Home / News / विचार / चिन्ता २०८०

चिन्ता २०८०

  • रवि मिश्र

एकछिन नेपालका राजनीतिक नेता र राजनीति भसक्क बिर्सुम् । नेताज्यूहरुका भाषण मात्रै सम्झिम् । दलका घोषणापत्र सम्झिम् । बतासे योजना सम्झिम् । त्यसको कार्यान्वयन सम्झिम् । सम्झिम्, कार्यान्वयनपछिको हाम्रो दैनिकी कस्तो होला ? अचेल बिहान आँखा खुलेदेखि बेलुका आँखा बन्द भएसम्मका हाम्रो मुलुकको चिन्ता त्यसबेला कस्ता चिन्तामा बदलिएलान् ? त्यसका लागि २०८० तिर जाम् न । दलहरुकै योजनाअनुसारको, सपनाअनुसारको नेपालमा बहकिम् न ।

१७ घण्टा लामो रेल यात्राले ज्यान थकित छ । यो रेल भन्नी साधन कुद्न त उपद्रै कुद्ने हो । सिट पनि बडा आरामदायी हो । सुबिधा हेर्ने हो भने बिमानको भन्दा कम्ता थिएन । तर, एकोहोरो यात्राले लास्टै पट्यारलाग्दो रहेछ । त्यसमाथि तीव्र गतिले गर्दा टाउकै सनन भइरहेछ । कान ठ्याक्कै बन्द भएर टुइऽऽऽय गर्ने । विद्युतीय रेलको आवाज उतिविधि होइन । कानै टुइय गरेर हल्लीखल्ली छ । आजको दिन पनि अलि व्यस्तै रह्यो फेरि ।

कथामाडौंमा मुख धोइयो । धरान गएर ब्रस गरियो । झापा हुँदै ताप्लेजुङमा पुगेर चिया ब्रेकफास्ट भयो । सिन्धुलीमा ठ्याक्कै एक घण्टा बसियो । चितवन आइपुग्दा भर्खर नौ बजेको थियो । अब यति सबेरै खाना खाने कि नखाने । खासै भोक त लागेको थिएन । नेपालगन्ज, धनगढी पुगेर खाइयो चार–पाँच घण्टा त्यतै बसेर जुम्ला हुँदै काठमाडौं फर्किंदा लखतरान पो होइदो रहेछ । बेलुकाको खाना घरैमा खाइन्छ ।

खासमा जानुपर्ने पानीजहाजमा रहेछ । पानीजहाजमा गएको भए यति सारो थाकिने थिएन होला । तर, नेपालगंज, जुम्ला पाइपलाइनमा आएको समस्याले पानीजहाज चल्न सकेन । अब पाइप टुटेर सप्पै पानी खसेछ । पानी नै नभएसी कसरी चलोस् पानीजहाज ? हुन त ट्याङ्करमा पानी बोकेर भए पनि पानीजहाज चैं चलाउनुपथ्र्यो । कुनै पनि हालतमा पानीजहाज चैं बन्द गर्न हुन्थेन । तर के गर्नु ? चलाउने व्यवस्थापन, प्रशासन नै गतिलो परेन । अब सबै ठाममा कसरी भ्याओस् सरकारले ?

ओहो भरे खाना पो कसरी खाने ? खानेपानीको पाइप बिछ्याउदा २४ घण्टादेखि ग्यास पाइपलाइन अवरुद्ध छ । नाथे खानेपानी नि स्याटेलाइटबाट  वितरण गर्न सकेन सरकारले । हुन त त्यही बिजुली पनि स्याटेलाइटमा समस्या भएर झ्याप–झ्याप जान्छ । पानी पनि थपिँदा व्यवस्थापन पो कसरी होस् ? जता हे¥यो उतै समस्या छ । यस्तो बेलामा मन्त्रीजीहरुलाई चैं मंगलग्रहमा घुम्दैमा फुर्सद छैन । चन्द्रमामा उब्जाएको धान त ढुवानी खर्चले महँगो भैरा बेलामा मंगलग्रहमा फलेको केरा यहाँ आइपुग्दा कति होला ? त्यही काममा लिट्टी कसेर सरकार लागेको देख्दा नि उदेग लागेर आउँछ । भो छाडम् मुलुकको चिन्ता गरेर नि साध्ये लाग्छ ? आखिर त्यति खान मन नि छैन । गएर घुप्लुक्क सुतिन्छ । भोलि बिहान केवलकारमा एभरेस्ट पुगेर चिया खाइन्छ ।

स्मार्ट सिटी भन्छन् । सिटी स्मार्ट भएसि सडक नि स्मार्ट भएसि सडक नि स्मार्ट हुनु परेन ? मिसिनमा कार्ड घिसार्दा सडकमा खाल्डा परोस् । पानी जमोस् । ठाम्को ठाम सडक तलाउमा परिणत होस् रेलहरु रोकिउन् । पानीजहाज चल्न सुरु गरून् । फेरि कार्ड घिसार्दा ट्याक्क खाल्डा पुरिउन् । पानी पूरै सुकुन् । त्यसपछि पानीजहाजहरु ग्यारेजमा थन्किउन् र रेल कुद्न सुरु गरुन् । मोबाइलको डस्ट बटम थिच्दा धुलो उडेर वातावरण कुइरीमण्डल होस् । फेरि क्लिन बटम थिच्दा सब किलियर होस् । क्यै ब्यवस्थित छैन । जता हे¥यो चिल्ला सडक छन् । अन्डरग्राउण्ड, ओभरग्राउ(ड वे छन् । विद्युतीय रेलका लिक छन् । साइकल र पैदल पथ छन् । पहिला जस्तो लड्दै, पढ्दै, डुब्दै, बग्दै, निस्सासिँदै गरिने साहसिक यात्रै हरायो । राजधानीले आफ्नो मौलिकतै गुमायो । यस्तो पनि काठमाडौं हुन्छ ?

प्रशासन पनि के विधि कडा भाको हो ? चुइगम चपाउँदै हिँड्ने भाको बोक्रा भुइँमा खसेछ । देखेर जरिवाना तिराइछाड्यो । अस्ति अम्मलीलालले सार्वजनिक स्थलमा एक सर्को चुरोट के तानेका थिए । घोक्रेठ्याक लाएर थानामा लगेछन् । २ दिन त थुनेरै राखेछन् । अझ सातामा एक पटक धुम्रपान छुटाउने क्लासमा जानुपर्छ रे । असभ्य बन्ने त अवसरै छैन मुलुकमा ।

पहिले–पहिले त विश्वभरि नै आफन्त हुन्थे । कोही युरोप–अमेरिका, कोही खाडी–मलेसिया नेपाली जहीँतहीँ हुन्थे । अचेल त कोही छैनन् । सप्पै फर्किसकेछन् । अस्ति त संस्थामा कोरम नपुगेर एनआरएन भन्ने संस्था नै विघटन भएछ । विदेशीहरु नेपालको भिसा लगाउनु सौभाग्य ठान्दा रैछन् । तर, नेपालको भिसा प्रक्रिया साह्रै कडा उत्तिकै भेदभावपूर्ण पनि । अस्ति गार्जियनमा एक बेलाइतीले चित्त दुखाउँदै लेखेको आर्टिकलले साह्रै छोयो– ‘विश्वभरि महान बेलायती साम्राज्य फिजाएको हाम्रो हैसियत के रहेछ भन्ने नेपालको एयरपोर्ट पुग्दा थाहा हुन्छ । सँगै गाको स्विजरल्याण्डको साथीलाई सिधै अराइभल भिसा । हामीलाई चैं भिसै लिएर जाँदा नि केरकार । आफ्नो देश फर्किन्छस् भन्ने के आधार छ रे ? यतै लुकेर त बस्दैनस् रे । हामीले उनीहरुलाई गोर्खाली भनेर चिनायौं । उनीहरुको देश धनी भएसी हामीलाई मान्छ्यै गन्दैनन् ।’ नेपालले मित्रराष्ट्रका नागरिकहरुलाई त्यसरी हेप्न नहुने ।

पहिला मान्छे फुर्सदी थिए । चिया पसलमा मज्जाले दिनभरि गफिएर बस्न सकिन्थ्यो । लुडो, चेस खेल्ने अवसर जुट्थ्यो । सामाजिक सञ्जालमा बाह्रै मास देश बनाउने गफ छाँट्ने समय हुन्थ्यो । अचेल त मान्छे साह्रै व्यस्त भए । टाइम पास गर्ने, बरालिने त परै जाओस् । आवश्यक पर्दा समय निकाल्नसमेत गाह्रो छ मान्छेलाई । क्या सुनौला थिए ती दिनहरु ।

मज्जा त यहाँ छ, ती सुनौला दिन जहाँ हामी जिइरहेका छौं ।

Check Also

म डाक्टर पौडेल कि इन्जिनीयर जोशीको ?

सपना बोकेर उच्च शिक्षा हासिल गर्ने भनेर टन्टलापुर घाममा घैंया गोड्दागोड्दैको कुटो फ्याँकेर ‘हामी पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *