नेपाल डे परेडको नेतृत्व कसले गर्ने ?

नेपाल डे परेडको नेतृत्व कसले गर्ने ?

योगेश आदी (Yogesh Aadi)

 

यो वर्षको मे २० तारिखमा नेपालीले तेस्रो नेपाल डे परेड मनाउने सुरसार गरेको छ । अमेरिकाको मुख्य शहरमा परेडका लागि स्थान पाउनु आफैंमा गर्वको विषय हो । संसारकै राजधानी मानिने न्यूयोर्क शहरको म्याडिसन एभेन्यूमा नेपालीले दुई पटक परेड देखाइसकेको छ । सोही ठाउँमा भारतले सन् १९८१ देखि परेड देखाउँदै आएको छ । हामीलाई पनि सोही ठाउँ उपलब्ध गराएर अमेरिकाले समानताको सदाशयता देखाएको मान्नुपर्छ । किनकि करिब ४० लाख भारतमूलका भारतीयहरु अमेरिकामा छन् । ४० लाखकै हाराहारीमा चाइनिजहरु छन् । हामी केवल ३ लाख हामीले दाबी गरेअनुसार छौं । यद्यपि हामीले ५०औं अन्य देशहरुले गर्ने जस्तै झाँकी, झण्डा र झकिझकाउ संस्कृति संसारलाई देखाउन पाउनुलाई अवसर ठान्नुपर्छ ।

यो अवसर, यो गर्व र यो मौकालाई हामीले व्यक्तिगत चर्चा बटुल्ने एवम् लुछाचुँडी गरेर बाँदरको हातमा परेको नरिवलको नियतिमा पु¥याउन खोज्दै छौं । अवसर भनेको उखु जस्तै हो, कुन खाने र कुन फाल्ने थाहा भएन भने स्वाद आउँदैन । व्यवस्थापन जानेर ९७ प्रतिशत बालुवा भएको इजरायल स्वर्ग बनेको छ । थिति नजानेर ८० प्रतिशत फोस्फेट भएको नाउरु खान नपाउने भएको छ । सही व्यवस्थापन भएन भने संसारमा कुनै पनि चिजको भविष्य हुँदैन । नेपाल डे परेडमा पनि व्यक्तिगत वा संस्थागत स्वार्थ थोपर्न थालियो भने बिस्तारै विलय भएर जानेछ ।

 

आखिर के हो परेड ?

परेड भनेको अनुशासन हो । क्रमबद्ध भएर थोरै समयमा धेरै चिज देखाउने कलालाई परेड भनिन्छ । परेड एक प्रकारको विज्ञापन हो । परेड शान्तिपूर्ण शक्ति प्रदर्शन पनि हो । नेपाल डे परेड भनेको नेपालको विविधताभित्रको एकता प्रस्तुत गरेर गर्वानुभूति गर्ने मौका हो । यसर्थ, यस्तो किसिमको परेड भनेको देशको प्रतिनिधित्व हो ।

 

नेतृत्व कसले गर्ने ?

जसरी इण्डिया डे परेडको आयोजना विगत ३७ वर्षदेखि ‘फेडरेशन अफ इण्डियन एसोसियशन’ जुन ट्राई इस्टेटको छाता संगठन हो, ले गर्दै आएको छ । उरुग्वे, चाइना इत्यादि देशहरुको पनि छाता संगठनले सबैलाई संगठित गरेर मनाउँदछ । हाम्रो परेड पनि आज नभए भोलि, भोलि नभ्याए पर्सि कुनै एक नेपाली बृहत्तर संस्थाले नगरी धरै छैन । नेपाल डे समस्त नेपालीको हो । यसमा सबैलाई समेट्ने छाता संगठनले आयोजना गर्ने परिपाटी नबसालेसम्म सधैं हिंड्ने बेलामा मोजा नभेटे जस्तै भइरहन्छ ।

 

कुन छाता संगठनले गर्दा ठीक हुन्छ ? किन ?

अमेरिकामा जति पनि नेपाली संघसंस्था खुलेका छन्, प्रायसः सबैजसो संघसंस्थाहरु जातिविशेष, क्षेत्र वा जिल्लाविशेष, राजनीतिक दलविशेष, भेगविशेष, लिंग वर्गविशेष खालको वर्गीकृत छन् । यी सबै अटेको र अट्नलाई मार्गप्रशस्त भएको संस्था भनेको एनआरएन एनसीसी अमेरिका नै हुन् । आज म हारेको रिसले मलाई मन नपरे पनि । हिजो मेरो श्रीमती मनोनयनमा नपरेको रिस मलाई उठे पनि । अस्ति मेरो दुश्मनलाई टिके पद दिए पनि । मैले मनैदेखि भन्नुपर्दा अमेरिकाभरिको सबै खालको नेपाली अटेको संस्था भनेको एनआरएनए नै हो ।

एनआरएनएले आयोजना गर्दा किन राम्रो हुन्छ भने, यसो गर्दा थिति बस्छ । अर्को साल फेरि यस्तै बेलाको कन्भेनर बन्ने ? अघिल्लो वर्षको हिसाबकिताब कसलाई किन देखाउने ? भन्ने जस्ता सिजनल अन्यौल रहँदैन ।

 

एनआरएनएले कसरी गर्ने ?

पहिलो, एनआरएनले अघिल्लो वर्ष आयोजना गरेर चाबी ताल्चा बोकेका मान्छेहरुसँग सहकार्य गरेर सहमति कायम गर्ने ।

दोस्रो, सबै सदस्यहरुलाई परेडका बारेमा इमेल वा सूचनामार्फत जानकारी गराउने ।

तेस्रो, अमेरिकाभरिका जानकारी भएसम्मका सबै संघसंस्थाहरुलाई पत्र काटेर सहभागी हुन अनुरोध गर्ने ।

चौथो, अनुमानित बजेटको खाका तयार पारेर संयोजन टीमलाई कति दिने भन्ने निर्णय गर्ने । र, बाँकी उठाउन सहयोग गर्ने ।

अमेरिकाको जुन राज्यमा ‘नेपाल डे परेड’ गर्ने हो, सोही राज्यमा एनआरएनएको च्याप्टर भए च्याप्टरको संयोजनमा र च्याप्टर नभएको राज्य भए संस्थाले सम्बन्धित राज्यको अग्रणी नेपाली संस्थाको संयोजनमा सबै स्थानीय संस्थाहरुबाट काम गर्न सक्ने सम्भावना भएका ५० सदस्यीय परेड समिति गठन गरी सोहीमार्फत प्रारम्भिक बजेटसहित कार्य सुम्पनुपर्दछ ।  तत्पश्चात् यी ५० जनाले नै कार्य विभाजन गरी विभिन्न उपसमिति बनाएर कार्य गर्दा हुन्छ ।

 

परेडमा के–के होस् ?

१. उद्घाटन स्थल, जहाँबाट राष्ट्रिय गान बजेर, ध्वजा पतंगा उडाएर झाँकीको शुरुवात होस् ।

२. विभिन्न संस्थाको ब्यानरसहितको जत्थाको पृथक पोशाक होस्, संगीत होस्, सजिसजाउ गाडी होस् ।

३. स्वयंसेवक, पत्रकार, आयोजकको छुट्टै झुण्ड्याउने ब्याच होस् जसले गर्दा सूचना दिने र लिने तथा गाह्रो अप्ठेरोमा कसलाई भन्ने सजिलो हुन्छ ।

४. परेडमा आउनेलाई पानी, जुस, सादा चमेना बट्टा इत्यादिको निशुल्क व्यवस्था होस् ।

५. आधिकारिक फोटोग्राफर, भिडियोग्राफर, मिडिया कोअर्डिनेटर होस् ।

६. आदिवासी जनजाति संघसंस्था जो कला संस्कृतिमा धनी छ, उनीहरुको झाँकी सदैव विशेष हुने गर्दछ, लाई सकेसम्म समावेश गराओस् ।

७. राष्ट्रियस्तरका कलाकारहरुलाई छुट्टै पत्र काटेर निम्ता होस्, जसले परेडमा थप सौन्दर्य भर्दछ ।

८. परेड समापनका लागि अत्याधुनिक साउण्ड सिस्टमसहितको स्टेज होस् । जसमा ३ घण्टा कभरेज हुने सांस्कृतिक कार्यक्रम र गीत–संगीत होस् । झाँकी प्रदर्शन होस् । प्रतिभा देखाइयोस् ।

 

त्यसो त नेपालीको परेड भन्नेबित्तिकै कसैले बोलाए पनि नबोलाए पनि घरमा भएको झण्डा उप्काएर नेपाल लेखेको टिसर्ट लगाएर भिडमा मिसिन जान्छन् नै । यद्यपि भिड र हल्ला मात्रै भयो, व्यवस्था भएन भने नेपालीको छवि राम्रो जाँदैन । नेपाल झल्किने सगरमाथाको स्वरुपमा विशाल आकृती, बुद्धको विशाल प्रतिमाजस्ता खास महत्वको चिजहरुको भीमकाय कला देखाउन सकिएन भने अलि खल्लो हुन्छ ।

आशा राखौं, नेपाल र नेपालीसँग सम्बन्धित राष्ट्रिय महत्वको परेडहरुमा सबै जातजाति, भाषाभाषी, बर्ण, लिङ्ग, समुदाय, भेग अटेको संस्था एनआरएनएले नै अमेरिकामा हुने नेपाली परेडहरुमा अग्रणी भूमिका निर्वाह गरोस् ।

ygshdngl@yahoo.com

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा