नेतृत्व परिवर्तनको कुरा प्रोपोगाण्डा मात्र हो

नेतृत्व परिवर्तनको कुरा प्रोपोगाण्डा मात्र हो

महालक्ष्मी उपाध्याय (डिना), कांग्रेस नेतृ

 

अहिलेको राजनीतिक परिस्थितिबारे तपाईंको धारणा के छ ?

नयाँ संविधान जारी भएपछि निर्वाचन भएको छ । यसलाई संविधान कार्यान्वयनको पहिलो पक्षको सुरुवातको रुपमा लिनुपर्दछ । दुई पार्टी मिलेर चुनावमा जाँदा अहिले वाम गठबन्धनको वर्चस्व देखिएको छ । सरकारको नेतृत्वमा वाम गठबन्धन रहेको अवस्था छ । अहिले डेमोक्रेटिक शक्ति बाहिर रहेको अवस्था छ । जताततै वाम गठबन्धन सत्तामा देखिएका छन् । तर पनि जनताको आशा भनेको डेमोक्रेटिक पक्षमै हो । अहिले प्रजातान्त्रिक शक्ति बाहिर रहेको अवस्था भए पनि हामीले लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनको मर्म र भावनालाई अहिलेको यो वाम गठबन्धनको सरकारले कसरी अगाडि बढाउँछ भनेर हामीले हेरिरहेका छौं । आन्दोलनको उपलब्धि र पद्दतीलाई संस्थागत गर्ने दिशामा वाम गठबन्धन कसरी जान्छ हामीले हेरिरहेका छौं, देश नयाँ शिराबाट गएको अवस्थामा लोकतान्त्रिक पद्दतीलाई वाम गठबन्धनले कसरी लिन्छन्, हेरिरहेका छौं ।

 

एमाले–माओवादी लोकतान्त्रिक दल होइन भन्न खोज्नुभएको हो ?

होइन, कोही चुनावमा आउँदैमा लोकतान्त्रिक हुन सक्दैन । सैद्धान्तिक पक्षको कुरा गर्दा अहिले पनि तिनीहरु कम्युनिष्ट नै हुन् । लोकतान्त्रिक डेमोक्रेटिक पार्टी होइनन् । विश्वले उनीहरुलाई कम्युनिष्ट पार्टी नै भनेर बुझेको छ । २०६४ मा जब माओवादी मेन स्ट्रिममा आउने टाइम थियो, त्यही टाइम नै हेरौं न माओवादीले संसदीय व्यवस्था नै नमान्ने भनिरहेको होइन । अहिले त्यो शक्ति सत्तामा आएको छ, तर पनि पूर्णतः व्यवहार डेमोक्रेटिक छैन, त्यसकारण ती पार्टीहरु परिस्कृत भएको भन्ने पक्षमा हामी मान्दैनौं, बरु डेमोक्रेटिक सिस्टममा आउन लागेको भान हुन लागेको हो भन्न सकिन्छ ।

 

लोकतन्त्रमा जनमतको ठूलो अर्थ हुन्छ, उसो भए के नेपाली जनताले कम्युनिष्ट शासन चाहेका हुन् भनेर बुझ्ने त ?

जनमतको कुरा गर्दा टेक्निकल कुराहरु पनि रहेको छ । वाम एकताले पनि केही फरक भएकै हो । अर्को कुरा गर्दा डेमोक्रेटिक सिस्टममा आउन पनि जनताले मत दिन्छन् । पहिला पनि माओवादीलाई दिएकै थिए । डेमोक्र्याट पद्दतीमा ल्याउनका लागि जनताले मत दिन सक्छन् । भोलि कतै चुनाव हारेको खण्डमा केही गर्ने त होइनन् भनेर भयावह स्थिति हुन नदिन पनि जनताले भोट दिन सक्छन्, यसलाई प्राविधिक रुपले मात्रै बुझ्नुपर्दछ । अहिले पनि पपुलर मत त कांग्रेसकै पक्षमा आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाले पनि कांग्रेसको मत नै बढी भनेको छ । जनताले डेमोक्रेटिक शक्तिलाई मत दिएका छन् । त्यसैले जनताले वाम दललाई लोकतान्त्रिक पद्दतीमा लैजान मत दिएका हुन् विश्वास गरेर होइन । लोकतन्त्रलाई संस्थागत गर्न मत दिएका हुन् ।

 

पार्टीले लोकप्रिय मत ल्याएको भए, कांग्रेसका उम्मेदवार खराब भएर हारेका हुन् त ?

पक्कै पनि नतिजाले त्यस्तो देखाएको छ । तर, यो प्राविधिक रुपमा मात्रै हो । प्राविधिक रुपले पार्टी एलायन्स गर्दा दुई दलको क्याम्पेनिङ पनि बढ्न पुग्यो, शक्ति पनि बढ्न पुग्यो, उम्मेदवार पनि एउटै भए जसले प्राविधिक रुपमा हाम्रा उम्मेदवारहरुले सोंचेअनुरुप जित्न सक्नुभएन । यसको अर्थ हाम्रा उम्मेदवार कमजोर थिए भन्ने होइन, राजनीतिमा लामो समय लागेकाहरु उम्मेदवार हुनुहुन्थ्यो । हाम्रा उम्मेदवार सशक्त नै थिए, प्राविधिक कारणले मात्रै हार भएको हो ।

उम्मेदवारलाई पनि मत नपरेको होइन, पहिलाको चुनावभन्दा पनि बढी नै दिएका छन्, दुई पार्टीको मत र हाम्रो भोट हेर्दा, एक्लाएक्लै लडेको अवस्थामा हाम्रै उम्मेदवारले जित्ने अवस्था थियो । मत हाम्रो नै बढी रहेको छ । वाम दलले एउटै उम्मेदवार उठाएर मात्रै अधिकांश ठाउँमा हामीले हारेको देखिन्छ । प्राविधिक रुपले मात्रै हामी प्रतिपक्षमा हौं, जनताको विश्वासलाई हेर्दा हामी सत्ता पक्षमै छौं । हामीलाई त्यो मत दिएका छन् ।

 

नेतृत्वको कमजोरीले पार्टीले हारेको होइन भन्न खोज्नुभएको हो ? तर, कतिपय नेताहरुले नेतृत्वको आलोचना गरिरहेकै छन् त ?

हो, यस्तो कुराहरु आइरहेको छ । आफू चुनावमा हार्दा अरुलाई ‘ब्लेम’ लगाउने प्रवृत्ति देखिएको छ । केही साथीहरुमा यस्तो प्रवृत्ति देखिएको छ । कतिपय साथीहरुबाट गलत भइरहेको छ । अहिले पनि पार्टी सामूहिक नेतृत्वमै पार्टी चलिरहेको छ, विधानले पनि त्यही भनिरहेको छ । सामूहिक नेतृत्वको अवधारणाबाटै पार्टी अगाडि बढ्ने हो, बढिरहेको पनि छ । चुनाव हारेको पीडाले केही साथीहरुले त्यो बोल्नुभएको छ, यसको कुनै तुक छैन । नेतृत्वले जे गरिरहेको छ, यसलाई गलत ठान्ने अवस्था होइन । हामी प्राविधिक रुपले पछि परेको अहिले मात्र होइन २०६४ को चुनावमा पनि पछि परेका थियौं, आजभन्दा धेरै पछि परेका थियौं । त्यसैले अहिले मात्र नै हो कांग्रेस पछि परेको भन्नु सही होइन । चुनावमा हारेपछि केही साथीहरुको मनोबल गिरिरहेको छ, हामी अन्त्य हुँदै छौं भन्ने उहाँहरुलाई लागेको छ । उहाँहरुको मनोबल गिरिराखेकाले उहाँहरुलाई अब सकियौं भन्ने छ, कांग्रेस सकियो भन्ने लागेको छ । साथीहरुले त्यो मनोबल गिराउनु जरुरी छैन । म ती साथीहरुलाई पनि भन्न चाहन्छु– शाही काल, माओवादी द्वन्द्वमा हाम्रा धेरै कार्यकर्ता हताहत भएका थिए, तैपनि हामी डराएनौं । सडकमा पनि ८ वर्ष बसेर आन्दोलन ग¥यौं, लड्यौं, आफ्टर डेमोक्रेसी पनि लड्यौं । ८ वर्ष संसद् विघटन हुँदा पनि प्रजातन्त्रका लागि हामी लडिरह्यौं । त्योभन्दा अघि ४६ सालको आन्दोलन ग¥यौं, त्यसपछि हामै्र नेतृत्वमा धेरै आन्दोलन ग¥यौं, मुलुकलाई निकास दिन कांग्रेस धेरै पटक सडकमा बसेको छ । त्यसैले अहिले केही साथीहरुको अभिव्यक्ति जसरी आइरहेको छ, आफू हारेर नेतृत्वलाई दोष लगाउने प्रवृत्ति गलत हो, केन्द्रीय समितिको बैठक बसिरहेको छ, यसमा पनि बहस भएको छ वास्तविकता के हो भन्ने पनि पछि आउने नै छ । तर, साथीहरुबाट भइरहेको छ, त्यो गलत भइरहेको छ ।

 

नेतृत्वको असफलताले पार्टी प्रतिपक्षमा पुगेको हो भन्ने स्वर पनि सुनिन्छ नि ?

हामी २०६४ सालको संविधानसभापछि पनि लामो समय प्रतिपक्षमा बस्यौं, फेरि नथाकी लोकतन्त्रलाई संस्थागत गर्न लाग्यौं । हामीले २०७० सालमा संविधान दियौं, तर अहिले हार्नेबित्तिकै नेतृत्वलाई दोष दिनु एकदमै गलत हो यो केवल आफू उम्कने प्रवृत्ति हो । कांग्रेसका केही साथीहरुले उठाएको यो विचारप्रति मेरो पूर्ण रुपमा असहमति हो । बरु अब जनताले दिएको भोटलाई समेटेर सांगठनिक स्वरुपलाई मजबुत बनाई शतप्रतिशत संविधान कार्यान्वयनको बाटोमा मुलुकलाई हिँडाउनुपर्दछ, मनोबल अझ बढाउनुपर्दछ । नेतृत्वले बनाएको संविधानको कार्यान्वयनको बाटोमा लाग्नुपर्दछ, त्यसैमा हिँड्नुपर्दछ ।

 

कांग्रेस प्रतिपक्षमा जाँदा झन् गुटको राजनीति बढे जस्तो देखिन्छ नि ?

बाहिर सुनिएजस्तो छैन । बाहिरबाट हेर्दा त्यस्तो देखिएला, बाहिर कांग्रेसमा गुटैगुट छन् जस्तो भनिन्छ । तर, त्यस्तो होइन, त्यो भन्नु गलत हो । गुट–उपगुटको कुरा उठ्छ, पार्टीमा कहिलेकाहीं लाइक मेन्डेट डिसलाइक मेन्डेड हुन्छ । कसको नेतृत्व मान्छु–मान्दिन भन्ने हुन्छ, इस्युमा बहस हुन्छ, डिभाइड हुन्छ । यो कुरा जीवन्त पार्टीमा स्वाभाविक नै हो । यस्तो २०४२ साल होस् या २०३६ मा पनि भएको थियो, नेताहरु डिभाइड भएका थियौं । संविधानसभा निर्वाचनपछि र अघि पनि पार्टीमा कसरी जाने भन्ने विषयमा नेताहरुमा मतान्तर रहेको थियो । यस्तो हुन्छ । नेतृत्वको को टाढाm को नजिक भन्ने पनि हुन्छ । यो सबै पार्टीमा चलिरहेको छ । यो स्वाभाविक हो, गुट–उपगुटको कुरा होइन, इस्युमा सपोर्ट गर्ने भन्ने हुन्छ । यसलाई लिएर प्रोपोगाण्डा भइरहेको छ, त्यस्तो होइन, आफ्नोलाई स्थान दियो भन्ने कुरा होइन । पार्टी आन्तरिक जीवनमा आफ्नो निर्वाचनको सन्दर्भमा कसलाई सहयोग गर्नु–नगर्नु स्वभाविक नै हुन्छ ।

 

नेतृत्व परिवर्तन र महाधिवेशनको कुरा पनि उठेको छ नि, के त्यो सम्भव छ ?

महाधिवेशन हुनै सक्दैन, हँुदा पनि हुँदैन । यो नेतृत्वले ५ वर्षको म्यान्डेट पाएको हो । महासमिति हुन सक्दछ, अहिले सांगठनिक स्वरुपको कुरा छ, देश संघीयतामा गएको छ । हाम्रो धारणा स्पष्ट गर्नु जरुरी छ, प्रदेश कमिटी बनाउनुपर्नेछ । विधान परिवर्तनको कुरा आएको छ । यसमा महासमितिले केही निर्णय गर्नेछ । नेतृत्व परिवर्तन र महाधिवेशन हुनै सक्दैन, यो प्रोपोगाण्डा हो ।

 

सभापतिले रिक्त पदमा मनोनयन गर्दै हुनुहुन्छ, महिला आउने सम्भावना कत्तिको छ ?

कुरा पनि उठाएका छौं । सभापतिजी एक्लैले गर्ने होइन, सेन्ट्रल कमिटीले अनुमोदन गर्ने हो । सभापतिको मात्रै कुरा होइन । दुई पोष्टमा मनोनयन हुन सक्छ, सहमहामन्त्रीमा महिला आउन पनि सक्नुहुन्छ ।

 

अन्त्यमा, अमेरिकाको जनसम्पर्क समितिको विवाद साम्य पार्न कांग्रेसले के गर्दैछ ?

समस्या समाधान यहीँकै पार्टीका साथीहरुले गर्ने हो । मैले अधिवेशन चाँडो गर्दा हुन्छ भनेर प्रतिवेदन दिने हो । अर्को कुरा अब नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समितिलाई ‘वान डोर सिस्टम’मा लाने कुरा छ, महासमितिमा कुरा उठ्छ, एउटै विधानबाटै सम्बोधन गनुपर्दछ ।

प्रस्तुतिः सुरज भण्डारी

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार