Home / News / पत्रपत्रीकाबाट / ५० कामदारबाट नौ लाखका दरले ठगी गर्ने मेनपावरलाई उन्मुक्ति

५० कामदारबाट नौ लाखका दरले ठगी गर्ने मेनपावरलाई उन्मुक्ति

साउन २७। सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही नै नगरी छाडेको छ । म्यानपावर सञ्चालक सुभद्रा बरालविरुद्ध प्रमाणसहित उजुरी गरेको भए पनि विभागका कर्मचारीले दोषीलाई कारबाही गर्नुको साटो उसैको पक्षमा लागेर मिल्न बाध्य पारेको पीडितहरूको गुनासो छ ।

म्यानपावरले मासिक चार हजार दिराम अर्थात् एक लाख २० हजार रुपैयाँसम्म आम्दानी दिलाइदिने भन्दै उनीहरूलाई ०७३ असोजमा दुबई पुर्याएको थियो । दुबईस्थित हमाया सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको काम गर्न लगिएका उनीहरूलाई ६ महिनासम्म त्यहाँस्थित माजुमत लेबर क्याम्पमा अलपत्र राखिएको थियो । यसरी अलपत्र परेपछि उनीहरूले २५ फागुन ०७३ मा युएईस्थित दूतावासलाई उद्धार गर्न र म्यानपावरबाट क्षतिपूर्ति दिलाइदिन निवेदन दिएका थिए ।

दूतावासको पहलमा ४३ जना पीडित आफ्नै खर्चमा नेपाल फर्किन सफल भए । बाँकी सातजना भने न्यून तलबमै दुबईको एक कम्पनीमा काम गरिरहेका छन् ।

म्यानपावर सञ्चालिका बरालविरुद्ध ४३ जनाले तीन करोड ३८ लाख ७२ हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितहरूले क्षतिपूर्तिका लागि ६ चैत ०७३ मा सामूहिक रूपमा विभागमा उजुरी दर्ता गराएका थिए । दुबई जान उनीहरूले व्यक्तिगत सात लाखदेखि नौ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए । उजुरी दर्ता भएको एक सातामै विभागले बरालविरुद्ध डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

मुद्दा दर्ता भएको थाहा पाएलगत्तै सञ्चालक बराल भने म्यानपावर नै बन्द गरेर फरार भएकी थिइन् । विभागमा उजुरी परेको पाँच महिनापछि प्रहरीले २३ साउनमा बुढानीलकण्ठस्थित आफ्नै निवासबाट बराललाई पक्राउ गरेको थियो । तर, विभागले सोमबार नै नाटकीय ढंगले ‘नक्कली मिलापत्र’ गरी उनलाई छाडेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Check Also

सातै प्रदेशमा एआइजी खटाउने तयारी

भदौ ४। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *