थाल ठटाएर हुँदैन महिला नेतृत्व विकास

थाल ठटाएर हुँदैन महिला नेतृत्व विकास

इन्दिरा बास्तोला

आज हामी बदलिंदो विश्व भनिने २१औं शताब्दीमा छौं । एकातिर दिनानुदिन नयाँ–नयाँ आविष्कार, विकास र प्रयोग अनि अर्कोतर्फ विश्वव्यापी रुपमा बढ्दो आर्थिक असमानताका बीचमा हामी संसारकै गरिब भनेर चिनिने मुलुकको नागरिकका रुपमा रहन बाध्य छौं । नेपालको जनसंख्याको ठूलो हिस्सा निरपेक्ष गरिबीको रेखामुनि रहन बाध्य छ । सहर र गाउँ दुवैतिरको समाजमा अझ वर्गीय र लंैगिक दृष्टिकोणबाट महिलाहरु पछाडि परेका छन् । महिला शिक्षाबाट वञ्चित हुनु, पशुपालन मुख्य पेसा र दुई छाक टार्नका लागि गर्नुपर्ने कडा परिश्रम, कलिलो उमेरमा हुने बालविवाह, गर्भाधान, स्वनिर्णयको अधिकार नहुनु, परिवार नियोजनको ज्ञान नहुनु र तराईको दाइँजो प्रथा र गरिबीका कारण आत्महत्या र अकाल मृत्युको शिकार महिलाहरुले भोग्नुपरेको अवस्था छ । यो बाध्यताबाट निस्कन रचनात्मक पहल र आन्दोलन आजका सचेत नेपाली महिलाको अनिवार्य जिम्मेवारी हो । यो लेख यही सन्दर्भमा केन्द्रित छ ।

 

विश्वव्यापी असमानताविरुद्ध सहकार्य

पछिल्ला विभिन्न तथ्याङ्कहरुले विश्वव्यापी रुपमा भइरहेको सम्पत्तिको केन्द्रीकरणले जम्मा १ प्रतिशत मानिसहरुको हातमा ८२ प्रतिशतभन्दा धैरै जनसंख्या बराबरको धन जम्मा भएको र त्यो अझ निरन्तर बढिरहेको देखाएको छ । यो बढ्दो असमानता मानव समाजका लागि सर्वाधिक घातक देखिएको छ । केही गैरसरकारी संस्थाहरुले महिला सशक्तीकरणको विषयलाई सुधारोन्मुख गतिमा लैजाँदै गरेको र सरकारले पनि सीमित आरक्षणको व्यवस्था गरी सकारात्मक भूमिका खेलेको देखिन्छ । यस्ता कार्यक्रमलाई अझ सञ्चारमा केही पहँुच भए पनि लिङ्ग विभेद, यौन दुव्र्यवहार, सार्वजनिक स्थानमा आक्रमण अवैध व्यवहार भइरहेको छ ।  उक्त असमानताविरुद्ध संसारमा भइरहेका आन्दोलनहरुसँग सहकार्य गर्नु र नेतृत्व विकास गर्नु नेपाली महिलाको कर्तव्यभित्र पर्दछ । जसले महिला मुक्तिको आन्दोलनको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ  ।

 

उपभोक्तावाद र छाडा संस्कृतिविरुद्ध प्रतिरोध

विश्वव्यापी रुपमा हुर्कंदो वित्तीय एकाधिकारले महिलाको शरीरलाई व्यापार र विज्ञापनको माध्यम मात्र बनाइरहेको छ । व्यापार प्रवद्र्धनका लागि विज्ञापनहरुमा महिलालाई प्रयोग गर्ने, महिला पीडा विछोडका गीतहरु सिर्जना गर्ने र त्यसका लागि महिलालाई नै प्रयोग गर्नेजस्ता कार्य भइरहेका छन् । महिलालाई मात्र उपभोगको साधनको रुपमा प्रस्तुत गर्ने, कोकाकोलाको बोतलसँग तुलना गर्नेसम्मका तुच्छ गतिविधिहरु खुलेआम हुन थालेका छन् । मानवता, आत्मसम्मान र सहअस्तित्वको संस्कृतिमाथि व्यापारी संस्कृति हावी हुँदै छ । आफूलाई सभ्यता सिर्जनाको मुहान ठान्ने महिलाहरुले नेपाली भूमिमार्फत यस्तो संस्कारविरुद्ध प्रतिरोध आन्दोलन गर्नु हाम्रो अर्को कर्तव्य हो ।

 

विज्ञान र प्रविधिमा अग्रणी भूमिका

यो ज्ञान, विज्ञान र आविष्कारको युग हो । अब बलिया पहलमानहरुले बोकेर, लडेर होइन स–साना कम्प्युटर आदेशहरुले धेरै कुरा हुने गर्छ  । यदि यस्तो हो भने प्रेम, ज्ञान, सरलताका प्रतिमूर्ति मानिने हामी महिलाहरुको युग हो भनेर किन नभन्ने ? महिलालाई कमजोर क्षमता देखाउँदै घरभित्रको काममा मात्र सीमित गराउने परम्परावादी सोचलाई अन्त्य गर्दै व्यावसायिक रुपमा महिला अगाडि बढेर घर–व्यवहार र व्यवसाय पनि सन्तुलित रुपमा लैजान सक्छन् । जसको फलस्वरुप प्रतिव्यक्ति आम्दानी वृद्धि हुन्छ । परिवारमा स्वनिर्णय गर्न सक्ने क्षमता महिलामा प्राप्त हुन्छ । खर्चमा स्वनिर्णयको वातावरण सिर्जना हुन्छ । प्राचीन कालमा महिलालाई कमजोर मान्दै घरको मात्र काम दिने र पुरुष जग्गा जमिनको काम गर्ने प्रवृत्ति अहिले पनि पछ्याइरहेका कारण महिलाहरु अझै पछाडि परेको देखिन्छ  ।

त्यसैले हिजो सिकारी वा कृषि युगमा कमजोर मानिएका महिलाहरुको यो प्रतिस्पर्धी युग हो । यो युगमा विज्ञान र प्रविधिमा ज्ञान पहुँच वृद्धि गरी विश्वव्यापी उदारीकरणका धारणा बुझी अझ क्रियाशील बन्दै अग्रणी भूमिकामा उभिन तयार हुनु र दाबी गर्नु हाम्रो कर्तव्य हो ।

 

नेपाली समाजमा सशक्त हस्तक्षेप

मूलतः नेपाली समाज परम्परागत रुढिवादबाट आधुनिकतातर्फ अगाडि बढिसक्यो । तर, नेपाली समाजमा बोक्सी, दाइँजो तथा छाउपडीजस्ता अमानवीय घटनाहरु दोहोरिरहन्छन् । बलात्कार र त्यसपछिको कानुनी मेलमिलापका घिनलाग्दा समाचारहरु अझै दैनिक जस्तो सुन्नमा आइरहन्छन् । सचेत महिलाहरुको राष्ट्रव्यापी सञ्जाल निर्माण गरेर सम्पूर्ण आधुनिक प्रविधिको समेत प्रयोग गरेर यसको शक्तिशाली भण्डाफोर गर्न र दोषीलाई कारबाही गराउन सक्छौं । यस्ता घटनाविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनु पनि हाम्रो अनिवार्य आवश्कता हो ।

आजका महिला आफैं सशक्त बनी समावेशी सहभागिता, पारिवारिक आनन्द, सांगठानिक क्षेत्रमा महिला नेतृत्व विकास गर्नु जरुरी छ । पुरुष सर्वोत्तम र अभिभावक मानसिकताको उन्मूलन गर्नु आजको आवश्यकता हो । महिलालाई कुनै पनि भेदभावविना रोजगारीमा समान अवसर आवश्यक छ । जबसम्म महिला सचेत र सशक्त बन्न सकिंदैन तबसम्म कानुनी रुपमा कुनै आरक्षणको व्यवस्था र संवैधानिक अधिकार प्रदान गरी जोगाउने कार्यक्रम अपर्याप्त हुनेछ ।

हिजोको दिनमा नेपाली महिला आन्दोलनहरुमा थोरै मात्र सहभागी हुन्थे । प्रगतिशील भनिने नेताहरुसमेत आफ्नै श्रीमतीको भूमिकाबारे उदासिन रहन्थे, जो अहिले पनि कायम छ । यो सम्पूर्णलाई तोड्न महिला आन्दोलन सचेत, प्रखर र शक्तिशाली बन्न आवश्यक छ । अन्त्यमा अबको आन्दोलन फगत थाल ठटाउने वा मञ्चमा नृत्य गर्ने मात्र नभएर आन्दोलनको नेतृत्व र विकास दुवैमा ५० प्रतिशतभन्दा बढी हिस्सामा उभिनुपर्छ  ।

(बास्तोला समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन्)

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा