माइग्रेन के हो ? यस्तो छ समाधानका उपाय

माइग्रेन के हो ? यस्तो छ समाधानका उपाय

 

– योगाचार्य डा. अभयराज उपाध्याय

माइग्रेन २१सौं शताब्दीमा विश्वको अत्यन्तै तीव्र गतिमा बढ्दै गइरहेको शिरो भाग (टाउको) को रोग हो । २०सौं शताब्दीको अन्त्यसम्म पनि यदाकदा मात्र सुनिदै आएको यो रोग तर आजभोलि दैनिक रुपमा सुनिन थालिएको छ । हालै गरिएको एक सर्वेक्षणले प्रत्येक १० घरपरिवारमध्ये एक परिवारको कम्तीमा एक सदस्यलाई यस रोगले ग्रसित पारेको पत्ता लागेको छ भने यूरोप अमेरिकातिर यो संख्या जनघनत्वको आधारमा तयार गरिएको छ । हालै अमेरिकामा मात्र यो रोगीको संख्या २८ लाखको हाराहारीमा रहेको तथ्याङ्क प्रकाशित भएको छ ।

 

के हो त माइग्रेन ?

यो एक प्रकारको नसासम्बन्धी (न्यूरो) रोग हो, जुन शरीरको माथिको भाग अर्थात् टाउकोमा हुन्छ र जसको असर अत्यन्त कष्टकर (असह्य) टाउको दुख्ने गर्दछ । आधुनिक चिकित्सा पद्धती (एल्लोपेथी)को मतअनुसार यो एक व्यक्तिमा पाँच पटकभन्दा बढी एकदेखि तीन महिनाभित्रमा असह्य (वेदनात्मक) टाउको दुखेमा त्यसलाई माइग्रेन मान्न सकिन्छ । यसरी टाउको दुख्दाको अवधि भने ४ घण्टादेखि ३ दिन वा सोभन्दा बढी पनि हुन सक्दछ । यसरी टाउको दुख्दा एक वा बढी ठाउँमा र कहिलेकाहीँ सरेर समेत दुख्ने हुन सक्छ । बिरामीले खान मन नपराउने, खाइहाले पनि बान्ता हुने, धेरैजसो वाकवाकी लाग्ने, बेचैन रहने, बान्ता गर्दा पानी मात्र हुने सो पानी ज्यादै तीतो, टर्रो वा अमिलो हुने र ज्यादै गन्हाउने हुन्छ । बिरामीमा माथि उल्लेखित कुराहरुको मेल खान गएमा त्यसलाई स्वतः माइग्रेन मान्न सकिन्छ ।

उता आयुर्वेद एवम् प्राकृतिक चिकित्साले भने यसलाई यसरी ब्याख्या गरेको पाइन्छ । जस्तै– साधारण टाउको दुखाइ भन्दा भिन्न प्रकारको र अत्यन्त तीव्र गतिमा टाउको दुखेमा, आँखाको शक्ति कम भएको महसुस भएमा, स्मरण शक्ति कम भएको महसुस भएमा, दुई हप्तादेखि दुई महिनाको अवधिमा बारम्बार निश्चित समयमा टाउको दुखेमा, अनुहारको रौनक हराउँदै गएमा, समय–समयमा खाएको खाना नपच्ने र बान्ता हुने जस्तो भइराख्ने र अन्त्यमा भयंकर टाउको दुखेमा माथि उल्लेखित सबै वा कुनै कुरा बिरामीको रोगसँग मिल्न गएमा यसलाई माइगे्रन, शिरोवेदना वा कतै अर्धकपारी अथवा आधा सीसीसमेत भन्ने गरिएको छ ।

जुनसुकै नामले चिनिए तापनि रोग आखिर रोग नै हो, जुन दिनरात फैलिंदो क्रममा आजको आधुनिक विश्वमा विस्तारित र स्थापित हुँदै गइरहेको छ ‘माइगे्रन’को नामले । बिरामीले वाकवाकी सँगसँगै कुनै पनि नौलो कुरामा वा मनोरञ्जनात्मक कुरामा समेत मन नलगाउनु, नैराश्यता देखाउनु, ब्यावहारिक पक्षहरु बिस्तारै शिथिल हुँदै जानु र अन्त्यमा व्यक्तिगत जीवनमा, दैनिक क्रियाकलापका साथै श्रीमान्–श्रीमतीबीचको सम्बन्धसमेत बन्द प्रायः हुँदै जानु यस रोगका पूर्णतः नकारात्मक पक्षहरु हुन् भने बिस्तारै मष्तिस्कको स्मरण शक्तिको समेत ह्रास हुँदै जानु, विद्यार्थीवर्गहरुमा पढाइलाई निरन्तरता दिन ज्यादै कठिनाइ हुन्छ भने पेशा ब्यवसायमा लागेका ब्यक्तिहरुलाई योबाट हीनताबोध हुँदै जान्छ, काम गर्ने शक्ति, जोस जाँगर इत्यादि हराउँदै जान्छ । अन्त्यमा डिपे्रशनको सिकारसमेत हुन पुग्दछ ।

कतैकतै यसरी एकपछि अर्को गर्दै रोग बढ्दै जाँदा आत्महत्यासमेत गर्ने प्रयास गरेको सो अध्ययनमा देखाएको छ । महिलाहरुमा विशेषतः लिकोरिया (यौनाङ्गबाट सेतो पानी बहने) भइरहनेहरुमा प्रायः माइगे्रन भएको समेत पुष्टि गरेको छ भने अर्कोतर्फ धेरै समय गाडीमा ड्राइभ गरिराख्नुपर्ने, ट्राफिक जामको झन्झट वा दिनभरि काम गर्ने स्थान एयर कण्डिशन भएको र स्वस्थ, स्वच्छ हावाको बहाव नरहने स्थानमा बस्ने वा काम गर्ने मानिसहरुमा पनि यस रोगको आक्रमण भएको समेत थप अध्ययनबाट पुष्टि भएको छ (अप्राकृतिक रहनसहन) । लामो समयसम्म पिनास रहेमा, नाकको भित्री मासु, हड्डी (क्याभिटी) बढेमा र २४औं घण्टा चिन्तित भइराख्ने व्यक्तिमा पनि माइगे्रन हुने सम्भावना करिब ९५ प्रतिशत रहन्छ । रोगको अवधि, उमेर र आक्रमण हुने निश्चितता पनि नरहेको यस अध्ययनले देखाएको छ । साना केटाकेटीहरु १३–१४ वर्षको स्कुले अवस्थामा नै तथा भर्खर कलेज गएको अवस्था (१५–१६ वर्ष) मा धेरै देखिएको छ । स्कूल कलेजको (१०+२) को तथ्याङ्क आँकलन गर्दा भने स्कुले विद्यार्थीहरुमा एक स्कुल एक विद्यार्थीको संख्या कम्तीमा छ भने कलेजको तथ्याङ्कमा एक कलेजमा कम्तीमा २ विद्यार्थी देखाएको छ । अर्कोतर्फ बढ्दो उमेर वा वयस्क व्यक्तिहरुको अध्ययनको क्रममा भने सो तथ्याङ्क अलि भिन्न प्रकारको रहेको छ । यस उमेरमा आइपुग्दा पुरुषभन्दा महिलाहरुमा यो रोगले बढी आक्रमण गरेको देखिएको छ ।

 

कसरी हुन्छ माइगे्रन ?

आयुर्वेदीय एवम् प्राकृतिक चिकित्सा पद्धतिको बुझाइमा वंशाणुगततर्फ हेर्दा यदि पीडित व्यक्ति महिला भए उनको बुबालाई र पुरुष भए आमालाई अर्थात् आमाको छोरामा जाने ज्यादै बढी सम्भावना रहन्छ । त्यस्तै, बुबाको छोरीमा जाने अत्यन्तै बढी सम्भावना रहन्छ । निम्न अन्य सम्भावनाहरु हेरौ– 

– रुख्खा सुख्खा प्रकृतिको खाना एवम् फास्ट फुडको लत लागेमा ।

– पहिला खाएको खाना नपचिकन फेरि अर्का खाना खाएमा ।

– शरीरको पानीको मात्रा कम भएमा, पानी नपिउने व्यक्तिमा ।

– वास्तविक भोकको जानकारी हुन नसकेमा ।

– दैनिक आइसक्रिमजन्य दुध, पनीर, बिज वा अन्य सफ्ट ड्रिङ्क्सहरु धेरै पिउने गरेमा ।

– मलमूत्र, हाछ्यूँ, हाई, डकार एवम् अपान वायु रोक्ने गरेमा र लामो समयको कब्जियत भइरहेमा ।

– शरीरलाई आवश्यकताभन्दा बढी व्यायाम, कसरत वा योगासनहरु गर्ने गरेमा ।

– अति मैथुन क्रियामा संलग्न रहेमा वा शारीरिक एवम् मानसिक थकान लामो समयसम्म रहिरहने भएमा ।

– अति विश्राम वा अति श्रम दुवै अवस्थामा ।

– कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा अन्य प्रकारका मेशिनरी इलेक्ट्रोनिक सामानहरु धेरै समयसम्म बिना विश्राम चलाउने गरेमा ।

– धेरै लामो समयसम्म रुघा नलागेमा वा धेरै लामो समयसम्म एक नाकको प्वाल बन्द भइरहेको महसुस भएमा ।

– धेरै लामो समयको तर दैनिक प्रकृतिको अवस्थामा बसको यात्रा गरिराख्नुपर्ने भएमा ।

– महिलाहरुमा विशेष गरेर लिकोरिया भएमा यो रोगको चाप बढ्ने धेरै नै सम्भावना रहन्छ ।

– मासिक चक्रको धेरै नै गडबढी भैरहेमा, लामो समयसम्म रक्तश्राव भैराख्ने भएमा ।

– ज्यादै चिन्ता लिने, शारीरिक ब्यायाम, योगासन इत्यादि केही नगर्ने व्यक्तिमा ।

– समय—समयमा काँध दुख्ने, गलेको महसुस हुने र कुनै पनि काममा आफूलाई सन्तुष्ट राख्न नसक्ने व्यक्तिहरुमा यो रोगको चाप अत्यधिक हुने गरेको पाइएको छ ।

 

यसरी माथि उल्लेखित वा अन्य धेरै कारणहरु पनि हुन सक्छन् माइगे्रनका आक्रमण हुनका लागि । तर, यसको उपचारका लागि भने केवल दुखाइ कम गर्ने र क्षणिक एवम् अप्राकृतिक निद्राको गोली वा लठ्याउने गोली मात्र खाएर समाधान हुँदैन । वास्तविकता पत्ता नलगाई माथिल्लो सतहको उपचारले यो रोगलाई नियन्त्रणमा लिनका लागि कुनै पनि चिकित्सकलाई गाह्रो पर्नसक्छ । यो रोग निदान अवश्यम्भावी छ, तर यसको जरा अर्थात् ‘रुट कज’को उपचार सर्वप्रथम हुनुपर्दछ । तर, आजभोलि राम्रो निदान नगरिकन नै विभिन्न प्रकारको ‘ओरल मेडिसिन’ जो ‘पेन किल्लर’हरु र नसाले लठ्याउने प्रकारका र अझ ‘डाइजपाम’ समेत दिने गरिएको छ, जु्न बिरामीको शरीर एवम् आउँदो सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ । केही हदसम्म यस्ता उपायहरु ठीकै होलान्, तर रोगको ‘रुट कज’ पत्ता लगाउने कोसिस नगरी धमाधम निरन्तर रुपमा यस्तै प्रकारको औषधीको सेवन गराइराख्नु कत्तिको उपयुक्त होला ? प्रश्न मानव समाजलाई र उपचारमा संलग्न सम्पूर्ण आदरणीय चिकित्सक वर्गहरुलाई ?

 

सावधानी र समाधानका उपाय

यस्ता प्रकृतिका बिरामीहरुलाई यथाशक्य चिन्ता, घृणा, फोहोर वातावरण, स्वच्छ हावाको आगमन नहुने ठाउँ, झैझगडा, तनाव वातावरण र धेरै भिडभाडबाट अलग्गै राख्नुपर्छ । त्यसबाहेक निम्न कुराहरुमा समेत पूर्ण ध्यान दिनुपर्ने आवश्यक देखिन्छ–

– घरपरिवार एवम् सम्पूर्ण सदस्यहरुमा पूर्णरुपमा सहयोग र प्रेमपूर्ण व्यवहार ।

– बिरामीको दैनिकी र खानपान अत्यन्त साधारण र सामान्य प्रकारको हुनुपर्दछ ।

– राति समयमा सुत्ने, बिहान सकेसम्म चाँडै उठ्ने (सुर्योदयभन्दा अगाडि) उठ्नासाथ नै पानी पिउने बानी गर्ने (जाडो याममा मन तातो, गर्मीमा चिसो) ।

– हलुका व्यायाम गर्ने बानी बसाल्ने (योगासन, प्राणायाम वा अन्य विशेषतः श्वासप्रश्वासको व्यायामलाई जोड दिने) ।

– कौसी, चौर आदि स्थानमा बिहानको स्वच्छ हावामा टहल्ने ।

– ध्यानको अभ्यास गर्ने कोसिस गर्ने, समय बढाउँदै लग्ने ।

– बासी, सडेगलेको, तारेको, भुटेको, रुख्खासुख्खा प्रकृतिको एवम् मसला धेरै भएको खाना कम गर्ने, तारेको तरकारी, मासु, माछा, तामा नखाने ।

– आफ्नो सोंचलाई सकारात्मक दिशातिर लिएर जाने, नकारात्मक नसोच्ने ।

– टाउको दुख्दा (वेदना हुँदा) शान्त बस्ने कोसिस गर्ने धेरै डाह, छट्पटी नगर्ने भित्तामा पलङ्गमा टाउको नठोक्ने वा परिवारका अन्य सदस्यहरुलाई टाउको थिच्न नलगाउने ।

– दरिलो कपडाको पट्टी जस्तो बनाएर राम्रोसँग निधार वरिपरिबाट बाँधेर राख्ने ।

– व्यस्त जीवनलाई बिस्तारै सामान्य बनाउँदै जाने ।

– दिउँसो, मध्याह्नमा नसुत्ने ।

– प्रशस्त मात्रामा पानी पिउने ।

– राम्रा, रमाइला, र रोचक पत्रपत्रिका पढ्ने बानी गर्ने ।

 

यसरी माथि उल्लिखित कुराहरुलाई मात्र हामीले लागू गर्न सक्यौं भने रोगले घना आक्रमण गर्न पाउँदैन र सामान्य बनाउँदै जान सकिन्छ ।

उपचारतर्फको कुरा गर्दा सर्वप्रथम त बिरामीलाई दुखाइ कम गर्नका लागि कुनै सामान्य ‘पेन किल्लर’को प्रयोग गर्न सकिन्छ नै, तर सधैंका लागि भने अर्थात् यो रोगको लागि यै खाइराख्ने भन्ने चैं पक्कै छैन । माथि भनिएझैं वास्तविक रोगको कारण पत्ता लगाउने कोसिस गर्नु अत्यन्त जरुरी हुन्छ चाहे त्यो एलोपेथी प्रविधिको होस् वा आयुर्वेद अथवा प्राकृतिक चिकित्साको नै किन नहोस् । त्यसपछि मात्र रोगले वास्तविक उपचार पाउँछ र रोगीले रोगमुक्त जीवन ।

मानव मष्तिस्क अत्यन्त संवेदनशील छ र यो मष्तिस्कभरि नै २४ सै घण्टा अत्यन्त ठूलो परिमाणमा रक्त सञ्चार भइरहने हुन्छ, जसका लागि शरीरमा पानी र अक्सिजनको यथेष्ट मात्रा आवश्यक पर्दछ । जब कुनै एक भागमा मात्र (मष्तिस्कको) यो चाप सहन गर्ने शक्ति हुँदैन वा सो रक्तको बहावलाई सुचारु गराउन सक्दैन । त्यसपछि यो रोगको सुरुवात हुन जान्छ । र जति पछि हुँदै गयो ती नसाहरु खुम्चने क्रम बढ्दै जान्छ (कन्ट्राक्सन प्रोसेस अफ नर्भस अराउण्ड सेरेब्राल प्लक्सेस) र चाँडैचाँडै दुख्ने क्रम पनि हुँदै जान्छ (डुरेसन अफ माइग्रेसन टिगर) । त्यसैले मानसिक रुपमा शान्त रहनुपर्ने यस रोगमा बढीभन्दा बढी शतर्क त बिरामी आफैंले पनि रहनुपर्ने हुन्छ ।

हठयोग साधना, षट्क्रम विधिका विधिहरु जस्तै– जलनेती, सुत्रनेती वा कुञ्जल क्रिया, प्राणायामका विविध अभ्यासहरु, ध्यानको अभ्यास साथै शिरो भागको हलुका व्यायाम, हलुका मसाज आदि अत्यन्तै राम्रो प्रयास हुन सक्छ यो रोगको घना आक्रमणबाट बच्नका लागि भने यी सबै अभ्यासहरु दक्ष गुरु, शिक्षक, प्रशिक्षक वा प्राकृतिक चिकित्सा केन्द्रहरुमा गएर सिक्न र उपचार लिन सकिन्छ तर यस्ता अभ्यासहरु टेलिभिजनमा देखेर, पत्रपत्रिकामा पढेर वा अरुले गरेको देखेर गर्ने प्रयास नगर्नु नै बेश हुनेछ अन्यथा राम्रोका लागि गर्ने नराम्रो पक्षहरु बढ्दै जाने सम्भावना रहन्छ ।

तर, जुन मष्तिस्कस्थित नसाहरु छन् जो पूर्णरुपमा सञ्चालन हुन सकिरहेका छैनन् तिनीहरुलाई ब्यवस्थित गर्नका लागि प्राकृतिक उपचार अत्यन्तै राम्रो पक्ष मानिएको छ । जसले ती नसाहरुलाई फेरि सुचारुरुपमा सञ्चालनमा लिएर आउन सक्छन् र बिरामीलाई पूर्णरुपमा रोगबाट मुक्त हुँदै गएको महसुस हुँदै जानेछ । तर यस्ता उपचारहरु गर्नका लागि पनि दक्ष शिक्षक वा व्यक्तिबाट गराउनु उपयुक्त हुनेछ ।

समस्त लोका सुखिनो भवन्तु !

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा