नैतिक पतन ठहरिने कसुरमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने प्रावधानको विपक्षमा कांग्रेस

 नैतिक पतन ठहरिने कसुरमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने प्रावधानको विपक्षमा कांग्रेस


काठमाडौँ, जेठ २ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्ने चेतावनी दिएपछि नैतिक पतन ठहरिने कसुरमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने गरी बनाइएको संसदको नियमावली आजको बैठकमा पेस हुन सकेन ।
सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिदै बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएपछि नियमावली संसदको कार्यसूचीबाट हटाइएको थियो ।
यता सत्तारुढ दल एमाले हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा  निलम्बनको व्यवस्था गर्नुपर्ने अडानमा एमाले छ । एमालेले मतदानको माध्यमबाट भए पनि निमायवली टुंगो लगाउनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका छन् भने कांग्रेसले  मतदानमा लगिए प्रतिपक्षीय रुप देखाउने भन्दै संसदमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको हो ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ पर्नासाथ निलम्बन गर्न नहुने पक्षमा उभिएको कांग्रेस नेता मीन विश्वकर्माले स्वीकार गरे ।  
एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताइन् । सभामुख कृष्णबहादुर महराले नियमावली सकेसम्म सहमतिमा ल्याउन कार्यसूचीमा नराखेको जानकारी दिइन् ।
यसअघि पनि कांग्रेस भ्रष्टाचारमा जेल सजाय पाएका, बलात्कारमा सजाय पाएका र हत्या अभियोगमा पक्राउ परेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने पक्षमा उभिएको एमालेको आरोप छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार