पञ्चायतमा नीताको छाउपडी अनुभव

पञ्चायतमा नीताको छाउपडी अनुभव

 

नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरुमा अझै पनि ज्वलन्त रहेको प्रायः हिन्दू धर्मका धेरै समुदायहरूमा छाउपडी प्रथा मान्ने गरिन्छ । तर, तिनका सीमाहरूमा भने व्यापक भिन्नता पाइन्छ । रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको छ ।

 

महिनावारीलाई मासिक धर्म पनि भनिन्छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र मध्यपश्चिमका कर्णाली लगायत मुलुकका दुई दर्जनभन्दा बढी ग्रामीण जिल्लाहरुमा यो प्रथा अझै कायमै छ । यही विषयमा नेपाली कथानक चलचित्र ‘पञ्चायत’ निर्माण भएको छ । ५० वर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई चलचित्रमा देखाइएको छ । अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना प्रमुख भूमिकामा रहेका छन् ।

 

चलचित्रमा १४ वर्षे किशोरी बन्नका लागि २५ वर्षे नीताले निकै मिहिनेत गर्नुपरेको थियो । नीताले चलचित्रमा निर्वाह गरे जस्तै छाउपडी बस्दाको दुःख पनि सम्झेकी छन्। ‘छाउपडी बस्नु भनेको छोरीहरुका लागि निकै दर्दनाक क्षण हो । १२ वर्षको हुँदा मेरो पहिलो रजश्वला भयो । मलाई पनि त्यसरी नै लुकाइएको थियो । अरुको घरको एक अँध्यारो बन्द कोठाभित्र’, नीताले भनिन्– ‘त्यसबेला निकै दुःख भोगेकी थिएँ । दलितलाई गरेको जस्तै व्यवहार त्यसबेला ममाथि पनि भयो । शारीरिक रुपमा गाह्रो हुन्थ्यो । पेट दुख्थ्यो । परिवारलाई धेरै मिस गरिन्थ्यो । परिवारले सपोर्ट गरिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, त्यसबेला कोही पनि हुँदैन थियो । आमाले समेत छुनुहुन्न थियो ।’ त्यो दिन सम्झिँदा अहिले पनि उनलाई भक्कानिएर रुन मन लाग्छ । १४ दिन बन्द कोठामा बस्दा धेरै पटक रोएको उनले बताइन् ।

 

नीताले चलचित्र ‘पञ्चायत’ मा छाडपडी बस्दाको एक युवतीको दर्दनाक कथा प्रस्तुत गरिएको बताइन् । नीता भन्छिन्– ‘७ वर्ष अगाडि नै मकहाँ यो फिल्मको स्क्रिप्ट आएको थियो । त्यतिबेला मैले त्यो भूमिकामा फिट हुँदिन भनेर रिजेक्ट गरें । फेरि निर्देशक शिवम् अधिकारीले मलाई १४ वर्षे युवतीको भूमिका निर्वाह गर्न सक्छौं भनेर आत्मविश्वास दिलाए । राम्रो स्क्रिप्ट भएका कारण मलाई फिल्म छोड्न मन थिएन । अनि, ‘पञ्चायत’ गरेँ ।’

अभिनेता सरोज खनाल चलचित्रको हिरो र हिरोइन दुवै नीता रहेको बताउँछन् । सरोज भन्छन्– ‘चलचित्रमा मैले प्रधानपञ्चको भूमिका निर्वाह गरेको छु । चलचित्रको नाम ‘पञ्चायत’ भए पनि पञ्चायती व्यवस्थाको गुन गाएका छैनौं । अवगुण पनि देखाएका छैनौं । मात्र हामीले त्यतिबेलाको न्याय व्यवस्थालाई देखाउने कोसिस गरेका छौं ।’

 

अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहरमा आयोजित ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले विदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । यो चलचित्रमा सरोज र नीताका अलावा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारी हुन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा