राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

विन्डसोर, बेलायत, (एजेन्सी) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजित वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए ।

वैवाहिक समारोह भएको दरबार बाहिर हजारौं दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए । उनीहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लाससाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकआपसमा सँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेका थिए । सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हात समाएर वैवाहिक समारोहमा लगेका थिए ।

यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए । विवाहको खुसियालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । उनीहरू सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दी उत्तराधिकारीको पाँचौं रोलक्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरुपमा देखापरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार