Home / News / विचार / अमेरिकी नेपाली डायस्पोरामा जन्ती र मलामी बहिष्कारको खतरा

अमेरिकी नेपाली डायस्पोरामा जन्ती र मलामी बहिष्कारको खतरा

डा. अविन ओझा

एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै गर्दा जे–जस्ता दृश्यहरु देखिएका छन्, यसले अमेरिकी डायस्पोरामा नेपालीहरुबीच कस्तो किसिमको सम्बन्ध छ भन्ने कुराको विश्लेषण गर्नु सान्दर्भिक लाग्यो । स्वदेशमा रहँदा राजनीतिक विचार, सामाजिक विभाजन र सांस्कृतिक संस्कार एवम् भूगोल र क्षेत्रको आधार नेपाली समाज विभक्त भई वाक्कदिक्क भइरहेको परिप्रेक्षमा ‘घरै पिँडालु, बनै पिँडालु, ससुराली जाँदा बाह्र हातको पिँडालु’ भनेजस्तो महसुस हुन थालेको छ । सात समुन्द्रपारिको प्रवास, जहाँ भावनाको नेपाल छ भन्ने गरिन्छ । हरेक नेपालीहरुबीच भाइचाराको सम्बन्ध कायम हुन्छ र हुनु पर्दछ भन्ने गरिन्छ । तसर्थ, यहाँ अन्य विषयहरुले स्थान पाउँदैनन् र पाउनु पनि हुँदैन भन्ने आशा र विश्वास गर्नु स्वाभाविक हो । विडम्बना, प्रवासमा आज जस्तो परिस्थिति सिर्जना हुँदै गएको छ या सिर्जना गरिंदैछ जे भए पनि यो दृश्य निकै भयावह देखिन्छ । समुदाय, समाज र हरेक व्यक्ति विखण्डित पार्ने प्रयत्न हँुदैछ । २ करोड ८० लाखको आवादी भएको मातृभूमिमा भन्दा बढी राजनीतिगत एवम् जातिवर्गवादी विभाजन भेटिदै गएको छ २ लाख ६० हजारको हाराहारीमा नेपाली रहेको मानिने कर्मभूमि अमेरिकी डायस्पोरामा । मूलतः प्रवासमा नेपालीहरुको सुख–समृद्धिको साथी र दुःखको सारथिका निम्ति खोलिएका भनिने संघ–संगठन र संस्थाहरु र तिनीहरुका अगुवा तथा स्वघोषित मसिहाहरुको गतिविधि तथा क्रियाकलापले नेपाली समुदायलाई जुटाउनुभन्दा फुटाउँदै लगेको देखिन्छ ।

प्रसंग सुरु गरौं एनआरएन अमेरिकामा निर्वाचन नजिकिँदै गर्दा अहिले देखिंदै गरेका दृश्यहरुबाट । एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि नेतृत्व दौडमा पौडेल, जोशी, थापा र पोख्रेलका समूहहरु चुनावी मैदानमा होमिएका छन् । राजनीतिशास्त्रको सैद्धान्तिक व्याख्यामा प्रजातान्त्रिक प्रणालीअनुसार नेतृत्वको प्रत्यासीमा यति धेरैको उम्मेदवारी पर्नु निकै सुन्दर मानिन सक्दछ । तर, प्रवासमा नेपाली डायस्पोराको निम्ति यो कति आकर्षक हो ? फलानो राजनीतिक दलको समर्थन, फलानो दलको पनि ढिस्कानो समूहको चाहिं उसलाई समर्थन । यो संघको समर्थन, त्यो संगठनको समर्थन । यस्ता खबरहरु दैनिकजसो छापामा छरिएका छन् । सुनिन्छ चिया गफमा यिनीसँग यति मत, तिनीसँग त्यति मत ? यसको अर्थ के हो ? के अमेरिकी नेपाली डायस्पोरा वास्तवमा त्यति कमजोर छ ? जसलाई जहाँ मतदान गर भन्यो त्यही ल्याप्चे लगाउने ? के डायस्पोराको हरेक नेपाली आफ्नो स्वविवेक प्रयोग गर्न सक्षम छैन्न र ? प्रवासमा सिर्जना गरिएका त्यस्ता समूह र ती समूहहरुका स्वघोषित मठाधिशहरुका कारण समाजमा विभाजनको धाँजा यति फराकिलो किसिमले फाटिसकेको छ कि कुनै दिन कसैका जन्ती र मलामी जानुपर्ने विषयमा समेत यी समूहहरुका छिटा पर्ने सम्भावना बढेको छ ।

यस्तो खालको अस्वस्थ राजनीतिले जबसम्म प्रश्रय पाउँछ, तब प्रवासमा नेपाली एकता सायदै सम्भव हुनेछ । यसप्रति सोच्ने कसले ? गजबको कुरा के देखियो भने उम्मेदवारी दर्ताअगावै प्रेसिडेन्सियल डिबेटका नाममा पे्रसिडेन्टका आकांक्षीहरुलाई एउटै फ्लोरमा ल्याउन तँछाडमछाड गरियो । तर, आज निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरिसक्यो, आधिकारिक प्रेसिडेन्टका उम्मेदवारहरुलाई एउटै मञ्चमा ल्याउने कार्यक्रम गर्ने तदारुकता देखिँदैन । एनआरएनएलाई रणभूमि बनाई अमेरिकामा नेपाली एकता तोड्नेभन्दा पनि एउटा साझा संस्थाका रुपमा स्थापित गराई नेपाली एकता कायम राख्ने हिसाबले अगाडि बढ्ने हिम्मत सबैले राख्नु पर्दछ  । यसका निम्ति एनआरएन अमेरिकामा केही नीतिगत र संस्थागत सुधारहरु जरुरी छन् । आज नेतृत्वको दाबी गर्दै निर्वाचन प्रक्रियामा होमिने जति पनि अगुवाहरु छन् । भोलि निर्वाचनको प्रक्रियामा जे–जस्तो परिणाम आए पनि त्यसलाई स्वागत गर्दै संस्थाको सुधार र डायस्पोराको एकताका लागि एक ढिक्का हुनुको विकल्प देखिँदैन । एनआरएनजस्तो पवित्र संस्थालाई सबै किसिमको रंगरहित साझा संस्था बनाउनु नै आजको चुनौती हो ।

सन्दर्भ बदलौ मूलधार राजनीतितर्फ । हो, हामी जति पनि प्रवासमा छौं, नेपालको मेनस्ट्रीम राजनीतिप्रति पक्कै पनि आस्था राख्दथ्यौं, राख्दछौं । यो कर्मभूमिमा त्यो राजनीति अब कति आवश्यक ? राजनीतिक आस्थाका आधारमा गरिने आग्रह–पूर्वाग्रह कति जायज ? यहाँ जति पनि राजनीतिक पार्टीका भ्रातृ सघसंगठनहरु छन्, तिनीहरुको औचित्य के ? यसो भन्नुको आशय प्रवासमा नेपाली राजनीतिका भ्रातृ संगठन अब जरुरी छैन भन्ने होइन । प्रसंग यो हो कि, यस्ता संघ–संगठनले प्रवासी नेपालीलाई कसरी समेट्ने ? डायस्पोरमा समृद्ध नेपाली समाजको परिकल्पना कसरी गर्ने ? प्रवासमा हामी सधैं नेपालको मेन स्ट्रीमको राजनीतिक विचारका आधारमा लडिरहने कि अमेरिकी मेनस्ट्रीमको राजनीतिमा उपस्थितिका लागि जुट्ने ? यस्ता अहम् मुद्दाहरुमा जबसम्म प्रवासी संघसंगठनको स्पष्ट दिशा र उद्देश्य हँुदैन, तबसम्म प्रवासमा यस्ता भ्रातृ संघसंगठनहरु अस्तित्वमा रहे तापनि औचित्यविहीन हुनेछन् । सायद आज ती संस्थाहरुले गुटगत राजनीति गर्ने, प्रावसमा नेपालीलाई ट्याग लगाई विभाजन गर्ने र व्यक्तिगत लाभको लालचभन्दा माथिका कार्यहरु अति कम सम्पादन गरेका होलान् । मातृ संघसंगठनका नेताहरुको स्वागत, सत्कार र प्रवचन गर्ने मञ्चभन्दा माथिको साेंचसहित लक्षित कार्यक्रम साथ अगाडि बढ्न अब ढिला गर्नु हुँदैन । यस्ता राजनीतिक भ्रातृ संगठनहरु अमेरिकाको राजनीतिमा नेपालीको प्रवेश गराउन कोसे ढुङ्गा साबित हुन सकुन् । तब मात्र प्रवासमा यस्ता संघसंगठनको औचित्य पुष्टि हुन्छ ।

अन्त्यमा, आज प्रवासमा जति पनि जाति, समुदाय या क्षेत्रविशेषका आधारमा समाज या संस्थाको परिकल्पना गरिएका छन्, स्थापना भएका छन् । यसका कारण वा उद्देश्यहरु अनेक होलान् तर महत्वपूर्ण कारण भनेको सबैले स्वीकार्ने र सबैलाई समेट्ने भनिएका साझा समाज या संस्थाहरुको असक्षमता र तिनीहरुप्रति आम अविश्वासको अभाव हो भन्दा फरक नपर्ला । सामाजिक गतिविधि बढ्नु पहिचानका हिसाबले निकै उत्पादक मानिन्छ तर सामाजिक सम्बद्धताको हिसाबले एकता होइन विभाजनको सन्देश दिन्छ । यो संख्यात्मक वृद्धि कति ठीक–बेठीक यसको बहस नगरौं । प्रवासमा अस्तित्वमा रहेका सबै राजनीतिक, गैरराजनीतिक र जाति एवम् समुदायगत संघ–संगठनहरुको एकल एजेण्डा समग्र नेपाली समुदायको हित र समृद्धि हुनुपर्दछ । यसका निम्ति ग्रुपिज्म, इगोइज्म र पावर सेन्ट्रिज्मजस्ता गलत विचार र अभिष्टहरुभन्दा उदारवादी चिन्तन एवम् सकारात्मक सोचका साथ सबैको समृद्धिमा नै आफ्नो प्रगति भन्ने प्रगतिशील भावनासहित अगाडि बढ्न तयार हुनुपर्दछ । आज अमेरिकी डायस्पोरामा नेपालीहरुको आर्थिक समृद्धि, सामाजिक सम्बद्धता र सांस्कृतिक पहिचान स्थापित गर्दै अमेरिकाको मेन स्ट्रीम राजनीतिका लागि दिशा निर्देश गर्नु नै हाम्रा लागि चुनौतीपूर्ण अवसर हो । यसका लागि सम्पूर्ण नेपालीहरु फुटेर होइन जुटेर लाग्नुको विकल्प छैन ।

abinojha@gmail.com

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *