ठीक बोल्यौ मन्त्रीज्यू, लागू पनि गर

ठीक बोल्यौ मन्त्रीज्यू, लागू पनि गर

 

– योगेश आदी

 

टर्कीको अन्तालिया शहरमा टर्किस नै बिहे गरी घरजम गर्दै आएका कुमार श्रेष्ठ गत वर्ष ४ महिना अमेरिका बसेर न्यूयोर्कबाट टर्की फर्किने बेलामा रहर पूरा गर्न भनी अमेरिकामा किनेको आईफोन ७ को बिल इत्यादिका बारेमा चिन्ता गर्दै थिए । मैले सोधें– ‘यो फोनको टर्कीमा कति पर्छ मामा ?’ ‘१ हजार युरो जति पर्छ ।’ मूल्य सुनेर म जिल्ल परें । प्रायः युरोपभरि नै आईफोन अमेरिकाभन्दा २–४ सय डलर महँगो पर्ने जानकारी पाएँ । कारण सोधें– ‘किन यस्तो भयो ?’ उहाँले बेलिबिस्तार लाउन थाल्नु भो– ‘मैले किनेको यो फोन सेट अनलक भए तापनि मैले टर्की प्रवेश गरेपछि यो फोनलाई ५० डलर जति तिरेर दर्ता गराउनुपर्छ, नत्र चल्दैन । टर्की लगायत समाजवादी व्यवस्था भएको युरोपका कतिपय देशहरुमा यस्तै व्यवस्था छ । टर्की सरकारले जथाभावी फोन तस्कर रोक्न र फोनजन्य अपराध कम गर्न यसो गरेको हो । टर्कीले अर्बौं राजस्व फोनबाट नै उठाउँछ ।’ 

गतहप्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्षदेखि नेपाल भित्रिने मोबाइल फोनको आईएमआई नम्बर दर्ता नगरी नेपालमा चलाउन नपाइने व्यवस्था लागू गर्नुपर्ने बताएपछि मलाई मामा कुमार श्रेष्ठसँगको व्यावहारिक वार्तालापका अंशहरु झल्झली दिमागमा आएको छ ।

म पूँजीवादी प्रतिस्पर्धात्मक अमेरिकी खुल्ला अर्थव्यापारमा रत्तिएको भए तापनि तत्कालै तर्क गर्न सकिन । सबै पसलमा नुन, तेल, जिरा, मट्टीतेल, प्याज, आलुको भाउ एउटै हुनुपर्छ भन्ने समाजवादी बजार व्यवस्था भएको देश नेपालमा ३१ वर्ष बिताएको हुनाले उहाँको कुरा गलत पनि लागेन । अमेरिकामा १० ओटा पसलमा एउटै चिजको १० थरी भाउ भए पनि सरकारलाई मतलब हुँदैन । इच्छा नभए अर्कोमा गएर किन्न स्वतन्त्र छौं भन्छन् । सरकारको नियन्त्रण बजार भाउमा हुने देश भएकोले नेपालमा सरकारले मोबाइलमा अतिरिक्त कर लगाउनु नौलो कुरा होइन । उपहार पाउनेले पनि पाएको उपहारमा २–३ हजार कर तिरेर स्वामित्वकरण गर्दा के हानि भयो र ? २०५३ सालमा भ्याट लागू गर्न खोज्दा न्यूरोडभरि डा. रामशरण महतको सयौं पुत्ला जलाएका थिए । कालान्तरमा त्यही भ्याटकै कारणले देश १० वर्ष द्वन्द्वमा फस्दा पनि अर्थतन्त्र घस्रेरै भए पनि थेगिएको थियो । हामी परिवर्तनदेखि डराउँछौं । परिमार्जित व्यवस्था नै विकासको आयाम हो । सुधारिएको परिवर्तन नै विकास हो । अरुको राम्रो परिपाटीको नक्कलभित्र नै विकासगामी परिवर्तनको विम्ब हुन्छ ।

सपना देख्ने र देखाएर कन्भिन्स गराउने हिम्मत राख्ने नेताबाट नै परिवर्तन सम्भव हुन्छ । सुधार गर्ने दृढ संकल्प राख्ने व्यक्तिलाई लामो समयावधि चाहिँदैन । मोतीराम भट्टले जम्मा ३० वर्ष बाँचेर नै सयौं वर्षको ख्याति कमाएका छन् । जिसस क्राइष्ट ३३ वर्ष बाँचेर नै हजारौं वर्ष चम्किए । सिद्धार्थ गौतमले केवल ७ वर्षको ध्यान साधनामा नै बुधत्व प्राप्त गरेका थिए । कुलमान घिसिङले १ वर्षको प्रयासमै लोडसेडिङ हटाएका थिए । यसर्थ, नवीनतम् काम गर्न खोज्नेलाई सहज वातावरण दिनुपर्दछ ।

भिजन भएका सबै नेता हुँदैनन् । सबै नेतासँग भिजन हुँदैन । भिजन भएका र नेता पनि बनेका केहीले नै समाज परिवर्तन गरेका हुन्छन् । ती बर्बर गृहयुद्धका समयमा सही नेतृत्व गरी दास प्रथालाई उन्मूलन गर्ने अब्राह्म लिंकनसँग भिजन थिए, रणनीति थिए । मत्स्य न्याय र भौतिक द्वन्द्वबाट मात्रै समाजमा क्रान्ति सम्भव छ भन्नेहरुलाई गान्धीले अहिंसा र सद्विचारको सम्प्रेषणबाट पनि समाजमा ठूला परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण पेश गरे । देश त्यतिबेला मात्रै समृद्धिको बाटोमा लम्कन्छ, जतिबेला जनता परिवर्तन स्वीकार गर्न तयार हुन्छ । बिरोध, बन्द  र  बदख्वाइँले धेरै सम्भावनाहरुको गला रेटेको हुन्छ । मेलम्ची, हेटौंडा सुरुङ मार्ग, सुख्खा बन्दरगाह, ठूला जलविद्युत् परियोजना जस्ता ठूला विकासका योजनाहरु जनस्तरबाट भएका असहयोगका कारणले नै विकासमा ढिलासुस्ती भएका हुन् । अबको नेपाल भनेको आर्थिक र भौतिक विकासमा छलाङ मार्ने नेपाल हुनुपर्छ, जसका लागि सबैको सकारात्मक भूमिका जरुरी पर्दछ ।

ygshdngl@yahoo.com

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार