठ दुईचार जना बोकेर रत्नराज्य निमावि (अहिले उच्च मावि, आफू पढेको विद्यालय) आए । चारतारा र नेविसंघको झण्डा देख्दैमा खुब राम्रो लाग्ने, आफूलाई । घरका भित्ताहरुमा हरियो रंगका कांग्रेसका पम्प्लेटहरु खुब टाँस्थें, म । दाजुहरु हाम्रो हेडमास्टरलाई भेट्न आउनुभएको रहेछ । सानैमा नाम सुनेको तर नदेखेको । वाकपटुता र चञ्चलतामा निकै अगाडि नेपाल पत्रकार महासंघ, गोरखाका दोस्रो पटकका वर्तमान सभापति एवम् रेडियो गोरखाका स्टेशन प्रमुख किशोरजंग थापाले नेविसंघ, स्कुल कमिटी बनाउने सल्लाह गरे । पढ्दै गरेको क्लास पिसाब फेर्ने बहानामा स्कुल परको घाटु नाच्ने चौतारीमा भेट्ने भन्दै समान उमेरका मेरा मित्र किशोर श्यामसुन्दर दाइलाई बोलाउन गए । संगठन, ऊर्जाशीलता र उत्प्रेरणाका पर्याय स्व. श्यामसुन्दर दाजुको उपस्थितिमा किशोर सभापति, सहपाठी मित्र यदुकुमारी बगाले उपसभापति र म सचिव सम्मिलित तीन सदस्यीय नेविसंघ, स्कुल इकाई बनायौं हामीले । आफूलाई चाहिं किन हो, सचिव पद साहै्र मन पर्ने ! स्कूलको स्काउटमा पनि सचिव, रेडक्रसमा पनि सचिव, नवनिर्मित संगठनमा पनि सचिव, आउने र पाउने भए जेमा पनि सचिव ।

त्यसो त मःमःको वासना, ठमेलको रमझम, स्कूलको राजनीति जोशले सरस्वती क्याम्पसमा सदस्य हुँदै छिट्टै सचिव भइयो, क्याम्पस इकाईको । २०५३–५४ सालतिर सरस्वती क्याम्पसमा नेविसंघ समर्थक भन्दा काटिने डर हुन्थ्यो । काटिने दुइटा पक्ष थिए, आफैं बुझुम् । इकाईको सचिव हुँदा सांसद भएझैं लाग्यो । रात्रिकालीन कलेज कमिटीको सभापतिको पनि जिम्मेवारी । दिनहरु त्यसरी नै बिते ।

राजनीतिक रुपमा मलाई सदैव बाटो देखाउने आदरणीय दाजु हेमराज भट्टको आग्रहमा तत्कालिक चिकित्सा संस्थान (शिक्षण अस्पतालका स्ववियु सभापति तथा नेविसंघका केन्द्रीय सदस्य डा. केशव पौडेललाई भेट्न महाराजगञ्ज पुग्यौं, हामी । इतिहासमा पहिलोचोटि हाम्रै कालमा नेविसंघले जितेको जोश र भर्खरै शिक्षण अस्पताल, चिकित्सा संस्थानका निर्वाचित सभापति भेट्ने अवसर । सम्भवतः त्यतिबेलै केशवका अगाडि डा. लेखेर काँधमा भुँडी नाप्ने तार भिरेका युवा पौडेलसँगको भेट लेख्यो भने ‘फेरि डा. पौडेलसँग एक हजार खुस्काएछ’ भन्छन् । जे भने पनि एक्काइस–बाइस वर्षदेखिको निरन्तर डा. पौडेलसँगको चिनजान र संसर्ग मेरा लागि ‘चाकडी’ कहिल्यै हुँदैन ।

परिस्थितिवश डा. पौडेल र म बबुरोको कर्मभूमि समान । त्यो चिनजान र दुबैको सक्रियताले अरु टाढा नभएजस्तै म पनि टाढा भइन । गत निर्वाचनसम्म उहाँको सहयोगी भएर काम गरेको गर्वका साथ भन्दछु । कसैका टाउका दुख्लान्, म प्रफुल्ल छु ।

लस एन्जलसका सक्रिय चर्चित युवा विश्व सुवेदी र समूहले यसै क्षेत्रमा आयोजना गरेको प्रथम नेप्लिज अमेरिकन कन्भेसनमा एकजना व्यक्ति भेट्न म व्यग्र थिएँ । सधैं नाम सुनेको, सफल व्यापारी रे । कसैलाई सोध्दा ‘खुल्ला मञ्च डट कममा भास्टिकाको विज्ञापन माग्न नम्बर माग्या’ भन्थे । साथीसँग मागेको नम्बरले चिना–परिचयका लागि मैले गरेको प्रथम पटकमै उनको फोन उठेको थियो । परिचय गरियो । टेक्सास निवासी चर्चित युवा नेता तथा नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारीमार्फत ती सफल व्यक्ति इन्जिनियर गौरीराज जोशीलाई भेट्ने अवसर मिल्यो । हात मिलाइयो, हल्का बात मारियो । त्यति त हुने हो । भास्टिकाको बिज्ञापनका लागि फुर्काएको होइन, भद्र लागे जोशी । सालिन, हँसमुखा लागे, जोशी । नम्र । एनएसटी सभापति आदरणीय कृष्ण लामिछानेको चर्चित थेगो ‘कूल’ लागे, जोशी ।

एनआरएनको साधारण सभा डालसमा नगिचियो, महान जोशी–बबुरो ढकाल सम्बन्ध । टेक्ससका समाजसेवी एवम् नेपाली जनसम्पर्क समिति, अमेरिकाका सल्लाहकार आदरणीय दाजु भुवन आचार्यसँगको चिनजानले अझै नजिक भयो, यो कूल, ती कूलसँग । जनसम्पर्क समितिको प्रथम साधारण सभा, भर्जिनियामा भेट भयो, जोशीसँग । प्रवास हो, सबैसँग तारमा, सञ्जालमा, भेटमा बात हुन्छ । सामान्य, केवल सामान्य । जहाँ–जहाँ ई. जोशीसँग भेट हुन्थ्यो, त्यहाँ सौभाग्यले डा. पौडेलसँग नभेटिने कुरै भएन, जो सप्ताहन्तमा न्यू मेक्सिको छोडेर अन्तै कुद्न चर्चित छन् ।

एनआरएन अमेरिकाको चुनावी हल्ला आयो । डा. पौडेल र ई. जोशीजस्तै सबै ठाउँमा म पुग्न मेरो घन्टे दैनिकी र बाध्यताले थोडी सम्भव छ ? बल्ल–बल्ल कतै उड्दा त ‘गौरी जोशीलाई टिकटमा पनि फसाउन भ्याएछ’ भन्छन् । त्यसैले हामीले पौडेल, जोशी, दुइटा पोखरेल र थापाहरुलाई भेट्ने म आफू घण्टा हान्ने आधार इलाकामा उनीहरु आए मात्र हो । त्यो पनि भारतीय मालिक साहुले बिदा दिए भने । नत्र लुकीलुकी कसैका लाइभ हे¥यो, चित्त बुझायो । भ्याइयो भने गयो । प्रवेश पास नचाहिने । जोशी आए भने र मेरो फोनमा ब्याट्री छ भने ‘पत्रकार पल्टिन’ लाइभ हान्दिन्छु । मन लागे पत्रकार बनिटोपलेर केही प्रश्न सोधिदिन्छु ।

अस्ति डा. पौडेल आए । ‘मेरा अर्जेन्ट काम छ है सर भनेको भइया मालिकले चार घण्टाको बिदा दिए । १५ मिनेटको लाइभ हानियो । एकाध समाजसेवीहरुले आरोप लगाउनेजस्तो ‘मासु–भात’ बजाइयो, आइयो । भोलि रबिना थापा आउने र बिदा मिले गइन्छ । मोबाइल पहिले नै चार्ज गरिन्छ, कसैले हेरुन्–नहेरुन्, लाइभ ठोकिन्छ, मासु–भात बजाइन्छ । धन्न साउने सोमबार परेन, नपरोस् । नत्र मासु लिने गरेको छैन, व्रत रे, व्रतले । केही दिनमा पोखरेलजीहरु आउने अरे, हाम्रो आधार इलाका । त्यसमा पनि जसोजसो जान्या छ, त्यस्तै गरिन्छ ।

भोट भन्या के हो ?

आफूलाई मन परेको व्यक्तिलाई नितान्त गोप्य रुपमा गरिने ‘मनदान’लाई मतदान वा भोट भनिन्छ । पञ्चायतकालमा काला कोट र पहाडमा लगाउने जस्तो भोटमा बिकेर गरिने मनदानलाई मतदान भनिंदैन । दुर्गम भेगमा जनता झुक्याउन राँगा काटेर भोट माग्ने जमाना छैन । सबैका विवेकले फुर्सदमा सोचेर मनले गरिने दान हो, मतदान ।

मःमः, राजनीति, चिनजान, सहयोग र विज्ञापनका कुराहरुले भूमिका लामो बनाएँ, मैले । तर, मैले सान्दर्भिक ठानें । मेरा नितान्त व्यक्तिगत विचार  राखें । यही सिलसिला एनआरएन, अमेरिकाको चुनावको जोड–घटाउमा छ । चुनावमा को राम्रो बोल्छ, को धनी, कसले पढेको र कोबाट झर्ला भन्दा असल काम गर्न सक्ने उम्मेदवारको सदैव जित हुन्छ, प्रजातान्त्रिक पाराबाट गरिए । वाकपटुता, खुराफात र ‘टाउके’ ठेकेदार तोक्नेभन्दा जसका समर्थनमा जनताका बढी टाउका छन्, उसैले चुनाव जित्छ ।

डा. पौडेलले नेपालका घाउ निको पार्न मल्हम बोकेर उडेको पनि बिर्सनु हुन्न । जोशीले समुदायका हरेक जग्गामा गरेको सहयोग पनि बिर्सनु हुँदैन । पोखरेलहरुको निरन्तरता र योजनाहरुलाई पनि इज्जत गर्न सक्नुपर्छ । थापाको अडानको पनि उचित सम्बोधन गर्न सक्नुपर्छ । यी सबै उम्मेदवारहरुको नापतौल गर्न तपाईं–हामीले गर्ने ‘गोप्य मनदान’लाई भोट भनिन्छ ।

मेरो भोट कसलाई ?

जसलाई यो मनले सही ठान्छ, त्यसलाई मेरो भोट । डा. केशव पौडेलसँगको लामो चिनजान पनि हुनसक्छ, मेरो भोट । ई. गौरीराज जोशीसँगको सम्बन्ध पनि हुनसक्छ, मेरो भोट । रविना थापासँगको भाउजुको नाता पनि हुनसक्छ, मेरो भोट । कृष्ण पोखरेलसँग ठमेलदेखिको उठ्बस् पनि हुनसक्छ, मेरो भोट । सफल साधारणसभा सम्पन्न गरेका रामसी पोखरेलको लगाव पनि हुनसक्छ, मेरो भोट । यस्तो लेखाजोखा गोप्य छ र यसरी चुनिने प्रक्रियालाई चुनाव भनिन्छ । मेरा राजनीतिक संग्लनता, केही गर्न नसके पनि सामाजिक संस्थाहरुका उठ्बस्, थोरै जानेजस्तो गरेको पत्रकारिता, स्थानीय उम्मेदवारहरु, हितैषी मित्रहरु, आफन्तहरुलाई अवश्य यो मनले ‘लायक’ ठान्नेछ । यो भन्नलाई ‘उम्मेदवारहरुसँग पैसा’ माग्ने नाटक गर्नै पर्दैन, आरोपी हुनुपर्दैन ।

तर, यहाँं खेल उल्टो छ । म जस्तै छन्, सबै । सबका एक भोट छन् । तर, कसैसँग १० जना भए पाँच सय, २० भन्दा माथि भए हजार, १ सयदेखि २ सय भए ५ हजार, २ सयदेखि ५ सय छ भन्न सके १० हजार र आधार इलाकै उल्टाइदिन सक्छु भन्न सके २५ हजारसम्म रकम पोखिएका प्रशस्त उदाहरण छन् । बेला आए, लेखुम्ला । सोमबार व्रतमा कसम खाएर भन्छु, कुनै माइकालालले भन्दैमा १० त के ५ भोट पनि दबाबमा कसैले हाल्दैनन्, नक्कली मतदाता नबनाए । दुनियाँलाई जगजाहेर यो ध्रुवसत्यमा समाजमा एकअर्कालाई ‘आधार इलाका कमाण्डर देख्ने रोग’मा उम्मेदवारहरु किन नतमस्तक छन् चाकडीमा, सुन्दैमा दङ्ग लाग्छ ।

यो छापे यति, यो राख्दिए यति, अन्तरवार्ता लिए यति, कार्यक्रम चलाइदिए यति, कार्यक्रम चलाउन अर्कै राज्यबाट आए झन् यति, दिनदिनै केही न केही लेखिदिए यति, यति लाइक गरे यति, यति शेयर गरे यति त यस्तो लेखिदिए यति । पत्रकारिता ! एनआरएनजस्ता चाडपर्व सधैं आइरहोस् । हे नारान भनेर दिनदिनै नारानलाई धुप हाल्ने पनि छन्, पत्रकारितामा लाग्नेहरु । जसको जोहो यी यस्तै चाडहरुले मात्र चल्दछ । उनीहरुलाई यस्ता मुद्दा, काण्ड र चुनावरुपी चाडहरु लम्बिदिए राम्रो, नयाँ–नयाँ शीर्षक पाइने, अरु पाइने त मोलमोलाइमा ।

अन्त्यमा, भोट र कोटका लागि मान्छेले आफू संलग्न संस्थाको इमान सम्झँदैनन् । हिजो गरेको समर्थन छोडिदिन्छन् । रातारात गुट सिर्जना हुन्छ । उपगुट क्षणभरमै बन्छन् अनि भरौटे बनेर समाजवाद, जनवाद, न्याय र इमानका भाषण ठोक्छन् । उम्मेदवारहरुलाई यी कुराको राम्रो ज्ञान छ । दीनबन्धु पोखरेलले महापुराण सुनाए जस्तो कसैलाई नैतिकता, संलग्नता र बफादारिताको लेसन सिकाउन यो कलम चलाएको होइन ।

मान्छे हो, कमजोरी हुन्छन् । कमजोरीलाई आत्मसात गर्नेले जित्दछ । त्यो जित्नेलाई मसँग भएको सिर्फ एक भोट दिनेछु । आधार इलाकाको कमाण्डिङ गर्ने मेरो हैसियत छैन । प्रजातन्त्रवादीलाई मेरो भोट । सबैलाई शुभकामना ।

gokulvivas@gmail.com

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *