यसरी निर्मूल पारौं पाइल्स रोग

यसरी निर्मूल पारौं पाइल्स रोग

 

योगआचार्य डा. अभयराज उपाध्याय

 

पाइल्स अंग्रेजी नाम हो । जसलाई हिन्दी भाषामा बबासिर र संस्कृतमा अर्श भन्ने गरिन्छ । यो रोग मलासयसम्बन्धी रोग हो । प्रारम्भिक अवस्थामा यस रोग लागेमा गुदा क्षेत्रमा बाहिर र भित्र चिलाएको र हल्का पोलेको महसुस हुन्छ । भित्र चिलाएको र पोलेको स्थानमा स–साना गिर्खा (खटिरा)हरु निस्कन्छ । पछि यही खटिराले ठूलो रुप लिन्छ र मल त्यागको अवस्थामा फुट्ने र रगत बहने हुन्छ । यस्तो अवस्थालाई रगतजन्य पाइल्स भनिन्छ । अर्कोथरी पाइल्स पनि हुन्छ, जसमा रगत निस्कँदैन । तर, अत्यधिक वेदनात्मक पोलाई हुन्छ । जसका कारण बिरामीलाई मलत्याग गर्ने भन्नेबित्तिकै डर लाग्ने हुन्छ । गुदा क्षेत्रसँग सम्बन्धित अन्य रोगहरु जस्तै– फिष्टुला, फिस्योर पनि हुन् । रोगको अन्य नाम तथा प्रकृति फरक भए तापनि यस क्षेत्रसँग सम्बन्धित चिकित्सा, आसन आदि एकै प्रकारका हुन्छन् ।

यो आफैंमा एउटा रोग नभई शरीरभित्र अरु रोगहरुको पनि संकेत हो । विशेषगरी यो रोग अहिलेको सभ्य र आधुनिक जीवनशैलीको रोग हो भन्दा फरक नपर्ला । आधुनिकताको क्रममा हामी जति उभिएर वा चाँडै खाने (फास्ट फुड) खाना खान्छौं, त्यति नै मात्रामा यो रोगको प्रबल सम्भावना रहने गर्दछ । अत्यधिक अमिलो, पिरो, मसालेदार तथा फास्टफूडहरु, डिब्बा बन्द खाद्य एवम् पेयपदार्थहरु, माछा, मासु एवम् मद्यपान यस रोगका प्रमुख कारक तत्व मानिन्छन् ।

अर्कोतर्फ शारीरिक व्यायाम नगर्ने, पानी कम पिउने, क्षारीय तत्वहरु कम खाने, सागपातको प्रयोग नगर्ने, रसिलो खाना नखाने, अत्यधिक विश्राम गर्ने, आवश्यकभन्दा बढी भोजन गर्ने, भोजनपश्चात् तुरुन्तै आराम गर्ने, सुत्ने एवम् मैथुनिक क्रियामा संलग्न हुनेलगायत यस रोगका थप कारक तत्वहरु मान्न सकिन्छ । यसबाहेक दिसा राम्रोसँग नहुनु वा दुई–चार दिनमा थोरै दिसा हुनु अर्को कारक तत्व हो । जब मानव शरीरमा कब्जियत शुरु हुन्छ, यसको असर आँत (आमाशय)मा पर्दछ र आमाशय क्षेत्रमा पूरै गरम वायुको प्रकोप बढ्छ, जसको असरले आमाशय अत्यन्त कमजोर रहन्छ, यो कमजोरपनले गुदा क्षेत्रमा भारीपन, गह्रौंपनाको विकास हुन्छ र यस क्षेत्रको अन्तिम भाग (गुदाको छेउ)मा दूषित रगत जम्मा हुन थाल्छ र पछि गएर यही रगत नै खटिराको रुपमा देखा पर्छ ।

साथै, बिस्तारै यो विकसित हुँदै जान्छ र रोग एउटा दीर्घ अवस्थामा पुग्दछ । कुनै कुनै अवस्थामा त हातखुट्टाहरु सुन्निने, अनुहार, मुखमा सुजन हुने, गुदा, नाभी क्षेत्रमा समेत सुजन हुने हुन्छ र यसको अन्तिम असर गुदा क्षेत्र पाक्नेसमेत हुन्छ, जो अत्यन्तै कष्टदायक हुन्छ । त्यसैले यस रोगको समाधानका लागि केवल विदेशी औषधि (एलोपेथी मेडिसिन) खाएर मात्र निको पार्छु वा अप्रेशनबाट निको पार्छु भन्नु मुख्र्याइँ सिवाय अरु केही हुँदैन । जबसम्म रोगी आफूले आफ्नो आचरण र खानपानमा सुधार ल्याउँदैन त्यस बेलासम्म यो रोग शरीरमा रही नै रहन्छ र पछि गएर कुनै खाएको कुराहरु नपच्नेसमेत हुन्छ ।

त्यसैले यस रोगलाई औषधी खाएर वा अप्रेशन गरेर निको गर्नेतर्फभन्दा बढी जोड खानपानको व्यवस्थापन साथै व्यायाम (योग अभ्यास) र विश्रामको संयोजन र प्राकृतिक तवरका केही उपचार मिलाउनुपर्ने हुन्छ । यहाँनिर एउटा उक्ती अत्यन्त सान्दर्भिक हुन आउँछ– ‘डाक्टरहरुले भन्दा आफूले खाएको खानाले आफूलाई संरक्षण दिन सकिन्छ ।’ तर, अवश्य नै आपतकालीन अवस्थामा भने विदेशी औषधि र आवश्यक परेमा अप्रेशनसमेत गराउनुपर्ने हुन्छ । त्यसपछि पनि रोगको संक्रमण हुन सक्ने सम्भावना भने रही नै रहन्छ । त्यसैले हाम्रो दैनिकी र खानपानलाई हामीले व्यवस्थित गर्न सक्यौं भने मात्र पनि कतिपय यस्ता रोगहरु छन्, जसका लागि हामीले औषधिमा मात्र भर पर्नु पर्दैन ।

पंक्तिकारले यस रोगको विभिन्न उमेर र अवस्थाका रोगहरुमा गरिएको परीक्षण एवम् अनुसन्धानका क्रममा धेरै बिरामीहरुले आफू रोगबाट मुक्त भएको महसुस गरेका छन् । जो हामीले सरल र दैनिक जीवनमा सजिलै अवलम्बन गर्न सक्छौं । ती उपायहरु निम्न अनुसार छन् ः

– सबै कब्जियत रोगीलाई पाइल्स हुन्छ भन्ने छैन । तर, सबै पाइल्स रोगीलाई अवश्य कब्जियत हुन्छ, त्यसैले सर्वप्रथम पाइल्स रोगीले कब्जियत खुलाउनुपर्ने हुन्छ । पानी पिउने मात्रा बढाउने, आयुर्वेद एवम् प्राकृतिक जडिबुटीको प्रयोग गर्न सकिन्छ ।

– प्रातः सुर्योदयभन्दा पहिला शैया त्याग गर्ने ।

– उठिसकेपछि मुख सफा (कुल्ला) गरेर कम्तीमा एक लिटर मन तातो पानी पिउने (उषः पान) विशेष गरी तामाको भाँडामा अघिल्लो रात राखेको पानी (बासी पानी) ।

– हलासनको अभ्यास गर्ने (हठ योगको एक आसन)

– मल त्यागका लागि कोसिस गर्ने, फूर्तिलो हुने । मल त्यागको अवस्थामा धेरै बल प्रयोग नगर्ने ।

– हलुका व्यायाम (शक्ति सञ्चालन क्रिया), यौगिक क्रिया जस्तै उभिएर गरिने दुई–४ वटा आसनहरु, बसेर गरिने केही आसनहरु, केही विपरीत आसनहरु (यी आसनहरु विशुद्ध यौगिक आसन भएको हुँदा र साथै उमेर, रोगको अवस्था र बिरामीको शारीरिक अवस्थाको परीक्षणपश्चात् गर्नुपर्ने भएको हुँदा आसनको नाम उल्लेख गरिएको छैन । तर, आफूलाई पायक पर्ने नजिकैको योग आश्रममा सम्पर्क राखी दक्ष गुरु वा प्रशिक्षकसँग जानकारी प्राप्त गर्ने ।

– योगको अभ्यासपछि केही क्षण विश्राम गरी तुलसी पेय, जडिबुटी, हर्बल टी, हर्बल कफी आदी पेय पिउने ।

– बिहानको खाना यथासमयमा खाने, खाना खाँदा कमसेकम मात्र पानी पिउने र हातमुख धोएपछि कम्तीमा ३० मिनेट वज्रासनमा (घुँडा मारेर) बस्ने ढाड–कम्मर सिधा राख्ने र अर्को ३० मिनेटपछि दुई–चार गिलास पानी पिउने त्यसपछि पनि एक–एक घण्टामा एक–दुई गिलास पानी पिउँदै गर्ने । साँझ परेपछि पानीको मात्रा कम गर्ने ।

– दिउँसोको समयमा अंकुरित गेंडागुडी, काँक्रो, गाजर, मुला, गोलभेडा इत्यादि फलहरु खाने । यसभन्दा बढी खान परेको खण्डमा शुद्ध आँटाबाट बनेको सुख्खा रोगी दुई पिस खान सकिन्छ । गर्मीयाममा मोही एक–दुई गिलास पिउन सकिन्छ ।

– साँझ (राति) को खाना ८ बजेसम्ममा खाइसक्ने र खानापछि ३० मिनेट जति वज्रासनमा बस्ने त्यसपछि मात्र अन्य काममा लाग्ने करिब २ घण्टापश्चात् मात्र सुत्ने । सुत्दा बायाँ कोल्टेमा बढी समय सुत्ने ।

– खानामा दाल, हरियो तरकारी एवम् तरकारीको रसलाई वृद्धि गर्ने, सागको प्रयोग बढी गर्ने, अमिलो, पिरो, बढी चिल्लो र मसलाहरुको प्रयोग कमसेकम गर्ने । धुलो खुर्सानीको प्रयोग बन्द गर्ने ।

– फास्टफूडहरु ममः, पिजा, सेकुवा, वर्गर तथा अन्य मासुको परिकार बन्द गर्ने र मासु खानुपर्दा रसलाई जोड दिने र वनस्पति घिउको प्रयोगबाट पूर्णरुपमा सजग रहने ।

– रोगको चापको अवस्था र शारीरिक अवस्था हेरी मैथुनिक क्रियाकलापमा सम्पर्क हुने ।

– यसरी आफ्नो दैनिकी, खानपानको व्यवस्थापन र आचरणमा सुधार गरेमा मात्र पनि यस रोगको घना संक्रमणबाट मुक्ति पाइन्छ, जुन आचरणले दीर्घ र निरोगिता सदा कायम रहिरहन्छ ।

पुनश्चः यो अभ्यास क्रम धेरै बिरामीहरुमा सफल प्रयोग भइसकेको हुँदा जो यस रोगबाट पीडित हुनुहुन्छ उहाँहरुले माथि उल्लेखित आचरणहरुलाई सजिलै अपनाउन सक्नु हुनेछ र अवश्य पनि केही दिनपछि आफूमा रोगको चाप हल्का भएको र शरीर स्फूर्त रहेको महसुस गर्नु हुनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार