Home / News / प्रवास / जात्रा देखाउने गोरु, बदनाम गाईको

जात्रा देखाउने गोरु, बदनाम गाईको

योगेश आदी (Yogesh Aadi)

गाईजात्राको सिजनमा बिना रिजन सिल्ली भिजनको पनि चर्चा हुन्छ । थुप्रै देशहरुमा ‘अप्रिल फूल’ दिन मनमा लागेको भडाँस पोख्छन् । नेपालमा पनि अन्य देशमा जस्तै गाईजात्राको अवसरमा छेडछाड, हास्यव्यङ्ग्य, झाँकी इत्यादि मनग्ये चल्दछ । नेपालीहरु जहाँ पुगे पनि आफ्नो परम्परालाई छोड्न चाँहदैनन्, हुँदैन । अमेरिकी नेपाली डायस्पोरामा पनि अहिले गाईजात्राको माहोल बनेको छ– एनारने गाईजात्रा । बिना रिजन सिल्ली भिजनको पनि चर्चा भएकाले यसलाई गाईजात्राको संज्ञा दिएको हुँ । वास्तवमा भन्ने हो भने हाल अमेरिकी नेपाली समाजमा लैंगिक हिसाबमा गाईको नाममा अधिकांश गोरुहरु जात्रामा हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

घरकी श्रीमतीलाई बेबीसिटर, नङ्गिनी (नङ घोट्ने काम), भुत्ली (भुत्ला थुत्ने काम), कान्छी (अरुको घरमा चुलाकोठा सफा गर्ने) इत्यादि काममा पठाएर आफू टाईसुटमा ठाँटिएर एनआरएनको फ्लायर फेसबुकभरि बाँडेर दिन बिताउँछन् । कोही हप्ताको ६ दिन ‘अपान वायु’ फुत्किने गरी रेष्टुराँमा यत्रो चाङ प्लेट उठाएर, कोही हप्ताको ६ दिन दैनिक १२ घण्टा फिलोमा पसिना आउने गरी गाडी कुदाएर, कोही हप्ताको ७० घण्टा तिघ्रा थर्थरी कामुन्जेल उभिएर सेक्युरिटी गार्ड बन्दै, कोही ग्रोसेरी स्टोर वा पेट्रोल पम्पमा घुँडाको छाला जानेगरी सोडा, चिप्स मिलाएर, कोही हाम्रा गाउँमा गोप्ते काजीले जस्तै चिया–चुरोट–चमेना पाउने खुद्रा पसल थापेर, कोही ९ जना मिलेर रेष्टुरेष्ट खोलेर मालिक हुँ भन्ने आत्मरती लिँदै, कोही घरजग्गा जागिर अपार्टमेन्टको दलाली गर्दै, कोही ढाड कटक्क हुन्जेल एउटा सफ्टवेयरमा डाटा हाल्ने काम गरेर आफूलाई कम्प्युटर इन्जिनियर मान्दै, कोही ४२ दिन सीएनए पढेर म नर्स हुँ भन्दै, कोही फर्म भर्ने काम गरेर म वकिल हुँ भन्दै, कोही अनलाइन ब्लग चलाएर म पत्रकार हुँ भन्दै, कोही दुइटा गीत गाएर म कलाकार हुँ भन्दै नेपालमा भएका जोरीपारीलाई फेसबुकमार्फत कनिकुथी सान देखाउनलाई एनारेन नामक चुनावमा होम्मिएका छन् ।

हुन त मलाई लुतो न कन्याई अनि हट न डष्ट (तात्तो न छारो)– तैपनि गाईजात्राले यति भन्ने हिम्मत जुटाइदिएकाले केही उम्मेदवारसँग ‘किन ?  के नाप्छु भनेर यो पाङ न पुच्छरको एनारेनमा होम्मिएको ?’ भनेर प्रश्न सोधेको थिएँ । उनीहरुको जवाफ जस्ताको तस्तै—

उम्मेदवार नं. १— हुन त नेपाली १ लाख रुपैयाँबराबर पैसाको उम्मेदवारी दर्ता गर्दा नै हात नकाँपेको होइन, घरकीले अझै पैसा परेको छैन भन्ठानेकी छिन् । आज मेरो जन्मदिन परेकोले म ढाँट्न चाहन्न । मैले अमेरिकाको कलेज पढ्दाको ५० हजार डलर जति विद्यार्थी ऋण तिर्न बाँकी छ । पोहोर साल लेखासम्बन्धी धुरन्धर तिकडम जानेको एउटा साथीले त्यो ऋण चुक्ता गर्न कि तँ गरिब बस्तीमा गएर केही वर्ष पढाएर बस्, कि त अमेरिकी आर्मीमा भर्ना हो, हैन भने आईआरएसको कर दायरामा नपर्ने ५०१ सी (थ्री) अनुसारको नाफारहित संस्थामा २ वर्ष काम गरेको प्रमाण पेस गर भन्यो । मलाई पढाउन फुट्टीभाङ आउँदैन, आर्मीमा जाउँ भने अमेरिका आएपछि साथीभाइको श्रीमती फुतुफुतु गायब भाको देखेर पुतली जस्ती श्रीमती अर्कैले उडाइदेलान् कि भन्ने पिर लाग्छ । लास्टाँ, त्यो ५०१ सी अन्तर्गत अलि ठूलो खैरेले पत्याइहाल्ने संस्था यही रहेछ अनि बल्छी फ्याँक्देको नि !

उम्मेदवार नं. २— यस्सो मिलाएर लेख्दिने भए तपाईंलाई सबै कुरा साँचो भन्छु । नेपालबाट छात्रवृत्तिमा अमेरिका पढ्न आएँ, ४ वर्षको पढाइ बल्ततल्ल ९ वर्षमा पूरा गरें । त्यसपछि नेपाल फर्किनै मन लागेन । के गरुँ–के गरुँ भैराकोथ्यो, त्यै बेला मैले पैला काम गरेको इण्डिएन साहुले ‘अलिकति पैसा हालेर पार्टनर बन अनि त्यो स्टोरमा काम पनि गर’ भन्यो । सरसापट गरेर त्यसै गरें, त्यो इन्डियनलाई स्टोर बेच्नै पर्ने बनाइदिएँ अनि आफूले अर्को खोलें । पैसा कमाउन थालेपछि यहाँ आएपछि मनै नपर्ने नेपाली समुदायसँग नजिक हुन मन लाग्यो अनि यस्सो नेपालमा केही सान हुन्छ कि भनेर एक ट्राई मारेको नि !

उम्मेदवार नं. ३— म नेपालमा स्कूलदेखि नै राजनीति गरिराखेको मान्छे । खरो बोल्छु तर ढाँट्दिन । बेलाबेलामा खादाले गर्दनमा छोएन भने मलाई डिप्रेसन हुन्छ । अमेरिका आएपछि घण्टै हानेर भए पनि दुईचार पैसा जोरजाम गरियो । नेपाली नेताहरु अमेरिका आउँदा उनीहरुसँग बसेर खिचेको फोटो हेरेर मेरो कलेजका साथीहरु र गाउँका नाताकुटुम्बले गर्व गर्छन् । नेपाल जाँदा आफ्नै भाइहरुलाई खादा र फूलको गुच्छा लिएर एयरपोर्टमा आईजो भनेर भन्दा–भन्दा भाइहरुकै अगाडि लाज हुने भैसक्यो । बरु यस्सो एनआरएनको ‘फलानो रे’ भन्ने बन्न पाइयो भने उताका आफन्तहरुलाई पनि मलाई चिनाउन सजिलो हुन्छ भनेर हो खासमा !

उम्मेदवार नं. ४— खोइ, के भन्नु तपाईंलाई । बूढीले खैरेको बच्चा हेरेर राम्रो पैसा कमाउँछ । मैले पनि ख्यालख्यालैमा व्यापार गरेर पैसा कमाएँ । यता करमा छुट हुन्छ भनेर नेपालमा अलिअलि चन्दा दिएको थिएँ, सबैले मलाई समाजसेवी पो भन्न थाले । अरुको नमस्ते खाने बानी बस्नु भनेको साँझमा दारु तानेको जस्तै रहेछ, नपाएको दिन आफ्नै अनुहार देखे पनि रिस उठ्ने । अब त मलाई लाइम लाइटमा रहिरहनुपर्छ । यो एनआरएनले केही नगरे पनि आफ्नै पैसा हालेर भए पनि अमेरिका घुमीघुमी सबैको नमस्ते खान पाइने रहेछ । अब यो चुनावको मुखमा मैले ३ हजार डलर जतिको सदस्यता बनाएको छु । कसो नजितिएला ?

ygshdngl@yahoo.com

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *