Home / News / प्रवास / डायस्पोरामा पण्डित दीनबन्धुलाई चापाचाप

डायस्पोरामा पण्डित दीनबन्धुलाई चापाचाप

मन्दिर बनाउन भागवत्को सहारा

डलास । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल अहिले अमेरिकामा छन् । उनी झण्डै एक महिना अमेरिकामा रहनेछन् । स्व. पण्डित नारायण पोखरेलका सुपुत्र दीनबन्धु बुबाको बाटो पहिल्याउँदै अगाडि बढिरहेका छन् । नेपालका अधिकांश जिल्लामा उनले आध्यात्मिक प्रवचन गरेको महायज्ञमार्फत संकलित रकमले कतै विद्यालयका भवन बनेका छन् त, कतै स्वास्थ्य चौकीका भवन, कतै बाटो निर्माण भएको छ त, कतै खानेपानीका ट्यांकी, कतै अस्पताल निर्माण भएको छ, कतै छात्रवृत्ति कोष स्थापना भएको छ । यी–यस्ता धेरै कामलाई हेर्दा अध्यात्म दर्शनमार्फत समाजलाई सही दिशा दिन सकिन्छ भन्ने उनको अभियानले विकासलाई पनि सँगै अगाडि बढाएको छ । नेपालभित्र मात्र होइन नेपाल बाहिरसमेत प्रवचन लगाएर नेपालीका आवश्यक सामाजिक विकासको काममा दीनबन्धु सक्रिय देखिन्छन् । त्यसो त पछिल्लो समय महापुराण, महायज्ञ, सप्ताह आदि धार्मिक कार्यक्रमहरु प्रवासमा नेपालीका सामाजिक स्थल बनाउन रकम संकलनको आधार नै बन्न पुगेको छ ।

प्रवासमा रहेका नेपाली जोड्ने कडीका रुपमा रहेको धर्म–संस्कृतिसँग जोडिएको महायज्ञलाई सामाजिक विकासमा लगाउन सामाजिक अभियन्ताहरु जुटेका छन् । नेपाली भाषा, संस्कृति, धर्म, संस्कारको प्रचार तथा प्रवद्र्धन गर्दै महायज्ञमार्फत रकम संकलन गरेर कतै नेपाली मन्दिर तथा बौद्ध स्तुपा बनाउन लागिएको छ, कतै नेपाली सामुदायिक भवन बनाउन लागिएको छ । एक महिनाभित्र अमेरिकाको बोष्टनमा महायज्ञ चलिरहेको छ भने न्यूयोर्क र नर्थ क्यारोलिनामा महायज्ञ सञ्चालन हँुदैछ ।

अमेरिकाको बोस्टन शहरमा पशुपतिनाथ र बौद्ध मन्दिरसहितको सामुदायिक भवन बनाउने उद्देश्यले अर्थ संकलन गर्न श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ चलिरहेको छ । बोस्टन र आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि पारिवारिक, सामाजिक र धार्मिक कार्य गर्न सामुदायिक भवन र मन्दिर अभाव भएकाले यसका लागि रकम आवश्यक पर्ने भएकाले अर्थ संकलन गर्न सप्ताह आयोजना गरिएको मूलआयोजक समितिका संयोजक सुशील पौडेलले जानकारी दिए । उनका अनुसार सामुदायिक भवनमा पशुपतिनाथ र बौद्ध मन्दिरसमेत रहने छ । बोस्टनमा पहिलो दिनमै १ लाख २७ हजार अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बोस्टनमा पहिलो र दोस्रो दिन गरी २ लाख ७० हजार डलर संकलन भएको छ । समितिले यो सप्ताहबाट १५ लाख डलर अर्थ संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै, न्यूयोर्कस्थित आप्रवासी नेपालीहरुको प्रतिनिधि संस्था रिजउड नेप्लिज सोसाइटीले मन्दिर निर्माणार्थ न्यूयोर्कमा श्रीमद् भागवत् महापुराण गर्दैछ । सोसाइटीले सहयोग जुटाउने हेतुले महापुराण आयोजना गर्न लागेको हो । आगामी अगष्ट २३ तारिख बुधबारदेखि २९ सम्म महापुराण चल्नेछ ।

सोसाइटीले ७ वर्षअगाडि न्यूयोर्कस्थित कुइन्समा वाचन दीनबन्धु पोखरेलले नै वाचन गरेको महापुराणबाट संकलित रकमले जग्गा खरिद गरेको थियो । यस पटक पनि सोसाइटीले मन्दिर निर्माण गर्न पनि महापुराणकै बाटो अवलम्बन गरेको हो । अगष्ट अन्तिम हप्ता आयोजित महापुराणका लागि सोसाइटीले संयोजनको जिम्मा व्यवसायी राजेश भट्टलाई दिएको छ भने सोसाइटीले १००८ सदस्यीय मूल समारोह आयोजक समितिसमेत गठन गरेको छ ।

सन् २०१० मा आयोजित महापुराणबाट ४ लाख अमेरिकी डलर सोसाइटीले सहयोग संकलन गरेको थियो । यस पटकको महापुराणबाट १० लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ । नेपालीभाषीहरुको बाक्लो बस्ती रिजउडमा संस्थाले कोठाभाडामा लिएर देवी मन्दिर सञ्चालन गर्दै आएको छ ।

उता, नेपाली हेरिटेज सेन्टर निर्माणका लागि नेप्लिज कम्युनिटी सेन्टर, नर्थ क्यारोलिनामा पनि महायज्ञको तयारी अघि बढेको छ । आउँदो अगष्ट १४ देखि २० सम्म महायज्ञ आयोजना गर्ने र त्यसबाट संकलित रकमबाट निर्माणको काम अघि बढाउने आयोजकको लक्ष्य रहेको छ ।

नेपालमा मात्र होइन प्रवासमा समेत महायज्ञमार्फत सामाजिक काम गर्ने अभियान अघि बढेकोमा पण्डित दीनबन्धु पोखरेलले खुसी व्यक्त गरे । महायज्ञ वा महापुराणमार्फत प्रवासमा नेपाली भाषा, संस्कृति, धर्म, पूर्वीय दर्शनको प्रचार तथा प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै पोखरेलले भने अझ सामाजिक काम पनि गर्न सकिँदा त्यसले दुई वटा महत्वपूर्ण पक्षलाई एकैपटक अगाडि बढाउने विश्वास व्यक्त गरे ।

‘यहीँ जन्मिएको नेपाली पुस्तालाई हाम्रो संस्कृति बुझाउँदै भौतिकवादको संसारमा आध्यात्मवादको महत्वलाई उजागर गर्न प्रवासमा हुने यस्ता महायज्ञ फलदायी हुन्छन्,’ उनले भने– ‘यहाँ जब यस्ता कार्यक्रमहरु हुन्छन्, नेपालीपनको अनुभूति हुन्छ, नेपालीहरु जमघट हुने स्थान बनाउन सक्दा त्यसले नेपालीलाई एक ठाउँमा उभिन सहयोग पुग्छ । हामी सबै एक ठाउँमा उभिँदा सबै सम्भव छ ।’

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *