एमाले र माओवादीमा कोही पनि चुकेल्याङ छैनन्

एमाले र माओवादीमा कोही पनि चुकेल्याङ छैनन्

 

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले

 

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वाम एकताको प्रतिवेदन तथा विधान मस्यौदा कार्यदलको प्रमुख पनि हुन् । उनी समितिको तर्फबाट प्रतिवेदन बुझाइसकेको बताउँछन् । अब त्यसमा छलफल हुने र शीर्ष तहमा भएको छलफलले त्यसलाई अन्तिम रुप दिने पनि बताउँछन् । तयार पारिएका दस्तावेजको अन्तिम रुप आएपछि नै पार्टी एकताको घोषणा हुने उनको दाबी छ । नेपालसँग अप्रिल २२ अर्थात् ९ वैशाखमा हुने भनिएको पार्टी एकताको घोषणा, मुलुकको पछिल्लो राजनीति, विदेश कूटनीतिलगायत विषयमा मोहन बास्तोलाले गरेको कुराकानी–

 

तपाईंहरु दुई पार्टी नेकपा माओवादी र एमालेबीच पार्टी एकता हुँदै छ । कार्यकर्ता उत्साहित छ । त्योसँगै पार्टी एक भएपछि गुट बढी हुने हुन् कि भन्ने चिन्ता पनि छ, तपाईंको चाहिं बुझाइ के हो ?

यसका लागि मुख्य गरेर चार–पाँच ओटा कुरालाई ध्यान दिनुपर्छ । पहिलो, हामीले पार्टीलाई कमिटी प्रणालीबाट चलाउने सोच बनाएका छौं । एउटा व्यक्तिलाई उसको योग्यता, क्षमताका आधारमा संगठित गर्नुपर्छ । संगठित गरिसकेपछि संगठनको नियमित बैठक, एजेन्डासहितको बैठक, कमिटीका सदस्यहरुबीचको बृहत र व्यापक बैठक, विचार विमर्श साथै त्यसबाट निस्किएको निष्कर्षको परिपालन गरिनुपर्छ ।

दोस्रो, नेता तथा कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्छ । राम्रो काम गर्नेको प्रशंसासहित आवश्यकताअनुसार प्रमोसन गरिनुपर्छ । अनि गल्ती गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । अर्थात् राम्रो गर्ने र नराम्रो गर्नेबीच सांगठनिक रुपमा नै पहिचान हुने खालका काम गर्नुपर्छ ।

तेस्रो, पार्टीभित्र व्यापक छलफल हुनुपर्छ । जुन छलफलले आपसी तिक्तता र मनमा लागेका कुराहरु सार्वजनिक गर्ने ठाउँ खुल्ला हुन्छ । समस्याका विषय थाहा हुन्छ । समाधानको बाटो खुल्छ ।

चौथो, पारदर्शी ढंगले पार्टी चलाउनुपर्छ । भन्नुको अर्थ नेतृत्वले जे ग¥यो त्यो नै मात्र सत्य हो भन्ने होइन कि सबैले राम्रो मानेको कुरालाई पार्टीले आत्मसात गर्नुपर्छ । पार्टीका नयाँ नीति तथा कार्यक्रम पनि कार्यकर्ता तहबाटै पारित गराउने व्यवस्था मिलाउनुपर्छ ।

पाँचौं, नेता र कार्यकर्ताबीचको सम्बन्ध । कार्यकर्ताबीचको मनमा फाटो र दरार उत्पन्न भए पार्टी शिथिल हुन्छ । अनि नेताका बीचमा फाटो दरार आए पार्टी विभाजन हुन्छ । यो हुन नदिनका लागि नेतृत्व तहले सबैलाई व्यवस्थापन गर्न सक्नुपर्छ । विशेष ध्यान दिएर नै मूल नेताहरुको व्यवस्थापन गरिनुपर्छ ।

यी पाँच कुरा रेलका इन्जिन जस्तै हुन् । इन्जिन बलियो बनाउनका लागि नेतृत्वको जिम्मेवारी अलि बढी हुन्छ । बलियो इन्जिन भएको रेल सहज रुपमा सरल रुपले चल्नेछ । उचित व्यवस्थापन भएन भने चाहिं दुर्घटना हुन्छ । त्यसैले नेताहरु एकताबद्ध भएर दृढतासाथ अघि बढ्नुपर्छ ।

 

वामपन्थी सरकार बनेको पनि दुई महिना पुग्न लाग्यो, तपाईंको मूल्याङ्कन कस्तो छ ?

सरकारले भर्खरै मात्र पूर्णता पाएको छ । अझै पनि केही मन्त्रालय खाली नै रहेको अवस्था छ । यसलाई व्यवस्थापन गर्न अलिकति समय लाग्छ नै । दोस्रो कुरा सरकारले बजेट ल्याउन बाँकी नै छ । यो अवस्थामा सरकारले गति लिन सकेको छैन । सरकारलाई पूर्णता दिने विषयमा मन्त्रालयको काम कर्तव्य र अधिकार पहिचान गर्ने विषयमा यही बेला प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आयो यिनीहरुले सरकारलाई अल्झाइराखेको अवस्थामा सरकारले गति लिन सकेको छैन । तर, सरकारले काम गर्ने छनक ल्याएको छ । कोही पनि एकैपटक आकाशमा उडिहाल्दैन हामीले बुझ्नुपर्ने कुरा भनेको उड्ने चाँजोपाँजो मिलाएको छ कि छैन भन्ने हो । यो समयमा विना काम त्यतिकै बसेको भए सरकारले काम गर्दैन कि भन्ने हुनसक्थ्यो । यो बीचमा प्रधानमन्त्रीले जुन संकल्प गर्नुभएको छ देश निर्माणका लागि, भ्रष्टाचार नियन्त्रणका लागि, सुशासन कायम गर्नका लागि अनि मन्त्रालय र मन्त्रीहरुलाई पनि कामका लागि जुन निर्देशन दिनुभएको छ यसले सरकार सही ठाउँमा छ र यसले गति लिन्छ भन्नेमा म ढुक्क छु । स्थानीय तह र संघीय प्रदेशलाई व्यवस्थित बनाउन चाहिने कानुन निर्माणका लागि सम्बन्धित निकायलाई गरेको खबरदारी, तथा उहाँले तयार पार्नुभएको जुन ‘टिम स्प्रीट’ छ यसले गति लिन्छ नै । अर्को कुरा जनतासँग प्रतिबद्धताअनुसार जुन जनमत आएको छ त्यो जनमत पूरा गर्नका लागि सरकार दृढ हुनेछ । प्रतिबद्धता कार्यान्वयनबाट सरकार भाग्नुहुँदैन । भाग्ने छुट सरकारलाई छैन ।

 

विदेश कूटनीतिका बारेमा के अपेक्षा गर्न सकिन्छ ?

विदेश कूटनीति भनेको देशको हितलाई केन्द्रमा राखेर विदेश सम्बन्ध परिचालित हुनेछ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, हित र स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ । यो कामको थालनी प्रधानमन्त्रीले गरिसक्नुभएको छ । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, हित र स्वाभिमानमा आँच आउने कुनै किसिमका काम वर्तमान सरकारले गर्दैन भनेर स्पष्ट भन्नुभएको छ । यसैले नेपालको विदेश नीति कस्तो भन्ने स्पष्ट पार्दछ । हामी अरु देशको पनि संवेदनशिलतालाई बुझ्छौं अरु देशले पनि हाम्रो संवेदनशिलतालाई बुझ्नुपर्छ । सानो देश भनेर हेप्ने छुट कसैमा हुनेछैन ।

 

सुशासन, विकास र आर्थिक समृद्धिका बारेमा केही सोच्नुभएको छ ?

अब देशको एक मात्र लक्ष्य हो– सुशासन, विकास र आर्थिक समृद्धि । यो लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्नका लागि राज्यस्तर र निजीस्तरबाट पनि आपसी सम्बन्धलाई बढाएर लैजानुपर्ने अवस्था छ । अवश्य पनि हाम्रो देशभित्रको पूँजी बढाउनका लागि आवश्यक सहकार्य गर्न जरुरी छ । देशको पूँजी अर्थात् राष्ट्रिय पूँजीको विकास पहिलो प्राथमिकता हुने छ । साथै वैदेशिक लगानी भित्र्याउनका लागि पनि आवश्यक नीति तथा कार्यक्रम तयार पारिनेछ । यसका लागि सरकारले सरकारी तवरबाट पार्टीले पार्टीको तर्फबाट गृहकार्य गरिरहेका छन् । नेपाली जनताले चाँडै नै प्रत्याभूत गर्ने गरी नै हाम्रो देशले समृद्धिको बाटोमा पाइला राख्नेछ ।

 

तपाईंहरु एक से एक हुनुहुन्छ, पार्टी एक भएपछि शक्ति प्रदर्शनले पनि पार्टीलाई समस्या गर्ला नि ?

जुन पार्टीमा जति धेरै प्रभावशाली नेता हुन्छन्, जति बुद्धि खुबी भएका योग्यता, क्षमता भएका नेताहरुको उपस्थिति रहन्छ, त्यसको शक्ति अझै बढ्छ । त्यसको काम गर्ने क्षमता अझै बढ्छ । जम्मै भारी कुनै एक व्यक्तिले बोकेर हिँड्नुपर्दैन । उहिल्यै नै माओत्सेतुङले भनेका थिए– कोही पनि चुकेल्याङ छैन । भनेपछि चुकेल्याङलाई सबैभन्दा बुद्धिमान मानिन्थ्यो । तर, पनि उहाँको भनाइ थियो– कोही पनि चुकेल्याङ छैन । चुकेल्याङलाई पनि अरु दुई जनाको सहयोग चाहिएको थियो ।

त्यसैले अब एकताबद्ध हुने पार्टीमा समावेश भएका नेताहरु पनि आफ्नो योग्यता र क्षमताले भरिपूर्ण हुनुहुन्छ । फेरि हामी एकलमा होइन सामुहिकतामा विश्वास गर्छौं । यसैको उदाहरण हामीले सबैलाई जिम्मेवार बनाउन एउटा पार्टीमा दुइटा अध्यक्ष बनाउने योजनासहित काम गरिरहेका छौं । यो मिलाउनका लागि गरिएको काम हो । चाह्यो भने त हुँदो रहेछ नि मिलाउन सकिँदो रहेछ नि । तर, बाहिर आएजस्तो धेरै क्षमता भएका मान्छे एकठाउँमा भेला हुँदा झगडा हुन्छ फुट्छन् भन्ने कुराको कुनै तुक छैन । हामी सबै मिलेर जाने हो । हामीबीच फुट्ने कुराको कुनै शंका पनि छैन । जसरी पनि जस्तोसुकै अवस्थामा पनि हामी जुटेर अघि बढ्ने भन्ने मात्र योजना बनाइरहेका छौं । यसमा कसैले पनि नकारात्मक कुरा र शंका उपशंका नगर्न पनि हार्दिक अपिल गर्न चाहन्छु् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार