Home / News / विचार / एनआरएन अमेरिका र विद्यार्थीको सदस्यताको प्रश्न

एनआरएन अमेरिका र विद्यार्थीको सदस्यताको प्रश्न

शरद पोखरेल

एनआरएन अमेरिकामा पछिल्लो सन् २०१५ को चुनावताका जस्तै यो पटक पनि सदस्यता वितरण व्यापक अनियमियता भएको जनगुनासो आएको छ । अध्यक्षलगायतका उम्मेदवारहरुले पैसाको खोलो बगाई सदस्यता वितरण आफ्नो पक्षमा बनाएको समाचार बाहिर लगातार आइरहेका छन् । यसबारेमा सामाजिक सञ्जालहरुमा विभिन्न टीका–टिप्पणीहरु पनि देखिन्छन् । आ–आफ्नो भोट बैंक बलियो बनाउन उम्मेदवारहरुले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई पनि राम्रै उपयोग गरेको समाचारहरु पनि आएका छन् ।

नेपालबाट अमेरिका पढन आउने विद्यार्थीको संख्या उल्लेख्य छ । संसारबाट अमेरिका पढ्न आउने विद्यार्थी संख्याका आधारमा नेपाल सातौं नम्बरमा पर्छ । इन्टरनेशनल एजुकेशन एक्सचेन्जका अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा ६५ हजार ९ सय ८३ नेपाली विद्यार्थी अमेरिका आएका छन् । विभिन्न आधिकारिक तथ्याङ्कहरुलाई केलाउँदा पनि अमेरिकामा नेपाली विद्यार्थीको संख्या ठूलो छ ।

अमेरिकामा नेपालीहरु रहने वैधानिक आधार धेरै छन् । त्यसमध्ये विद्यार्थी भिसा पनि एक हो । अन्य वैधानिक आधारमा आएका नेपालीभन्दा विद्यार्थी भिसामा आएका नेपाली यहाँ आर्थिक रुपले निकै सताइएका हुन्छन् । प्रायसः विद्यार्थीहरु कडा परिश्रमबाट मात्र अमेरिकामा आफूलाई स्थापित गर्छन् । हुन त यस्ता विद्यार्थीहरुलाई परेका अप्ठ्याराहरु सुल्झाउने संस्थाहरु यता बग्रेल्ती नभएका हैनन् । तर, एनआरएन अमेरिकामार्फत यस्ता विद्यार्थीलाई परेको सहयोग गर्न भने गाह्रो छ । किनकि यस्ता विद्यार्थीहरु कानूनतः एनआरएन हुन सक्दैनन् ।

कानूनका आधारमा विश्लेषण गर्दा विदेशमा बस्दैमा सबै नेपाली एनआरएन हुन सक्दैनन् । विद्यार्थीहरुको हकमा पनि त्यही नियम लागू हुन्छ । नेपाल सरकारको कानून, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को विधान र अमेरिकी एनआरएनको विधानले स्पष्ट रुपमा विद्यार्थी एनआरएन हुन नसक्ने बारेमा बोलेको छ ।

नेपाल सरकारको २०६४ को सरकारी ऐन

नेपाल सरकारले २०६४ को राजपत्रमा प्रकाशित गैरआवासीय नेपालसम्बन्धी ऐन २०६४, दफा २ को ‘ग’ मा निम्न अवस्थाका नेपालीहरुलाई एनआरएन मान्न सकिँदैन भनी स्पष्ट किटान गरेको छ । जस अनुसार ः

क) सार्क राष्ट्रहरुमा बस्ने नेपालीहरुलाई एनआरएन मानिँदैन ।

ख) नेपाल सरकारबाट खटिई विदेशस्थित कूटनीतिक नियोग वा महावाणिज्य दूतावासमा काम गर्ने बहालवाला नेपालीहरु ।

ग) विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका नेपाली नागरिकहरु ।

यसरी सरकारी ऐन २०६४ बाट नै विद्यार्थी एनआरएन हुनबाट बन्देज लगाइएको छ ।

गैरआवासीय नेपाली संघको विधान (संशोधनसहित–२०१३)

सन् २००३, लण्डनमा आयोजित गैरआवासीय नेपालीहरुको भेलाले गैरआवासीय नेपाली संघको विधान पारित गरेको थियो । प्रस्तुत विधानले पनि विद्यार्थी एनआरएन हुने ढोका बन्द गरेको छ । जसअनुसार यस विधानको परिच्छेद २ को दफा ५ को परिभाषाअन्तर्गत उपदफा ५.१. मा सार्क राष्ट्रहरुमा बस्ने नेपाली, नेपाली सरकारबाट विदेशस्थित कूटनीतिक नियोग, महावाणिज्य दूतावासमा काम गर्ने बहालवाला नेपाली र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका नेपालीलाई एनआरएन मान्न नसकिने उल्लेख गरेको छ । त्यस्तै, उक्त विधानको परिच्छेद ४ कै दफा ७ को उपदफा ७.१ को साधारण सदस्यताको हकमा पनि विद्यार्थीहरु एनआरएन हुन नसक्ने उल्लेख छ । त्यसबाहेक, परिच्छेद ४ कै दफा ८ को ‘सदस्यताका लागि योग्यता’मा पनि विद्यार्थीहरु एनआरएन हुन नसक्ने बताइएको छ ।

यसरी एउटै विधानको विभिन्न ठाउँहरुमा विद्यार्थीहरु एनआरएन हुन नसक्ने भनी पटक–पटक उल्लेख गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एघारौं संशोधन, विधान)

सन् २०१७, फेब्रुअरी शुक्रबार जारी राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको एनआरएन एघारौं संशोधन, विधानले पनि विद्यार्थी एनआरएन हुने हकलाई बन्देज लगाएको छ । उक्त विधानअन्तर्गत एनआरएन अमेरिकाको सदस्यतासम्बन्धी नीति उल्लेख छ । विधानमा एनआरएन हुन चाहिने योग्यताअन्तर्गत १.३.४ मा ‘सार्कबाहेकको मुलुकमा कम्तीमा दुई वर्षदेखि बसोबास गरिरहेको नेपाली नागरिक र हाल अमेरिकाको कुनै राज्य वा भूभागमा बसोबास गरिरहेको हुनुपर्नेछ । त्यस्तो व्यक्ति कूटनीतिक नियोग वा कन्सुलेटमा सेवारत नेपाल सरकारको कर्मचारी हुनुहँुदैन र अमेरिकामा विद्यार्थी भिसामा रहेको हुनुहँुदैन ।’

त्यसबाहेक एनआरएन अमेरिकाको सदस्य बन्नका लागि बुझाउनुपर्ने निवेदन फारममा पनि आफू विद्यार्थी नभएको उल्लेख गरी सही छाप गर्नुपर्ने उल्लेख छ । उक्त फारमको अन्तिममा उल्लेखित ‘म न्यायिक दण्डको सम्भावना स्वीकार्दै म १८ वर्षको भइसकेको छु, कूटनीतिक नियोग वा कन्सुलेटमा सेवारत नेपाल सरकारको कर्मचारी हैन र अमेरिकामा विद्यार्थी भिसाअन्तर्गत रहिरहेको छैन भन्ने प्रमाणित गर्न चाहन्छु । यो फारम र मैले पेस गरेका कुनै पनि कागजातमा प्रदान गरिएका सूचनाहरु पूर्ण, सही र तथ्यपरक छन् भन्ने पनि प्रमाणित गर्न चाहन्छु’मा सहीछाप गर्नुपर्ने हुन्छ ।

यसरी नेपाल सरकारको कानून, गैरआवासीय (राष्ट्रिय समन्वय परिषद्) र अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिका तिनै अंगका विधानले विद्यार्थीलाई एनआरएन हुनबाट रोक लगाएको छ । अझ अमेरिकी एनआरएनको सदस्य फारममा त यदि विद्यार्थीहरु एनआरएन भएमा भविष्यमा न्यायिक दण्डको भागिदार पनि बन्न सक्ने जनाइएको छ ।

यी तीनै अंगका कानूनको बर्खिलाप आफ्नो स्वार्थ, पदलोलुपता अनि भोट बैंकका खातिर अमेरिकामा आउँदै गरेको चुनावका लागि केही अध्यक्षका उम्मेदवारहरुले अनगिन्ती विद्यार्थीलाई सदस्यता बनाएको खुल्नमा आएको छ । विद्यार्थी उसै पनि अमेरिकामा रहेका नेपालीहरुभन्दा कमजोर वर्गमा गनिन्छ । यताको कुनै पनि कानुनी जटिलताले उनीहरुलाई सजिलै प्रभावित बनाउने गर्छ । आज आफ्नो स्वार्थका लागि जथाभावी सदस्यता दिलाउने अनि भोलि अनावश्यक कानूनी झमेलाहरु नेपाली विद्यार्थीमाझ परेमा त्यसको जिम्मेवारी कसले लिने ? यो प्रश्न गम्भीर बनेको छ ।

 

Check Also

म डाक्टर पौडेल कि इन्जिनीयर जोशीको ?

सपना बोकेर उच्च शिक्षा हासिल गर्ने भनेर टन्टलापुर घाममा घैंया गोड्दागोड्दैको कुटो फ्याँकेर ‘हामी पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *