शरणार्थी निवेदनको अन्तरवार्तासम्बन्धी अमेरिकी अध्यागमनको नयाँ नीति

शरणार्थी निवेदनको अन्तरवार्तासम्बन्धी अमेरिकी अध्यागमनको नयाँ नीति

रमेश श्रेष्ठ

 

नेपालबाट भिसा लिएर आएको ३ महिना भयो । मैले एसाइलमको निवेदन पेश गर्ने विचार गरेको छु । तर, अहिले एसाइलमको निवेदन पेश गरेको केही हप्तामै एसाइलम अफिसले अन्तरवार्ता लिने र यदि पास हुन नसके सिधै डिपोर्टेसन गर्ने भनेर युएससीआईएसले नयाँ नीति लिएको छ भन्ने सुनें । के यो सत्य हो ? यदि मैले निवेदन पेश नै गर्ने निधो गरेमा केके कुरामा ध्यान दिनुपर्छ होला ? कृपया झर्को नमानी बताइदिनुहोला ।

– दिपेश, रिजउड, न्यूयोर्क

 

अमेरिकी अध्यागमनले एसाइलमको निवेदनहरुलाई छिटो, छरितो र प्रभावकारीरुपमा अगाडि बढाउन पटकपटक विगतमा पनि नयाँ नीतिहरु अपनाए जस्तै यही गएको जनवरी २९, २०१८ मा पनि अन्तरवार्ता र निवेदनलाई छिटो र प्रभावकारीरुपमा अगाडि बढाउने हेतुले नयाँ नीतिको घोषणा भएको छ । यस घोषणाअन्तर्गत अध्यागमनमा पेश भएका निवेदनहरुलाई मुख्यरुपमा ३ वर्गमा विभाजित गरेको छ र त्यसैका आधारमा अन्तरवार्ताको लागि प्राथमिकता दिनेछ । ती ३ वर्गहरु यस्ता छन्–

पहिलो प्राथमिकतामा पर्ने निवेदनहरुमा त्यस्ता निवेदनहरु पर्दछन्, जसका लागि अन्तरवार्ताको लागि मिति तय गरिएको तर निवेदकको अनुरोध वा युएससीआईएसको आफ्नै कारणले पूर्व तय भएको अन्तरवार्ताको मितिलाई सारी पुनः मिति तय गर्नुपरेको थियो ।

दोस्रो प्राथमिकतामा पर्ने निवेदनहरु त्यस्ता निवेदनहरु हो, जो यो घोषणा भएको मितिपछि दाखिल भएको र दाखिल भएको दिनदेखि २१ दिन वा कम दिनसम्म पेन्डिङ रहन गएको छ ।

तेस्रो प्राथमिकतामा पर्ने निवेदनहरु ती निवेदनहरु पर्दछन्, जो यी दुवै वर्गमा पर्दैनन् । र, एसाइलम अफिसमा पेन्डिङ अवस्थामा रहेका छन् । यी वर्गमा पर्ने निवेदनहरुलाई अन्तरवार्ताको लागि मिति तय गर्दा नयाँ दर्ता भएका निवेदनहरुबाट शुरु गरी पुरानो मितिमा दर्ता भएका निवेदनहरुतर्फ जाने गरी एसाइलमका अन्तरवार्ताको लागि मितिहरु तय गर्ने व्यवस्था छ ।

यी माथिका ३ वर्गमा विभाजित भए तापनि कुनै पनि एसाइलमका निवेदनहरुलाई आकस्मिक जरुरी भएको कारण देखाई अन्तरवार्ताको लागि मिति तय गरी पाऊँ भनी निवेदन परेको खण्डमा एसाइलम अफिसको डाइरेक्टरलाई उक्त निवेदनउपर कारबाही गरी केस बाई केसका आधारमा वर्ग ३ मा परे तापनि एसाइलम अन्तरवार्ताको लागि मिति तय गर्न सक्नेछ ।

यो नयाँ नीति लागू गर्नुपरेको मुख्य कारणहरुमा एसाइलमको निवेदनहरु २ वर्ष वा बढीसम्म ब्याकलगमा पर्न गएकाले धेरै निवेदनहरु सत्यतामा आधार नभएकोवा आधारहीन वा मनगढन्ते कहानीयुक्त निवेदनहरुलाई रोक लगाउनु नै हो । जसको आधारमा त्यस्ता आधारविहीन शरणार्थीको निवेदनका निवेदकहरुले वर्क परमिट प्राप्त गर्ने एउटा साधन मात्र रहन गएको थियो । अर्थात्, यस नीतिको मुख्य उद्देश्य आधारविहीन निवेदनहरुलाई हतोत्साह गरी त्यस्ता निवेदकहरुलाई रिमोभल प्रोसिडिङको कारबाहीमा पार्न र सही र सत्यमा आधारित निवेदनहरुलाई छिटो र छरितो रुपमा कार्यान्वयन गरी न्याय दिलाउनु हो ।

तपाईंको प्रश्नको उत्तरमा, यदि तपाईंले शरणार्थीको निवेदन पेश गर्ने निर्णय गर्नुभएको हो भने आफ्नो पूर्ण बयान, कागजपत्र (सबुत प्रमाण)हरु पूर्णरुपमा तयार पारेपछि मात्र उक्त निवेदन युएससीआईएसमा पेश गर्ने सुझाव छ । २१ दिनपछि अन्तरवार्ताको मिति आएर अन्तरवार्तापछि यदि तपाईंको निवेदन स्वीकृत नभएमा दुई कुरा हुन सक्छ । (१) यदि तपाईंलाई अन्तरवार्ताको पछिको निर्णय दिंदा तपाईंको भिसा वैध नै भए तपाईंलाई फाइनल डिनाइल वा अन्तिम अस्वीकृति भनेर निर्णय दिनेछ र बाँकी रहेको भिसा समाप्त हुनुअगावै युएसए छाडी जानु भनी आदेश दिनेछ । (२) यदि उक्त निर्णयको समयमा तपाईंको भिसा समाप्त भइसकेको भए तपाईंलाई रिमुभल प्रोसिडिङमा राखी अध्यागमन अदालतमा पठाउनेछ । यो नम्बर २ को अवस्था पर्न आए अध्यागमन न्यायाधीशसमक्ष गई फेरि पनि एसाइलमको लड्न सक्नु हुनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार