परेड विवाद सुल्झाउन तदर्थ समिति गठन

परेड विवाद सुल्झाउन तदर्थ समिति गठन

न्यूयोर्क । न्यूयोर्कमा आगामी मे २० मा हुने भनिएको ‘नेपाल डे परेड’को विवाद सुल्झाउन तदर्थ समिति गठन गरिएको छ । नेपाली महावाण्ज्यि दूतावासका महावाणिज्यदूत मधु मरासिनीको सहभागितामा गत मे १ मा भएको छलफलपछि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

विगतमा फिप्नाको पहलमा सबै संघसंस्थाहरु मिलेर गर्दै आएको परेड डे यसपाली ‘नेपाल डे परेड इन्क’ नामक संस्थाले आयोजना गर्ने विषय बाहिर आएपछि विवाद बढेको थियो । सन् २०१६ र २०१७ को परेडमा फिप्नाको ट्याक्स आइडी प्रयोग गरिएकाले उक्त सम्पूर्ण कागजात फिप्नालाई फिर्ता गर्नुपर्ने र आर्थिक हिसाब बुझाउनुपर्ने माग गरिएको थियो ।

वाणिज्य दूतावासको छलफलपछि तदर्थ समिति गठन गरेर विगत दुई वर्षदेखि न्यूयोर्कमा सम्पन्न गरिएको परेडको आय–व्ययको हिसाब सात दिनभित्र फिप्नालाई बुझाउने, फिप्नाले कागजात बुझेलगत्तै फिप्नाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठमाथि लगाएको उजुरी र सबै मुद्दाहरु फिर्ता लिने, परेड सम्बन्धमा प्रयोग गरिएका सम्पूर्ण कागजात फिप्नालाई बुझाउने, परेडका लागि बनेको स्टेरिङ कमिटीलाई आवश्यकताअनुसार थप गर्ने लगायत सहमति भएको थियो ।

शनिबार मात्रै तदर्थ समितिको दोस्रो बैठक बसेर आइतबार साँझसम्म सम्पूर्ण कागजात बुझाइसक्नुपर्ने निर्णय गरिएको छ । ‘सबै संघसंस्थाका प्रतिनिधिहरुसँग बसेर सम्झौता भएको छ,’ फिप्नाका निवर्तमान अध्यक्ष वाइवाले भने, ‘सम्झौताअनुसार हामीले सम्पूर्ण कागजातहरु आइतबार साँझसम्म बुझाउने छौं । त्यसपछि फिप्ना लगायत सबै संघसंस्थाको सहभागितामा परेड सम्पन्न हुनेछ ।’

फिप्नाका अध्यक्ष मानबहादुर रानामगर भने सम्पूर्ण कागजात बिल भरपाईहरु बुझिसकेपछि ठीक दुरुस्त भए–नभएको जाँच गरेपछि मात्रै परेडमा सहभागी हुने–नहुने निर्णय गरिने बताउँछन् । ‘सम्पूर्ण आर्थिक क्रियाकलाप संस्थाको कानुनी प्रक्रियासँग जोडिएको हुनाले आयव्ययको सम्पूर्ण हिसाब र कागजातहरु ठीक दुरुस्त भएमा मात्रै हामी परेडमा सहभागी हुन्छौं,’ उनले भने, ‘चित्तबुझ्दो कागजपत्र आएमा उहाँहरुमाथि लगाइएको सबैखाले उजुरी फिर्ता गरेर परेडका लागि सबै जुट्नेछौं ।’

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार