पुनः असाइलमको निवेदन पेश गर्न सक्छु होला ?

पुनः असाइलमको निवेदन पेश गर्न सक्छु होला ?

 

रमेश श्रेष्ठ

 

मैले असाइलमको निवेदन पेश गरेपछि पेन्डिङ अवस्थामा थियो । त्यहीबेला नेपालका लागि टीपीएस खुलेको र ज्याक्सन हाइट्सको एक सामाजिक संस्थाले निशुल्कसेवा प्रदान गरेको थियो । उक्त संस्थाका अधिकारीहरुले सुझाव दिएअनुसार असाइलम गरेर सो निवेदन विचाराधीन निवेदनलाई केही पनि असर पर्दैन भनेकाले टीपीएस नवीकरणका लागि खुलेपछि सोही संस्थामा गई टीपीएस नवीकरण गरें । गएको ३ हप्ताअघि मेरो असाइलमको निवेदनको अन्तरवार्ता भयो । गत हप्ता निर्णय लिन गएँ । अध्यागमन अधिकारीले मेरो निवेदन स्वीकृत नभएको अन्तिम निर्णय भनी निवेदन अस्वीकृत गरिदियो । अहिले मलाई थाहा भयो कि मेरो केस अब इमिग्रेसन अदालत नजाने हुन्छ रे र टीपीएसको म्याद सकिएमा नेपाल फर्कनुपर्छ रे । यो के सत्य हो ? यदि हो भने के मैले कुनै अन्य उपाय गरेर पुनः असाइलमको निवेदन पेश गर्न सक्छु होला ? सुझावका लागि धन्यवाद ।

– पुकार, न्यूयोर्क

 

कुनै पनि मुलुकका लागि अमेरिकी सरकारले टीपीएसको सुविधा प्रदान गरेको छ भने उक्त मुलुकका नागरिकहरुले अन्य शर्तहरु पूरा गरेको खण्डमा जेजस्तो स्टाटस (वैध वा अवैध) जे भए पनि टीपीएसको निवेदन पेश गर्न सक्नेछन् । नेपाललाई टीपीएस खुलेको बेलामा नेपाली नागरिकहरुले पनि लिगल वा इलिगल जुनसुकै स्टाटस भए पनि टीपीएसको निवेदन पेश गरी उक्त सुविधा तथा टीपीएसको स्टाटस टीपीएसको अवधिसम्मका लागि प्राप्त गर्न सक्नेछन् । अध्यागमनको कानूनअनुसार टीपीएस प्राप्त गरेपछि उक्त व्यक्तिलाई अमेरिकामा लिगल स्टाटसमा भएसरह मानिनेछ । त्यसैगरी लिगल स्टाटसमा भएको विदेशी नागरिकहरुलाई डिपोर्टेसन प्रोसिडिङमा राखी कारबाही गर्न नमिल्ने हुन्छ । त्यसैले तपाईंले टीपीएसको स्टाटस प्राप्त गरेपछि विगतमा तपाईंको इमिग्रेसन स्टाटस समाप्त भएको वा इलिगल भएको भए तापनि तपाईं अमेरिकामा कानूनीरुपमा रहेको मानिनेछ ।

त्यसैले तपाईंको असाइलमको निवेदन असाइलम अफिसरले अस्वीकृत गरे तापनि तपाईं टीपीएसमा रही कानूनीरुपमा स्टाटसमा रहनुभएकाले तपाईंलाई डिपोर्टेसनका लागि कारबाही भनी इमिग्रेसन अदालतमा पठाउन नमिलेकाले तपाईंको असाइलमको निवेदनलाई अन्तिमरुपमा अस्वीकृत भनी तपाईंको असाइलमको केसलाई बन्द गरिएको हो ।

तपाईंको असाइलमको केस पूर्णरुपमा बन्द भए पनि टीपीएस स्टाटस रहुन्जेल तपाईंलाई कुनै पनि समस्या हुने छैन ।

तर, तपाईंको असाइलमको केस पूर्णरुपमा अस्वीकृत भएकाले अर्को नयाँ निवेदन पेश गर्न वा रिओपन गर्न सकिने छैन । नयाँ निवेदन पेश गर्ने विषयमा यदि नेपालको अवस्थामा आमूल परिवर्तन आई सो परिवर्तन तपाईंको जिउज्यानका लागि खतरापूर्ण हुने भएको खण्डमा देशको परिवर्तित अवस्थाको आधारमा नयाँ निवेदन पेश गर्न सक्नुहुनेछ ।

तर, अहिलेको अवस्थामा भने टीपीएसबाहेक तपाईंको अन्य कुनै उपाय नभएको देखिन्छ । तर, असाइलमको बाहेक अन्य तरिकाबाट ग्रीनकार्ड प्राप्त गर्ने अवसथा भए टीपीएस समाप्त हुनु अगावै त्यसप्रति अमल गर्न हुन सुझाव छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार