कसले भन्छ अमेरिका देश हो ?

कसले भन्छ अमेरिका देश हो ?

योगेश आदी (Yogesh Aadi)

 

‘अमेरिका देश होइन, निगम हो, संस्था हो ।’ यो अभिव्यक्ति दिन कठिन छैन र प्रमाणित गर्न पनि कठिन छैन । अमेरिकामा नै बसेर यस्तो लेखिरहँदा भोलि मलाई सरकारी निकायले ‘हाम्रो देशलाई देश नै होइन भन्नेले प्रमाणित गरेर देखाऊ ?’ भन्लान् भन्ने डर किन्चित छैन किनकि अमेरिकालाई अलिकति बुझ्नेले यो देश होइन कर्पोरेशन नै हो भनेर बुझिसकेका हुन्छन् । देश हुनका लागि केही सारभूत तत्वहरुको आवश्यकता पर्दछ– सार्वभौमसत्ता, भिन्न राष्ट्रिय पहिचान, भौगोलिक सीमाङ्कन, राजनीतिक विभाजन, निशर्त संवैधानिक व्यवस्था र भावना । भिन्न भाषा, खाना, पोशाक, संस्कृति, रहनसहन, प्रथा, परम्परा आदि आवश्यक तर गौण तत्वहरु हुन् ।

जसरी अन्य देश जन्मे अमेरिका त्यसरी जन्मेन । जसरी कैलाश पर्वतबाट महादेव, अहिलेका धनाढ्य न्यूयोर्कको चिसो छल्न फ्लोरिडा गएजस्तै, चिसो छलेर क्रिडा गर्न मानसरोवरमा ओर्लन्थे, त्यसैगरी बेलायतीले अमेरिकालाई क्रिडा स्थल बनाउन चाहन्थे । न कहिल्यै बेलायतीले देश बनाउन खोजे, न अमेरिकाले नै जुलाई ४, १७७६ मा १३ ओटा दिगो स्वतन्त्र राज्यहरुको स्वतन्त्रता घोषणा गर्दा समुच्चा देशको औचित्य सोच्यो । सदिऔंदेखि अमेरिका देश हो कि होइन ? भनेर जिज्ञासुले मनमा कुरा खेलाइरह्यो तर कसैले लेखेन । सन् २००२ मा लेखक लिजा गुलियानीले यस विषयमा बुलन्द आर्टिकल लेखेपछि धेरैले उत्तर पाए । चित्त बुझाए । जुन देश देश नै होइन, त्यो देशले सबै देशलाई प्रभाव पार्ने सामथ्र्य राख्दछ, कसरी ?

आज विषयवस्तुमा झ्यालबाट पस्न चाहन्छु– स्वर्गीय बारबरा एडम्स अमेरिकी नेपाली हुन् । एउटा सफल लेखक पत्रकार बारबराले आफ्नो जिन्दगीको स्वर्णिम समय नेपालमा बिताइन् । नेपालको तत्कालीन राजखानदानको बुहारी बनेर नेपाली नागरिकता प्राप्त गर्नका लागि उनले गरेको तीसौं वर्षको संघर्ष पढेपछि जो–कोहीलाई पनि नेपाली नागरिक बन्न कति कठिन रहेछ भन्ने आभास गराउँदछ । अन्ततोगत्वा– उनी नेपाली बनेरै चीर निद्रामा लीन भइन् । नेपाली केटा वा केटीसँग बिवाह गरेर नेपाली नागरिकता लिन खोज्ने विदेशीले नेपालमा फलामको चिउरा चपाउनु पर्दछ । किनकि नेपाल देश हो, एउटा देशको नागरिक बन्न भाषा, संस्कृति मात्रै होइन जन्म र वंशजको आधार पनि महत्वपूर्ण मानिएको छ । तथापि, नेपालमा विदेशीले बच्चा जन्माएमा बच्चाले नेपाली नागरिकता ग्रहण गर्न सक्दैन । जबकि अमेरिका लगायत कयौं देशहरुमा १ हप्ता घुम्न आएको पर्यटकले बच्चाको जन्म दिएमा पनि बच्चाले स्वतः अमेरिकी पासपोर्ट प्राप्त गर्दछ । यता अमेरिकामा भने जन्म र वंशजको त कुरै छोडौं– मैले राम्रो गीत गाउन जानेको छु । मसँग राम्रो किसिमको पिज्जा बनाउने दक्खल छ । मैले यहाँ मास्टर्स पढें, जागिर पनि पाएँ । म असाध्यै राम्रो नाच्दछु । म पत्रकार हुँ । म हात हेर्ने भविष्यवक्ता हुँ । म मार्सल आर्टको अब्बल खेलाडी हुँ आदि यस्तै–यस्तै आफ्नो देशमा जानेको सीप र क्षमताको जानकारी र प्रमाण राखेर पनि अमेरिकी नागरिक बन्ने बाटो सजिलै प्राप्त गर्न सक्दछ । किनकि यो कन्ट्री होइन, कर्पोरेशन हो । यहाँ क्षमता भएको मेहनती र योग्य मान्छेको कदर छ । कर्पोरेशनलाई सुदृढ गराउँदै कसरी समृद्धिको बाटोमा लैजाने भन्ने मूल कुरा हो, राष्ट्रियता गौण ।

अमेरिकाको सौन्दर्य भनेको सबैलाई स्वीकार गर्नु हो । सबैलाई स्वीकार गरेका कारणले नै यो साझा फूलबारी बन्यो । साझा फूलबारी बनेको प्रमाण यसभित्रको स्वच्छन्दता, स्वतन्त्रता र स्वाधिनता हो । अमेरिका आफैंमा देश नभए तापनि कसरी संसारभरका देशहरुलाई प्रभाव पार्न सफल छ ? भन्ने पहिलो प्रमाण नै यो देशको राज्य संयन्त्र देश जस्तो गरी नचलाउनु हो । देश हुँदो हो त वैदेशिक नीति स्थिर र प्रतीरक्षात्मक हुनु पर्दथ्यो । एउटा कर्पोरेशन जस्तो अफिसभित्र कम कर्मचारी र बजारमा बढ्ता प्रभाव पार्ने नीति नै यसको पहिलो हतियार हो । अहिले संसारभरको गार्डका रुपमा आफूलाई उभ्याउन सफल भएबाट नै यसको पुष्टि हुन्छ ।

शताब्दी अगाडि कम्युनिष्टहरुले देशको अवधारणालाई परिवर्तन गरेर कम्युनको अवधारणामा लगेजस्तै अमेरिकालाई कर्पोरेशन अर्थात् निगमको अवधारणामा लगेका छन् । पौराणिक शब्दकोषमा कोरिएका देशको परिभाषाअनुसारको खाका पुगेको भूमिलाई मात्र देश भन्नुपर्दछ भन्ने समय अब फेरिएको छ । चीनले कल्पना गरेको १०० वर्षपछिको शहर, अमेरिकाले परिकल्पना गरेको ५० वर्षपछिको सडक र सवारीसाधन अनि नर्वेले बनाउन चाहेको ५ तारे होटल जस्तो सबै जेलहरुलाई हामीले अहिले जिब्रो टोके पनि ढिलो–चाँडो स्वीकार नगरी धरै छैन । शिवरात्रि शुभ रहोस् !

ygshdngl@yahoo.com

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार