नेपाली–अमेरिकी पत्रकारले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस

नेपाली–अमेरिकी पत्रकारले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस

वासिङ्टन डिसी । नेपाली–अमेरिकन पत्रकारहरुले वासिङ्टन डिसीमा २५औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । पेशागत पत्रकारहरुको प्रतिष्ठित सञ्जाल सोसाइटी अफ प्रोफेशनल जर्नालिष्ट (एसपीजे)की अध्यक्ष रिबेका बेकरको प्रमुख आतिथ्यमा विश्व प्रेस स्वन्त्रता दिवस मनाइएको हो ।

एसपीजे अध्यक्ष बेकरले आफूलाई डायस्पोरा समाजले अतिथिका रुपमा बोलाएको पहिलो पटक भएको जानकारी दिइन् । उनले नेपाली–अमेरिकी पत्रकारसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताइन् । ‘पहिलो सहकार्यस्वरुप एसपीजेको बुकलेट नेपालीमा प्रकाशित गर्न डिसी क्षेत्रका पत्रकारलाई जिम्मा दिन चाहन्छु,’ उनले भनिन्– ‘पत्रकारहरुलाई मूल प्रवाहमा लैजान तालीम र अन्य कार्यहरु गर्नका लागि काम गर्दै जाने बचनबद्धता व्यक्त गर्न चाहन्छु ।’ कार्यक्रममा एसपीजेकी अध्यक्ष बेकरले पेशागत पत्रकारहरुलाई सदस्यताका लागि आह्वान पनि गरिन् ।

सन १९०९ मा स्थापित एसपीजे अमेरिकामा पेशागत पत्रकारहरुको पुरानो प्रतिनिधि संस्थाका रुपमा चिनिन्छ । एसपीजेले दिंदै आएको सिग्मा डेल्टा ची पत्रकारिता पुरस्कार संसारकै प्रसिद्ध पुरस्कारको रुपमा मानिन्छ । स्थापनाकालमा सिग्मा डेल्टा ची भनिने यो संस्थाले अमेरिकाको वाक स्वतन्त्रतासम्बन्धी पहिलो संविधान संशोधनको खुलेर समर्थन गरेको थियो । पत्रकारिताको अध्ययन हुने सबैजसो विश्वविद्यालय र पेशागत एवम स्वतन्त्र पत्रकारसमेतलाई आफ्नो छातामा समेटेको यो संस्थाका ३ सय बढी शाखा छन् । त्यस्तै, यस संस्थामा करिब ९ हजार सदस्य रहेका छन् ।

भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीका प्रोफेसर क्रिष्टोफर जे फरेलले पनि अमेरिकी पत्रकारिताको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याए । उनले आफूले विचार निर्माण गर्न सक्नु र अरुलाई सही चेतना दिनु पत्रकारको सबैभन्दा ठूलो गुण भएको बताए । तथ्यको जड पत्ता लगाउन पत्रकारहरु जहिले पनि लागिपर्नु पर्ने उनको सुझाव थियो । 

उत्तरी भर्जिनियाका लोकप्रिय इन्साइड नोभा पत्रिकाका प्रकाशक तथा सम्पादक ब्रुस पोर्टरले स्थानीय क्षेत्रमा रहेका नेपाली पत्रकारहरुलाई निसंकोच आफ्नो कार्यालयमा आउन र छलफल गर्न अनुरोध गरे । उनले ४–५ जना स्थानीय पत्रकारलाई स्वयंसेवक वा तलबी पत्रकारका रुपमा प्रवेश गराउनसमेत तयार रहेको बताए । तर, प्रविधि र सञ्चार क्षेत्रमा आएको परिवर्तनले आफ्नो संस्थाले अरु अन्य सञ्चारका माध्यमसँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको उनले जानकारी दिए । 

कार्यक्रममा गुणराज लुइँटेल र सच्ची मैनालीले संयुक्तरुपमा नेपाली अमेरिकी परिवेशमा प्रेस स्वतन्त्रता र व्यावसायिकता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाली पत्रकारिताको इतिहास, प्रेस स्वतन्त्रता उल्लंघनको परिदृश्य, अमेरिकी नेपाली पत्रकारिताको अवस्था र चुनौतीका विषय उल्लेख छ । कार्यपत्रमा उनीहरुले नेपाली अमेरिकी पत्रकारहरुले अमेरिकी सञ्चारको मूलप्रवाहमा जान प्रयास गर्नुपर्ने र यसका लागि अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ । 

नेजाका अध्यक्ष भोला आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा डिसी क्षेत्रका पत्रकारहरुको प्रशंसा गरे । स्थानीय सञ्चारमाध्यमको संयोजन पत्रकार गुणराज लुइँटेलले गरेका थिए भने कार्यक्रम सञ्चालन किरण मरहट्ठाले गरेका थिए ।

त्यस्तै, वासिङटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायहरुलाई सेवा प्रदान गर्दै आएको सबैभन्दा पुरानो संस्था नेपाल अमेरिका सोसाइटीका तर्फबाट सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजाले एसपीजेसँग नेपाली पत्रकारहरुको सहकार्यले समुदाय लाभान्वित हुने र पत्रकारिता अध्ययन गरेकालाई तालिम तथा इन्टर्नसिपको व्यवस्था गर्न आग्रह गरिन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा