सामान्य वादविवाद लोकतन्त्रको सुन्दर पक्ष हो

सामान्य वादविवाद लोकतन्त्रको सुन्दर पक्ष हो
बद्री पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

बद्री पाण्डे नेपाली कांग्रेसका युवानेता हुन् । संविधानसभाका सांसदसमेत रहेका उनी अहिले प्रदेशसभा सांसद छन् । पाण्डेसँग समसामयिक राजनीति, कांग्रेसभित्रको अन्तरद्वन्द्व, आगामी रणनीति, वाम गठबन्धनको सरकारलाई हेर्ने दृष्टिकोणबारेमा मोहन बास्तोलाले गरेको कुराकानी–

 

तपाईंहरु अहिले प्रमुख प्रतिपक्षी दल हुनुहुन्छ । अहिले मुलुकमा वाम गठबन्धनको सरकार छ । समग्र यो अवस्थालाई कसरी लिनुभएको छ ?

यसलाई दलीय व्यवस्था वा लोकतान्त्रिक व्यवस्थाको एउटा निकै राम्रो उदाहरणका रुपमा लिनुपर्दछ । दलीय व्यवस्थामा कुनै पनि दल सत्तामा र बाहिर पनि बस्न तयार हुनुपर्छ भन्ने कुराको उदाहरणका रुपमा पनि मैले यसलाई लिएको छु । सरकारको भूमिकामा लोकतान्त्रिक दलहरु रहेन भने पनि निकै उत्साहका साथ प्रतिपक्षको भूमिकामा पनि रहनुपर्छ भन्ने उदाहरणका रुपमा समेत यो अवस्थालाई लिनुपर्छ भन्ने मेरो मान्यता छ ।

अहिले हामी प्रमुख प्रतिपक्षी दलका रुपमा छौं । मेरो विचारमा हामीले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्नुपर्छ । मुख्य गरेर दुई ओटा कुरामा प्रतिपक्षले खबरदारी गर्न आवश्यक हुन्छ । पहिलो भनेको सत्ता पक्षलाई गलतबाटोमा जानबाट रोकिरहने अर्थात त्यसका लागि निरन्तर दबाब सिर्जना गरिरहने अनि दोस्रो चाहिँ हामीले प्रतिपक्षमा रहेर सकारात्मक विधिको विकास गर्ने । जसले गर्दा आगामी दिनमा हामी सत्तामा पुग्दा पनि प्रतिपक्षलाई त्यहि भूमिकामा बस्न बाध्य बनाउन सक्छौं । अहिले हामीले सकारात्मक प्रतिपक्षको भूमिका खेल्यौं भने त्यो पछिका प्रतिपक्षीलाई पनि सकारात्मक भूमिका खेल्नका लागि नजिर बस्छ ।

 

भनेपछि प्रतिपक्षमा बसेर पनि जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?

हो, प्रतिपक्षमा जानेबित्तिकै उत्ताउलो बन्नुपर्छ भन्ने होइन । प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने कांग्रेसको पहिलादेखिकै मान्यता हो । म त भन्छु– अझ प्रतिपक्षमा बसेपछि उच्च महत्वाकांक्षासाथ रचनात्मक भूमिकासहित काम गर्नुपर्छ । हाम्रो पार्टी नेपाली कांग्रेस त्यही भूमिकामा अघि बढ्छ भन्नेमा म विश्वस्त छु ।

 

निकै राम्रो र लामो इतिहास बोकेको नेपाली कांग्रेस २०७४ सालमा आएपछि निकै नराम्ररी थलियो अर्थात् निकै कमजोर अवस्थामा पुग्यो । अझ भनौं– जनताले नराम्ररी खुम्च्याइदिए । तपाईंहरुको केन्द्रीय कमिटी बैठक पनि सम्पन्न भयो । यो बैठकमा पनि त यो विषयमा छलफल भयो होला नि है ?

अवश्य पनि बैठकमा हामीले निकै लामो छलफल र बहस ग¥यौं । हामीले यसो भन्दै गर्दा केही कुराहरुमा ध्यान दिन पनि जरुरी छ । पहिलो भनेको हामीले आन्तरिक सुदृढीकरणमा ध्यान दिन जरुरी छ । जनताले पनि हामीलाई तिमीहरु आन्तरिक संगठन निर्माणमा कमजोर भयौं है भनेर जनताले यो निर्वाचनमा झकझक्याउनु भएको छ । हामीले अत्यन्तै गम्भीर भएर यसमा लाग्न आवश्यक छ । योसँगै हामीले अर्को कुरा पनि भुल्नु हुँदैन । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा बसेर चुनाव लडेका थिए । त्यस्तो अवस्थामा हामी कमजोर बन्नु स्वाभाविक हो । त्यसैले अब हामीले मुख्य गरेर दुई ओटा कुरामा ध्यान दिन जरुरी छ । मैले माथि पनि उल्लेख गरेँ । हामी दुई ठूला कम्युनिष्ट पार्टीसँग निर्वाचन लडेका थियौँ । यस्तो बेलामा हामी केही कमजोर बन्नु अस्वाभाविक होइन । आगामी दिनमा अझ ती दुई ठूला दल एक हुँदैछन् । उनीहरु एक भएपछि हामीलाई झन् चुनौतिपूर्ण हुने छ । त्यसका लागि हामीले हामी आफैँलाई पनि करेक्शन गर्न जरुरी छ । हाम्रो आन्तरिक संगठन बलियो बनाउने, विगतमा भएका कमी–कमजोरीलाई हटाएर अघि बढ्ने, आफूलाई सुदृढ, प्रभावकारी र बलियो बनाउने गरी संगठनका संरचना बनाउने लगायतका कुरामा पनि ध्यान दिनुपर्छ । आगामी दिनमा पार्टीले अझ शक्ति आर्जन गरेर जाने हो भने हामीलाई आगामी दिन अझ चुनौतीपूर्ण हुने निश्चित छ । अहिले केन्द्रीय तहदेखि क्षेत्रीय र तल्लो तहसम्म कार्यकर्तामा छटपटी छ । यसलाई पनि समाधान गरेर अघि बढ्नुपर्ने चुनौती अहिले कांग्रेसलाई छ । निष्ठावान कार्यकर्ताको मूल्याङ्कन गरेर संगठन सुदृढीकरण गरे हामी अघि बढ्नु नै अहिलेको सबैभन्दा उत्तम विकल्प हो । बैठकमा पनि हामीले यो विषयमा निकै मिहिन ढंगले छलफल र बहस गरेका छौँ । त्यो बहस र छफलले पार्टीलाई सुधार गर्नका लागि भित्रैबाट एक खालको चेतना पैदा भएको महसुस पनि हामीले गरेका छौँ ।

 

निकै लामो समय काँग्रेसले सत्ताको स्वाद चाख्ने अवसर प्राप्त ग¥यो । तर, अहिले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुग्यो । यी प्रसङ्ग माथि पनि आएका छन् । अब पाँच वर्ष काँग्रेसले सत्ताको स्वाद चाख्ने अवसर सायदै होला । यो अवस्थामा ठेस लागेपछि चेत खाएको काँग्रेसले अवश्य पनि आफूलाई सुधार गरेर अघि बढ्ला भन्ने अनुमान गर्न सकिन्छ ?

म तपाईंलाई विश्वास दिलाउन चाहन्छु । हामी मूल राजनीतिमा  कतै पनि चुकेका छैनौं । पछिल्लो समय हाम्रा सभापतिको नेतृत्वमा सरकार गठन हुँदा दुई नम्बर प्रदेशमा आन्दोलनको आगो बलिरहेको थियो । त्यहाँ शक्तिशाली दलहरु आन्दोलनमा थिए । ती सबै दललाई पनि समेटेर स्थानीय निर्वाचन हुँदै प्रदेश र संघीय निर्वाचनमा उत्साहपूर्वक सहभागी हुने वातावरण कांग्रेसले नै गरेको थियो । हामीले त्यो तथ्यलाई पनि भुल्नु हुँदैन ।

संविधान पनि नेपाली कांग्रेस नेतृत्वको सरकार रहेकै बेला जारी भएको हो । संविधान जारी हुँदै गर्दा यो संक्रमण काल कति समयसम्म गुज्रिने हो भन्ने धेरैले आशंका गरेका थिए । तर, ती सबै आशंकालाई चिर्दै कांग्रेसकै अगुवाइमा अहिले देश संविधान पूर्ण कार्यान्वयनको चरणमा अघि बढेको छ । कांग्रेसको अगुवाइकै कारण प्रदेश निर्वाचन, संघीय निर्वाचन, स्थानीय निर्वाचन सम्पन्न भएसँगै देश अहिले स्थीरताको दिशामा अघि आधार खडा गरेका छौँ । यसकारण पनि हामी राजनीतिक कारणले सफल भएका छौँ । हामीले कमजोर भयौँ भनेर दिल खुम्च्याउनु पर्ने केही कारण छैन । हामीले गौरव गर्ने नै भूमिका खेलेका छौँ ।

यति भन्दै गर्दा हामी गणितीय हिसाबमा भने केही पछि परेका छौँ । त्यसैले यसलाई सुधार गर्नका लागि हामीले हाम्रो कार्यशैली सुधार गर्नु जरुरी छ । हामीले संघ र प्रदेशको निर्वाचनमा पनि धेरै कुराको ख्याल गरेको भए वाम गठबन्धनको बाबजुद पनि नतिजा यो भन्दा राम्रो आउन सक्ने थियो होला भन्ने अनुमान गर्न सक्छौँ । म अहिले पनि ढुक्कका साथ भन्न सक्छु । हामीले काँग्रेसलाई केही करेक्शन गरेर अघि बढ्ने हो भने आगामी पाँच वर्षपछिको निर्वाचनमा निकै राम्रो पोजिसनमा लैजान सक्छौं ।

 

संसद्को विगतको इतिहासलाई केलाएर हेर्ने हो भने संसद्मा हुने–नहुने खालका सबै बखेडा झिकेर संसद् अवरुद्ध गर्ने, बजेट अवरोध गर्नेजस्ता घटना हुने गरेका छन् । यो पटक कांग्रेस प्रतिपक्षमा छ । बजेट यही जेठ १५ मा ल्याउने तयारी गरेको छ । भूमिका पहिला अरु–अरु दलले गरे जस्तै हुन्छ कि रचनात्मक हुन्छ ?

बाध्यात्मक व्यवस्थाअनुसार पनि जेठ १५ मा बजेट ल्याउनुपर्ने हुन्छ । जहाँसम्म बजेट ल्याउन नदिने, अवरुद्ध गर्ने भन्ने प्रश्न छ । संसद्भित्र गरिने बहस, छलफललाई नै नकरात्मक रुपमा हेर्नु हँुदैन भन्ने मेरो मान्यता छ । सामान्य वादविवादलाई समेत हामीले लोकतन्त्रको सुन्दर पक्ष मान्नुपर्छ । हामीले अहिले मात्र होइन विगतमा पनि भन्दै आएका छौँ । देशको हित हुने, जनताको पक्षको बजेट आयो, सरकार जनताको पक्षमा इमानदार भयो भने हामीले स्वागत नै गर्ने हो । सहयोग नै गर्ने हो तर एकलौटी ढंगले चल्न खोज्यो भने हामीले टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन । हामी त्यो अवस्थामा रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छौँ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार