Home / News / प्रवास / मन्दिर निर्माणार्थ न्यूयोर्कमा महापुराण

मन्दिर निर्माणार्थ न्यूयोर्कमा महापुराण

न्यूयोर्क । न्यूयोर्कस्थित आप्रवासी नेपालीहरुको प्रतिनिधि संस्था रिजउड नेप्लिज सोसाइटीले दोस्रो पटक न्यूयोर्कमा श्रीमद् भागवत् महापुराण गर्ने भएको छ । मन्दिर निर्माणार्थ सोसाइटीले सहयोग जुटाउने हेतुले महापुराण आयोजना गर्न लागेको हो । आगामी अगष्ट २३ तारिख बुधबारदेखि २९ तारिख मंगलबारसम्म स्थानीय सत्यनारायण मन्दिरमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले महापुराण वाचन गर्ने गत शनिबार ज्याक्सन हाइट्समा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोसाइटीले ७ वर्षअगाडि न्यूयोर्कस्थित कुइन्समा वाचन प्रवीण पोखरेलद्वारा नै वाचन गरेको महापुराणबाट संकलित रकमले जग्गा खरिद गरेको थियो । यस पटक पनि सोसाइटीले मन्दिर निर्माण गर्न पनि महापुराणकै बाटो अवलम्बन गरेको हो । अगष्ट अन्तिम हप्ता आयोजित महापुराणका लागि सोसाइटीले संयोजनको जिम्मा व्यवसायी राजेश भट्टलाई दिएको छ भने सोसाइटीले १००८ सदस्यीय मूल समारोह आयोजक समितिसमेत गठन गरेको छ ।

सन् २०१० मा आयोजित महापुराणबाट ४ लाख अमेरिकी डलर सोसाइटील सहयोग संकलन गरेको थियो । यस पटकको महापुराणबाट १० लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । महापुराणपूर्व नै सोसाइटीले ३१ जना भक्तालुहरुको सूची तयार गरिसकेको छ । जसले ५ हजार अमेरिकी डलरभन्दा माथि सहयोग गर्ने बताइएको छ । महापुराणमा १० देखि १५ हजार भक्तालुको आउने अपेक्षा गरेको बताउँदै पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रविकिरण कोइरालाले भने– ‘हामीले करिब १५ हजार भक्तालु अपेक्षा गरेका छौं । महापुराणका लागि हाम्रो खर्च ४० हजार अमेरिकी डलर वरिपरि हुनेछ । तर, यस पटक पण्डित पोखरेल अमेरिकामै भएको हुँदा हवाई टिकटलगायतका अन्य खर्च नहुने भएकाले पनि महापुराण आयोजना गरेका हौं ।’

न्यूयोर्क, कुइन्सस्थित ४ लाख ३९ हजार अमेरिकी डलरमा जमिन किनेर अलपत्र छाडेको सोसाइटीले महापुराणलगत्तै मन्दिर निर्माण प्रक्रिया अगाडि बढाई २ वर्षभित्र मन्दिर तयार गरिसक्ने जनाएको छ । सन् २००३ मा स्थापित रिजउड नेप्लिज सोसाइटीले वर्षैभरि पर्ने हिन्दू चाडपर्वहरुलाई प्राथमिकताका साथ मनाउँदै आएको छ भने बुद्ध पूर्णिमालगायतका पर्वहरुलाई पनि समेट्ने गरेको छ । नेपालीभाषीहरुको बाक्लो बस्ती रिजउडमा संस्थाले कोठाभाडामा लिएर देवी मन्दिर सञ्चालन गर्दै आएको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *