ओली र प्रचण्डको एकै मञ्चबाट उद्घोष– ‘आजै पार्टी एकीकरण हुन्छ’

 ओली र प्रचण्डको एकै मञ्चबाट उद्घोष– ‘आजै पार्टी एकीकरण हुन्छ’


काठमाडौँ, जेठ ३ । नेकपा (एमाले)का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  दासढुंगामा आज भन्दा ठीक २५ वर्षअघि मृत्यु भएका उनीहरुको सम्झनामा विभिन्न कार्यक्रम गरिएको हो ।  
उनीहरुकै सम्झनामा एमाले मुख्यालय बल्खुमा नेकपा एमालेले एक कार्यक्रम गरेको छ । कार्यक्रममा माओवादी र एमाले दुवै दलका नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री प्रचण्ड दुवैले सम्वोधन गर्दै मदन–आश्रितको स्मृतिमा आजै दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र  नेकपा माओवादी केन्द्रले पार्टी एक भएको घोषणा गर्ने जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनको  सानो–सानो गोरेको बाटोबाटो अब ‘सिक्स लेन’को बाटो बनेको भन्दै मदनको सम्झना गरे । उनले सम्वोधनका क्रममा मदनलाई शताव्दी नायक, दुरदर्शी क्षमता भएको नेताको रुपमा व्याख्या गरे ।  ‘आज हामी मदन आश्रित स्मृति दिनका दिन एक हुँदैछौँ,’ ओलीले भने, ‘नेपालको राजनीति, नेपालको समाजनीति, नेपालको भविश्य, नेपालको अर्थतन्त्र, नेपालको संस्कृति, नेपालको उचाइ सबैलाई यो पार्टी एकताले अनेक कोणमा हेर्ने छ ।  यसको दुरगामी अर्थ छ ।’
उनले दुई पार्टीबीचको एकता कसका सदस्य कति छन् भनेर गणितको हिसाव गर्नका लागि नभएको पनि बताए ।  ‘यो एउटा तत्वमा अर्को तत्व मिसाएको हो ।  त्यसैले यो परिणात्मक होइन यसको गुणात्मक महत्व छ,’ उनले भने ।    
उनले आजै दुबै पार्टी औपचारिक रुपमा एक भएको घोषणा गर्ने पनि बताए । ‘एमालेले र माओवादी दुबैले एकता गर्ने निणर्य गरे । अब एकता संयोजन समितिले निर्णय गर्छ । त्यसपछि दुबै पार्टीका केन्द्रीय कमिटीले निर्णय गर्छन्,’ उनले भने, ‘त्यसपछि दुबैको संयुक्त केन्द्रीय कमिटी बस्छ । यो नेपाल अब कता जान्छ भन्ने कुराको पनि निर्णय हो ।’  
उनले एमाले र माओवादीबीच चिसोपन बढ्यो भन्नेहरुका लागि पनि गतिलो जवाफ भएको बताए । ‘मैले अस्ति मात्रै एमाले र माओवादीको एकता चिसियो भनेर भन्नेहरुलाई बालुवाटार हेर्न आउनु भनेको थिएँ । के–हो चिसो के–हो तातो थाहा भयो होला नि ?,’ उनले भने, ‘जनमतको हिसावले अब यो देशमा एउटै पार्टीसँग गन्ती गरेर जनतमत एकदम बहुमत छ । संसद्मा पनि आरामदायी बहुमत छ । अब देश हामीले बनाउने हो ।’
उनले मदन भण्डारीले  लिएको बाटो असाधारण रुपले सफल भएको पनि दाबी गरे । ‘नेपाली कांग्रेस हाम्रो प्रतिष्पर्धी पाटी रहेन् । हामी पनि उसलाई साथमै लिएर जान्छौँ । उसको पनि इतिहास छ । सबै मिलेर देश बनाउने हो । सुखी नेपाली समृद्ध नेपालको नारालाई सबैले पूरा गरेर जाने हो,’ उनले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘ अधिनायकवादी होइन कम्युनिष्ट विकासकारी हुन्छ ढुक्क भए हुन्छ । हामी कुसाशन होइन सुशासन ल्याउनका लागि अघि बढ्छौँ । यो सरकार, यो एकता राष्ट्रनिर्माणका लागि योगदान गरौँ भन्नका लागि हो ।’  
पहिला–पहिला कम्युनिष्टहरु मिल्न जान्दैनन् फुट्न जान्दछन् भन्ने कुरा कान टट्याउन जेल सुनेको भन्दै अब त्यो इतिहास भएको पनि उहाँले दाबी गरे । ‘हामी आज वास्तममा नयाँ मोडमा छौँ । हाम्रो काँधमा धेरै अविभारा छन् । हामी यी अविभारालाई जिम्मेवार पूर्वक पूरा गर्न चाहन्छौँ । त्यहि भएर एक भएका हौँ,’ उनले भने, ‘जीवराज र मदन भण्डारीले देखेको सुखी र संमृद्ध नेपालको सपना पूरा गर्न चाहन्छौँ ।’
कार्यक्रमा माओवादी अध्यक्ष प्रचण्डले मदनको शालिकमा माल्र्याअर्पण गर्न पाएकोमा र शालिक अघि उभिएर दुई पार्टी एक हुँदैतछौँ भन्दै घोषणा गर्न पाएकोमा आफूलाई गौरव अनुभूति भएको दाबी गर्नुभयो । उहाँले मदनको शालिक भएको स्थानलाई ऐतिहासिक स्थल समेत भनेर चर्चा गरे । ‘मदन भण्डारी र जीवराज आश्रितको अवशान भएकै दिन पार्टी एकता गरौँ भनेर मैले नै प्रस्ताव राखेको हो,’ उनले भने,  ‘कम्युनिष्ट आन्दोलनको इतिहासमा यो गौरवपूर्ण दिन बन्ने छ ।’ उनले आनको दिनलाई नयाँ प्रक्रियाको सुरुवातको दिन भएको पनि बताए । ‘मदन र जीवराजप्रति गरेको यो निकै ठूलो सम्मान हो,’ उनल भने, ‘ उहाँहरुले इतिहासलाई नयाँ ढंगले राष्ट्र र जनताप्रति समर्पित गरेर जानुभयो । आज यहि दिन पार्टी एकता गर्दा मलाई गौरव लागेको छ ।’

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार