Home / News / मनोरञ्जन / प्रेमगीतका प्रदीप र पूजाको क्रेज

प्रेमगीतका प्रदीप र पूजाको क्रेज

२०७२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ’प्रेमगीत’ले प्रदीप खड्कालाई स्टार बनायो । युवामाझ अहिले प्रदीपको क्रेज बढ्दो छ । अनमोल केसीपछि चर्चामा आएका नायकमा प्रदीप नै देखिएका छन् । चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले प्रदीपको फ्यान क्रेज दिन–प्रतिदिन बढ्दै गएको छ ।

हाल प्रदीप अभिनित फिल्म ‘प्रेमगीत २’ प्रदर्शन भइरहेको छ । प्रदीपको क्रेज ‘प्रेमगीत २’ हेर्न हलमा ओर्लिएको भिडबाटै छर्लङ हुन्छ । मिडियामा आएका खबरलाई आधार मान्ने हो भने प्रदर्शनको एक हप्तामा फिल्मले ४ करोड ग्रस बिजनेस गरिसकेको छ । गत शुक्रबारबाट ‘प्रेमगीत २’ दोस्रो हप्तामा प्रदर्शन भएको छ ।

प्रदीपलाई ‘प्रेमगीत’ नाम खुबै फापेको छ । अष्ट्रेलिया जान झोलामा कपडासमेत हालिसकेका उनलाई ‘प्रेमगीत’बाट अफर आएको थियो । ‘प्रेमगीत’बाट सोच्दै नसोचेको सफलता हात पारेपछि प्रदीपलाई अष्ट्रेलिया जाने भूतले छाड्यो । फेरि उनलाई ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ बाट अफर गरियो र आँखा चिम्लिएर उनले फिल्म साइन गरे ।

‘प्रेमगीत’ रिलिज भएपछि अन्य कुनै पनि फिल्ममा नदेखिएका प्रदीपले ‘प्रेमगीत २’ बाट पर्दामा कमब्याक गरे । झण्डै डेढ वर्षदेखि प्रदीपको फिल्म हेर्न प्रतीक्षामा रहेका दर्शकलाई ‘प्रेमगीत २’ले तिर्खा मेटायो र प्रदीप फेरि स्टार नायकको सूचीमा उभिए । ‘प्रेमगीत २’ रिलिज अगाडि नै प्रदीप निर्माता सन्तोष सेनले निर्माण गर्ने भनिएको ‘दीपेन्द्र सरकार’मा अनुबन्धित भइसकेका छन् । ‘दीपेन्द्र सरकार’मा प्रदीपले पूर्वराजा दीपेन्द्रको भूमिका निर्वाह गर्नेछन् । तर, यो फिल्म निर्माण हुन झण्डै ३ देखि ४ वर्ष लाग्ने अनुमान गरिएको छ । यो बीचमा उनीे अन्य ब्यानरका दुई फिल्म खेल्ने सोचमा छन् । एक फिल्म त लगभग १५ लाख पारिश्रमिकमा उनले पक्का नै गरिसकेको स्रोत बताउँछ ।

‘प्रेमगीत’ र ’प्रेमगीत २’ हिट भएपछि अब प्रदीपलाई ‘प्रेमगीत’ नामबाहेकका अन्य फिल्म हिट बनाएर देखाउनुपर्ने चुनौती छ । बजारमा चलेको बहस भन्छ, ‘प्रेमगीत २’ हिट हुनुमा ‘प्रेमगीत’ आफैमा एक ‘ब्रान्ड नेम’ हो । अब प्रदीपले यो नामबाहेकका अन्य फिल्मबाट आफूलाई सफल साबित गरेर देखाउनुपर्छ ।’ बजारमा चलेका बहसहरुले मात्र होइन प्रदीप आफैंका लागि पनि अब यो ठूलो चुनौती बनेको छ ।

पछिल्लो पुस्तामा नायक प्रदीप खड्काको जसरी नाम आएको छ । त्यसरी नै नायिकामा पूजा शर्माको पनि प्रसिद्धी बढेको छ । प्रदीप र पूजा चलचित्र प्रेमगीतबाटै चर्चामा आएका नायक–नायिका हुन् । हाल चर्चामा आएको चलचित्र प्रेमगीतको सिक्वेल प्रेमगीत २ मा पूजा शर्माको अभिनय भने छैन । नभए पनि पूजा यतिखेर यही चलचित्रको प्रतिस्पर्धी चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट चर्चाको शिखरमा पुगेकी छन् ।

हुन त वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि पूजा शर्मा एक गुमनाम अभिनेत्री थिइन् । आर्यन सिग्देल जस्ता स्टार नायकसँग फिल्म खेल्दा पनि पूजाको करिअर चम्कन सकेको थिएन । प्रदीप खड्काको जोडी बनेर चलचित्र प्रेमगीतमा खेलेपछि नै उनको व्यापक चर्चा भएको हो । प्रेमगीतभन्दा पछि पूजाले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसके तापनि सफलता भन्ने शब्द उनको पोल्टामा परेको थिएन । प्रेमगीतले भने उनलाई उचाइँ दियो । चर्चाको शिखरमै पु¥याइदियो । यो चलचित्रको सफलतापश्चात् उनको निकै डिमाण्ड बढेको हो । डिमाण्डअनुसार धेरै चलचित्रमा भ्याइ–नभ्याइ हुनुपर्ने भए तापनि भनेजस्तो अनि खोजेजस्तो चलचित्र नपाएकाले उनले त्यसपछि त्यति धेरै चलचित्रमा अभिनय गरेकी छैनन् । यसकारण पनि चर्चाको शिखरमा पु¥याएको चलचित्र ‘प्रेमगीत’ रिलिजपछि पूजा झण्डै डेढ वर्ष रिजर्भ बसिन् । त्यसपछि मात्र सुदर्शन थापाको निर्माण र निर्देशनमा तयार भएको फिल्म ’म यस्तो गीत गाउँछु’ मा अभिनय गरेकी थिइन् । जुन फिल्म असार ३० गतेबाट प्रदर्शनमा आएको छ । हलमा पल शाह र पूजा शर्मालाई हेर्न सयौं दर्शकको भिड लाग्यो । शुक्रबार र शनिबार त टिकटसमेत नपाएर दर्शक घर फर्किए । पहिलो हप्ता मात्र होइन दोस्रो हप्तामा पनि फिल्मले दर्शकको साथ राम्रो पायो । हालसम्म फिल्मले ४ करोड ग्रस बिजनेश गरेको बितरकको भनाइ रहेको छ ।

‘म यस्तो गीत गाउँछु’ले पूजालाई फेरि हिट नायिकाको सूचीमा उभ्यायो । पूजा नायिकामा मात्र होइन निर्मात्रीमा पनि हिट भइन् । सुदर्शन थापा र पूजाले संयुक्त रुपमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका हुन् ।

– श्याम स्मृत

Check Also

वेबसाइटमा मह

ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महको अफिसियल वेबसाइट पनि निर्माण भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *