मिस नेपाल नर्थ अमेरिका हुँदै

मिस नेपाल नर्थ अमेरिका हुँदै

न्यूयोर्क । उत्तर अमेरिकाका सबै मुलुकमा रहेका नेपाली युवतीहरुबीच ‘मिस नेपाल नर्थ अमेरिका’ प्रतियोगिता हुने भएको छ । उन्नत इन्टरनेसनल र ड्रिम्स युनिभर्सलको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको ‘ग्रान्ड फिनाले’ अगष्ट ११ मा न्यूयोर्कमा हुनेछ । प्रतियोगितामा भाग लिनेहरुका लागि मे १२ शनिबारदेखि आवेदन खुला गरिएको छ । प्रतियोगीहरुले आगामी जुन १५ सम्म आवेदन भर्न सक्नेछन् ।

१८ देखि २७ वर्षका नेपाली नागरिकता भएका अथवा बाबु–आमा नेपाली पहिचान भएका युवतीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् । फारम भर्नका लागि अविवाहित हुनुपर्ने, ५ फिट २ इञ्च अग्लो हुनुपर्ने, कम्तीमा हाइस्कुल अध्ययन गरेको र उत्तर अमेरिका वरपर बसोवास गर्दै आएको हुनुपर्नेछ । आवेदन भर्न चाहनेहरुले मिस नेपाल एनए डटकममा गएर भर्न सक्नेछन् । जुलाई १ मा ‘फिनालिस्ट’ हरु छनौट गरिनेछ भने जुन ६ देखि १० सम्म छनौट भएकाहरुलाई तालिम दिइनेछ । आवेदन फारमको शुल्क ५० डलर लाग्नेछ । 

लैङ्गिक समानताको विकास र नेपाली महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले ‘मिस नेपाल नर्थ अमेरिका’ आयोजना गरिएको आयोजक समूहका को–फाउण्डर निराकर उप्रेतीले जानकारी दिए । ‘महिला सशक्तीकरण, लैङ्गिक समानतालाई प्रोत्साहन गर्दै प्रतियोगीहरुको लुकेर रहेको प्रतिभालाई बुझेर त्यसलाई प्रोत्साहन गर्ने, उनीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास र क्षमता अभिवृृद्धिमा काम गरिनेछ’ उप्रेतीले भने, ‘२०१८ की विजेतालाई नेपालमा शिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी काम गरिरहेको गैर सरकारी संस्थाहरुको ‘गुडविल एम्बास्डर’ बनाएर काम गर्नका लागि पठाइनेछ ।’

यी दुई संस्थाहरुको संयुक्त आयोजनामा विगत ८ वर्षदेखि अमेरिकामा ‘मिस नेपाल अमेरिका’ गरिँदै आएको थियो । ‘विगतमा आयोजक समूहमा रहेका केही व्यक्तिहरुले बदमासी गरेकाले तिनीहरुलाई समूहबाट हटाएर ‘मिस नेपाल नर्थ अमेरिका’ आयोजना गरिएको हो,’ को–फाउण्डर शैलेस श्रेष्ठले भने, ‘यसमा अमेरिकाका मात्र नभएर उत्तर अमेरिकाका सबै मुलुकमा छरिएर बसेका नेपालीका छोरीले सहभागी हुन पाउनेछन् ।’

सुरुमा आवेदन दिनेहरु सबैको फारम हेरेर अडिसनबाट प्रतियोगीहरु छानिनेछन् । अडिसन लिने क्रममा उनीहरुको सम्पूर्ण प्रोफाइल जाँच गरेपछि उत्कृष्ट लागेका १८ देखि २० जनासम्म छानिनेछ । उनीहरुलाई तालिमका लागि एउटै होटलमा राखिनेछ । तालिम शुल्क ५ सय अमेरिकी डलर लाग्नेछ भने होटलको अन्य खर्च प्रतियोगी आफैँले व्यहोर्नुपर्ने आयोजकले जनाएको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार