निरुताको रि–इन्ट्री तयारी

निरुताको रि–इन्ट्री तयारी

स्वाभाविक अभिनयकी धनी नायिका निरुता सिंह नेपाली चलचित्रबाट लगभग आउट बनेको एक दशक हुन लागिसकेको छ । एक समय नेपाली चलचित्रमा अत्यन्त चर्चाको शिखरमा रहेकी निरुता चर्चामा रहेकै बेला भारतको मुम्बई पलायन बनेकी हुन् । तर, उनी बलिउडमा धूम मचाउन पुगेकी भने होइनन् । इन्टेरियर डिजाइनको व्यवसायमा लाग्न उनले अभिनय यात्राबाट ट्र्याक मात्र चेञ्ज गरेकी हुन् ।

निरुताको उक्त व्यवसायमा भनेजस्तो सफलता पाएकै कारण उनी नेपाली चलचित्र उद्योगमा चाहेर पनि फर्कन पाइनन् । व्यवसायमा निकै व्यस्त भएको उनले बताइन् । लामो समयदेखि नेपाली चलचित्र उद्योगबाट टाढिएकी निरुता फेरि फर्कने प्रयासमा रहेकी छन् । राम्रो तथा दमदार चलचित्रमार्फत नेपाली चलचित्र उद्योगमा रिइन्ट्री मार्ने तर्खरमा निरुता रहेकी छन् । त्यसका लागि आफैंले चलचित्र निर्माण गरेर भए पनि अभिनय यात्रामा पुनः फर्किने खुलासा गरिन् ।

दर्पणछायाँ, लहना, दुई किनार लगायत थुप्रै नेपाली चलचित्रमा अभिनय गरेर धूम मचाएकी निरुताले हालै कतारमा आयोजना भएको एक सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका दर्शकको माया पाउन नेपाली चलचित्रमा फर्किने ठूलो रहर तथा तयारी भइरहेको खुलासा गरेकी थिइन् । आफू जहाँ जुन अवस्थामा रहेको छु, त्यो नेपाली चलचित्रले दिलाएको हो भनेर सगौरव बताउने उनी नेपाली चलचित्रका आफ्ना प्यारा दर्शकहरुलाई हरपल सम्झिरहने र नेपाली चलचित्रलाई हरपल मिस गरेको अनुभव शेयर गरिन् ।

उमेरले ४० वर्ष नाघिसकेकी निरुताले विवाहको विषयमा पनि मुख खोलिन् । उनी आफूले चाहेर विवाह नहुने बताउँछिन् । भन्छिन्– ‘भगवानले माथिबाटै जोडी जुराएर पठाएका हुन्छन् रे ! मेरो लागि पनि कोही जुराएर पठाएका होलान् नि !’ निरुताले अभिनेता राजेश हमालको विवाहको खबर पहिलो पटक सुन्दा अचम्म लागेको सुनाइन् । ‘उहाँले धेरै पटक मसँग कुरा हुँदा विवाह गर्दिन भन्नुहुन्थ्यो,’ उनी भन्छिन्– ‘जब उहाँको विवाहको खबर सुनें, अचम्म लाग्यो र खुसी पनि भएँ ।’

एक समय निरुता र हमालको अफेयरको हल्लाले सिनेवृत्त तरंगित बनेको थियो । धेरैले दुबै अविवाहित भएका कारण विवाह हुनसक्ने अड्कल पनि नकाटेका होइनन् । यसले गर्दा पनि राजेश हमालको मधु भट्टराईसँग भएको विवाहबाट उनी अचम्भित बनेकी हुन् । आफ्नो पनि विवाह हुने र विवाहको सपना आफूले पनि कयौंपटक देखेको भए तापनि चाहेजस्तो वर नमिलेको उनले बताइन् । निरुताले सन् १९९३ मा तुलसी घिमिरे निर्मित तथा निर्देशित चलचित्र ‘दक्षिणा’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार