आलो–पालो प्रधानमन्त्री नियत वाङ्गिएकाहरुको ‘ननसेन्स’ तर्कःईश्वर पोखरेल (अन्तवार्ता)

आलो–पालो प्रधानमन्त्री नियत वाङ्गिएकाहरुको ‘ननसेन्स’ तर्कःईश्वर पोखरेल (अन्तवार्ता)

सोमबार बिहान काठमाडौँको जिरो डिग्री सेल्सियसको जाडोलाई छिचोल्दै विश्ससन्देशको टीम एमाले महासचिव ईश्वर पोखरेलको निवास धापासीको कुँबर कोलनी पुग्दा हामीलाई मधुरो घाँमले हल्का स्वागत गरिरहेको थियो ।
एक कप कफीसँगै हल्का तातो बनेको शरीरसँगै हामी केही बेर महासचिव पोखरेलको प्रतिक्षामा बस्यौँ । करिब १५ मिनेटको प्रतिक्षापछि परिचित शैलीमा पोखरेलले हामीलाई मुस्कानसहित बैठक कक्षमा आमन्त्रण गर्नुभयो । त्यहाँ करिब १५ मिनेटको अनौपचारिक गफपछि हामीले औपचारक ४० मिनेट कुराकानी गर्यौँ । वाम एकताले तातेको राजनीति, चुनावी परिणाम, भावी योजनालगायतका बारेमा विश्ससन्देशका लागि विजय पौडेल र मोहन बास्तोलाले गरेको कुराकानीः

 

भर्खरैको चुनावी परिणाम अर्थात जनताले दिएको ‘म्याण्डेड’ लाई तपाईँले कसरी लिनुभएको छ ?


जनताले दुई–तीन वटा कुरा खोजेका छन् । पहिलो राजनीतिक स्थीरता । हामी लामो समयदेखि राजनीतिक अस्थिरताको शिकार भयौँ । नौ–नौँ महिनामा सरकार फेरवदल हुने, एक वर्ष पनि जनताले सरकारको मुख देख्न नपाउने यो दूर्भाग्यपूर्ण चक्र निरन्तर चलिरह्यो । यसबाट सबै पक्ष आक्रान्त भएका छन् । अर्थतन्त्र धरासायी भएको छ, सामाजिक सम्बन्धहरु धरासायी भएका छन् । राजनीतिक अस्थिरता चुलिदैँ गएको छ । विदेशी शक्तिको चासो बढेको छ । हाम्रो देशको स्वाभाविक विकास र प्रगतिमा निकै ठूलो समस्या सिर्जना भएको छ । यो कुरा जनताले बुझेका छन् ।
 

भनेपछि जनताले यही कुराको ख्याल गरेर वाम गठबन्धनलाई दुइतिहाईको नजिक मत दिएका हुन होइन त ?
 

हो, जनताले अब राजनीतिक स्थीरता चाहेका छन् । त्यही निष्कर्षमा जनता पुगेका छन् । राजनीतिक स्थीरताका लागि बहुमतको सरकार बनाउनुपर्छ भन्ने जनताको चासो हो । अर्को, आर्थिक विकास र समृद्धि जनताको चासो हो । अब राजनीतिक आर्थिक विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुनुपर्छ । जसले आर्थिक विकास र समृद्धिको विषयमा आफूलाई केन्द्रित गर्छ । त्यो विषयलाई पत्याउने गरी काम वाम गठबन्धनले गर्छ भन्ने कुरालाई पनि जनताले ध्यान दिएका छन् । जनता राजनीतिक स्थीरता र आर्थिक समृद्धिको एजेण्डामा बहुत चिन्तित थिए । त्यसैले अहिले वामगठबन्धनलाई यस्तो म्याण्डेट दिएका हुन् । त्यो एजेण्डा वाम गठबन्धनले बोकेका कारण हामीलाई पत्याए ।
 

भनेपछि नेपाली कांग्रेस वा अन्य दलले वहुमत ल्याउँदा राजनीतिक स्थीरता र आर्थिक समृद्धि सम्भव हुँदैनथ्यो, होइन त ?


यो प्रश्न पनि उठ्न सक्छ । तर, यसका लागि म प्रष्ट भन्न चाहन्छु । विगतलाई पनि फर्केर हेरौँ न । कांग्रेसले २०१७ सालमा बहुमत ल्यायो । राजनीतिक स्थीरता दिन सकेन । उसकै अयोग्यताका कारण मुलुक झन् अस्तव्यस्त भयो र निरंकुश–निर्दलीयताको तीस वर्षे काल जनताले भोग्न बाध्य भए । पछि ०४६ सालमा बहुदलीय व्यवस्था प्राप्त भयो । बहुदलीय व्यवस्थामा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला पनि नेपालमा राजनीतिक स्थीरता कायम हुन सकेन । बरु संसदीय अभ्यासमा फोहोरी खेलहरु सुरु भए । ती क्षणहरु अहिले नेपाली जनता सम्झन पनि चाहँदैनन् ।
०५६ को निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले प्राप्त प्रजातन्त्रलाई दरवारमा लगेर बुझाउनुभयो । जनताले यी सबै देखिरहेका छन् । यो सबै मैले किन भनिरहेको छु भने नेपाली कांग्रेससँग यस पटक हामीलाई बहुमत दिनुहोस् हामी मुलुकमा राजनीतिक स्थीरता कायम गर्छौ, हामी आर्थिक समृद्धि ल्याउँछौँ भन्ने राजनीतिक र नैतिक आधार नै थिएन ।

 

भनेपछि कांग्रेससँग राजनीतिक र नैतिक दुबै अधिकार नभएपछि वामगठबन्धनले जनताका बीचमा एजेण्डा लिएर गए होइन त ?


हो, कांग्रेसलाई पटक–पटक भोगेका जनताले हाम्रो एजेण्डा मन पराए र हामीले जनताको मत प्राप्त गर्न सफल भयौँ ।
 

जनताको चाहना वामगठबन्ध नै देखियो ?


हो, वामगठबन्धनलाई नेपाली जनताले मन पराए । केही–केहीले वामगठबन्धनलाई यो चुनावको तालमेलका लागि मात्र गरिएको गठबन्धन हो भनेर पनि बुझेका छन् । तर, त्यस्तो विल्कुल होइन । हामीले यो गठबन्धन चुनावमा तालमेल गरौँ दुई–चार सिट जितिहालौँ भनेर गरेको होइन । नेपालका सबै कम्युनिष्टहरुबीच विचार, बाटो र विश्लेषण मिल्दैछ भने किन अलग बस्नु ? अब एक ठाउँमा आउनुपर्छ भनेर यो निष्कर्षमा आइपुगेका हौँ ।
 

वाम गठबन्धनलाई बहुमत दिन पाए गरिखान पाइन्थ्यो कि भन्ने जनताको अपेक्षा पनि त होला नि ?


त्यो ठीकै कुरा हो । मैले अघि पनि यही कुरा गरेँ । यहाँ हजारौँ, लाखौँ युवाले रोजगारी पाउने ३८ वटा उद्योगहरु नेपाली कांग्रेसका पालामा उदारीकरण र नीजिकरणका नाममा कांग्रेसका अर्थशास्त्रीहरुले कौडीको मूल्यमा विक्रि गरे । वल्र्ड वैँङक र आईएमएफले अहिले त्यसको ‘रिभ्यू’ खोजेको छ तर कांग्रेसका अर्थशास्त्री ‘रिभ्यू’ भएका छैनन् । यो सबै कुरा जनताले देखेका छन् । त्यसका लागि पनि जनताले राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि बहुमतको सरकार वामगठबन्धनबाट खोजेका हुन् ।
 

तर, जनताले त अझै पनि दुई वटा पार्टी मिल्लान र भनेर आशंका गरेका छन् नि ?


दुई वटा पार्टी मिल्नुको विकल्प छैन । राष्ट्र र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्छ भनेर नै हामी मिशन केन्द्रित भएर तालमेलका लागि अघि बढेका हौँ । निर्वाचनका बेला हामीले ६०–४० को तालमेल गर्न सफल भयौँ । त्यो चानचुने कुरा थिएन । एमाले र माओवादीमा कतिपय पाउनु पर्ने साथीहरुले पनि टिकट पाउनु भएन तर कसैले पनि चित्त दुखाउनु भएन । यो दुबै कम्युनिष्ट एक होस भन्ने असल उदेश्यले नै भएको हो । त्यति मात्र होइन हामीले भविष्यका योजना र सपनासहितको साझा चुनावी घोषणापत्र ल्यायौँ । त्यो पनि हामी एक छौँ भन्ने सन्देश हो । तेस्रो कुरा, पार्टी एकता संयोजनका लागि हामीले पार्टी एकता संयोजन समिति नै बनाएका छौँ । म त्यसको सदस्य पनि हुँ । अहिले हामी घनीभूत छलफलमा छौँ । हामी छिट्टै निष्कर्षमा पुग्छौँ । विचारलाई पुर्नव्यवस्थित गर्ने कुरा, नेतृत्व पुर्नव्यवस्थापन गर्ने कुरा पनि हामी छिट्टै गर्छौ ।
 

विगतलाई हेर्ने हो भने एमाले र माओवादी एक होलान भन्ने कल्पना पनि थिएन नि ?


हो, हिजो माओवादी र हामीबीच विचार, सिद्धान्त, बाटो र विश्लेषण नै फरक–फरक थियो । उसले अवलम्बन गरेको बाटो हामीलाई स्वीकार्य थिएन । आज हामी धेरै कुरामा एक ठाउँमा आएका छौँ । आधारभूत कुरामा हामी एक ठाउँमा छौँ भने अलग्गै बस्नुपर्ने आवश्यक छैन भनेर नै हामीले यो निर्णय गरेका हौँ । माओवादीले हिजो हामीले अँगालेको हिंसात्मक बाटो उचित थिएन अब शान्तिपूर्ण प्रतिष्पर्धाबाट आफूलाई स्थापित गनुपर्छ र श्रेष्ठता हाँसिल गर्नुपर्छ भन्ने कुरा स्वीकार गरेको छ । त्यसैले हामी अतितमूखी होइन भविष्यमूखी भएर जान चाहन्छौँ भन्ने कुराको संकेत पनि हो यो ।
 

माओवादीले विगतमा अँगालेको हत्याहिंसाको बाटो उचित थिएन भन्ने तपाईँको विष्लेषण ?


हिंसा कम्युनिष्टहरुका लागि अनिवार्यताको विषय भन्न सक्दैन । हिंसा कम्युनिष्टहरुका लागि सैद्धान्तिक अनिवार्यताको विषय भन्न सक्दैन । त्यो अभ्यास कसैले गर्छ भने त्यो अनुचित हो । सत्ताले जस्तो गर्छ त्यसका लागि गरिने प्रतिकार कुनै कालखण्डका लागि स्वीकार्य हुन्थ्यो होला । तर, शसस्त्र संघर्ष सैद्धान्तिक अनिवार्यता मान्य हुन सक्दैन ।
 

तपाईँ स्वयले नै चुनाव लगत्तै प्रधानमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलको नेता सबै एमाले अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्छ भनेर आफ्ना धारणा सार्वजनिक पनि गर्नुभयो नि ?


कम्युनिष्ट आन्दोलमा दुई वटा अभ्यास छन्, मल्टी सेन्टर र युनि सेन्टर  । हामीले दुबै अभ्यास गरेका छौँ । हामी यी दुई अभ्यासका बारेमा पछि छलफल गरिरहेका छौँ । मलाई अहिले सोध्नुहुन्छ भने कम्युनिष्ट पार्टी भित्र मल्टी सेन्टर गलत कुरा हो । त्यसकारण जो व्यक्ति पार्टीको अध्यक्ष हुन्छ । संसदीय दलको नेता पनि त्यही हुन्छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ । पार्टीको मुल बिचार बोक्ने नेता अध्यक्ष हुने हो । त्यही व्यक्ति संसदीय दलको नेता र प्रधानमन्त्री हुने हो । यो ‘म्याचिङ’ छ । यो भागवण्डा गर्ने जस्तो कुरो पनि होइन । यो मेरो तर्क हो ।  
 

अहिले आलोपालो प्रधानमन्त्रीको कुरा पनि आएको छ नि ?


यो आलोपालो भन्ने कुरा ‘ननसेन्स’ कुरा हो । दुई वटा पार्टी रहेको र मोर्चागत संरचना रहेको बेलामा आलोपालो संगतीपूर्ण शब्द हुन्थ्यो होला । हामी अहिले एउटा पार्टी बनाउने कुरा गरिरहेका छौँ । यस्तो बेलामा के–को आलो प्रधानमन्त्री ? यो ‘ननसेन्स’ कुरा हो । बरु त्यहाँ चुनौतिको सामना गर्न शक्तिको विन्यास हुनसक्छ ।
 

यो कहाँबाट आयो त, एमाले भित्रै छलफल भएर आयो कि ?


यो कतै छलफल भएर आएको कुरा होइन । यसको निहितार्थ भनेको या त वामगठबन्धनलाई गठबन्धनमै राख्ने पार्टी एकता नगराउने नियत भएका अर्थात नियत वाङ्गिएका व्यक्तिले बोलिरहेका छन् कि त केही नबुझि बोलिदिऔँ न त भन्नेहरु अर्थात अबुझहरुले यसो भनिरहेका छन् । हामी पार्टी एकताको जुन उदेश्यमा अघि बढिरहेका छौँ त्यो उदेश्यमा यो शब्द तालमेल हुने खालको नै होइन । अहिले जबज र माओवादलाई मिलाएर एउटै सिद्धान्त बनाउने कुराको पनि चर्चा भैरहेको छ । त्यो पनि होइन । जबज एमालेको मात्र सिद्धान्त होइन । अहिले हामी सबै कम्युनिष्ट सारमा जबजकै नजिक छौँ । त्यसैले यो एमालेको वा अरुको भन्ने कुरा नै छैन । यो सबैको हो । हामी आगामी छलफलमा विचार, सिद्धान्त, संगठनको ढाँचा सबैका बारेमा गम्भीर छलफल गर्दै अघि बढ्छौँ ।
 

यसको मतलब अब एमाले र माओवादी मिल्ने नै हुन भनेर निश्चिन्त भए हुन्छ होइन त ?


यो आवश्यक विषय नै हामीले गरिरहेका छौँ । हामीले केही ‘इपिसोड’ देखाइ दिऔँ न त भनेर गरेको होइन । यो पूरा गर्छौ गरेरै छाड्छौँ । केही नियत वाङ्गिएका रहेछन् भने पनि देखिने छ । तर, एक हुने कुरा रोकिन्न । यो त अघि बढ्यो, बढ्यो । एक हुने भनेको घप्लक्क अँगालो हालेर हुने कुरा होइन । केही प्राविधिक कुरा पनि छन् । त्यसैले केही समय लाग्छ ।
 

व्यवस्थापनको सन्दर्भमा कुरा गर्ने हो भने कतिपयले आफ्नो पद छाड्नु पर्ने अवस्था पनि होला । तपाईँ महासचिव हुनुहुन्छ ?


हामीले एकतासहितको नयाँ पार्टी बनाउदै छौँ । यस्तो बेलामा संगठनको ढाँचा नै पुर्नगठन हुनसक्छ । हामी यति ठूलो अभियानमा लागेका बेला एउटा पद वा व्यक्तिको कुरा सामान्य हो । यो मिशन पूरा गर्ने सन्दर्भमा मेरो बाहेक अरुको व्यवस्थापन भन्ने कुरा हुँदैन । पार्टीको सामान्य सदस्य भएर पनि बस्ने आँट गर्नुपर्छ । त्यसमा खुशी हुनुपर्छ ।  

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार