नेपाल–भुटानबीच सम्बन्धको सुरुवात

नेपाल–भुटानबीच सम्बन्धको सुरुवात

टेकनाथ रिजाल

१६औँ शताब्दीपूर्व यस ठाउँमा मानिसको राजनीतिक, कानुनी, रहनसहन एवम् सांस्कृतिक विकासका लागि चाहिने पूर्वाधारको नामोनिसान थिएन । यो जङ्गली भूभागमा एक हात भेटिने नालुङ समूहमा जताततै चोरी, डकैती, हत्या र हिंसाका घटना मात्र हुन्थे । सोही समयमा तिब्बतको रालोङ गुम्बाका अवतारी लामा नावाङ नामग्यालको प्रवेश यहाँका समूहका लागि बरदान साबित भयो । उनले सबै जातजातिलाई समेटेर हत्या, हिंसाको साटो मेलमिलापको वातावरण सिर्जना गरे । यही क्रममा स्थानीय बासिन्दाको एकता राज्यको प्रारूप बन्योे । धर्मका आडमा राज्य सञ्चालन गरेकाले नामग्याललाई ल्होत्छाम्पा समुदायले ‘धर्मराजा’ भनेर सम्बोधन गरे । आपसी भाइचारा, प्रेम र सद्भाव कायम गर्ने उनी हिन्दू पण्डित पुरोहितहरुको धर्मराजा पछि संसारमै धर्मराजाका नामले चिनिए । यी धर्मराजा तिब्बतबाट आएका हुनाले यिनको धर्म र भाषा तिब्बती थियो । आफ्नो शासनकालमा यिनले तिब्बतको राजनीतिक परम्परालाई भुटानमा स्थापित गरे । बौद्ध धर्मावलम्बी तथा ङालोङभाषी समूहमाझ यिनको लोकप्रियता बढ्दै गयो ।

हाल चीनको स्वशासित क्षेत्र तिब्बतलाई परापूर्वकालमा नेपालीभाषीले भोट भन्ने गर्थे । धर्मराजाले भुटानमा भोट जस्तै महसुस हुने गरी राज्य सञ्चालन गरे । जसको परिणाम नेपालीभाषीले भोटको एक अङ्गका रूपमा भोटाङ्ग भन्न थालेको किंवदन्ती पाइन्छ । अर्कातिर भोट अर्थात् तिब्बतको सिमाना हालको भुटानसँग जोडिएको थियो । यसैकारण भुटानको नामाकरण भोटको अन्त्यबाट भोटान्त हुँदै भुटान भएको भन्ने कतिपयको भनाइ छ । नामाकरण र राजाको सम्बोधनमा प्रयोग गरिएको संस्कृत भाषाको शब्दले ल्होत्साम्पाहरूको बसोवास र प्रभाव कति पुरानो थियो भन्ने प्रष्ट पार्छ ।

भुटान बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक हो । अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि देशहरू जस्तै यो पनि आप्रवासीको मुलुक हो । भुटानमा लोत्साम्पा, ङालोङ र सार्छोप गरी प्रमुख तीन जातिको बाहुल्यता छ । आदिवासी भन्ने कुनै जातजाति छैनन् । खेङ्पा, ब्रोक्पा, माङ्देपा, कुर्तोप, डोया, सौँताल तथा तिब्बती मूलका गरी डेढ दर्जन जातजाति बसोवास गर्छन् ।

पूर्वीभागमा सार्छोप जातिका मानिसको बाहुल्यता छ । यिनीहरू निङ्मापा धर्म मान्ने र छाङ्ला भाषा बोल्ने गर्छन् । भारतको उत्तरपूर्वी क्षेत्रबाट आएका यिनीहरू भोट बर्मेली मूलका मानिन्छन् । खेतीपाती, चौंरी र भेंडापालन यिनीहरुको मुख्य दैनिकी हो ।

यसैगरी दक्षिण भागमा नेपाली मूलका मानिसको बाहुल्यता छ । हिन्दू धर्म मान्ने यिनीहरुलाई देशको दक्षिणमा बस्ने भएकाले भुटानी भाषामा ल्होत्छाम्पा भनिन्छ । सन् १९८० को दशकसम्म यस क्षेत्रमा लोत्छाम्पाबाहेक अन्य जातिको स्थायी बसोवास प्रमाण भेटिँदैन ।

भुटानको पश्चिम क्षेत्रमा ङालोङ जातिको बसोवास छ । यिनीहरू तिब्बतको राजनीतिक र धार्मिक कारबाहीबाट जोगिन यस क्षेत्रको उत्तरपश्चिममा घुमन्ते रूपमा आएर यतै बसोवास गर्न थालेको भन्ने पाइन्छ । ङालोङ जातिको कुनै पेशा, व्यवसाय र खेतीपाती थिएन । यिनीहरु लुटेर खाने प्रवृत्तिका थिए । समाजमा आतंक मच्चाउनु यिनीहरुको दैनिकी थियो । जोङ्खा भाषा बोल्ने यिनीहरू तिब्बतीयन पोशाक जस्तो देखिने लामो बक्खु लगाउँछन् । 

नेपालसँगको सम्बन्धको सुरुवात

आदिमकालमा भुटान र नेपालको सिमाना जोडिएको थियो । भुटान तथा नेपाल दुबै देशमा बस्ने जातजाति, हावापानी, संस्कृति र रहनसहन मिल्छ । हिन्दू तथा बौद्धहरुको ठूलो तीर्थस्थल भुटानमा छैन । एसियाका अधिकांश बौद्ध धर्मावलम्बीले नेपाललाई तीर्थाटनका रुपमा मान्थे, जो अहिलेसम्म पनि कायमै छ । त्यसबेला भुटानका बौद्ध तथा हिन्दू धर्मावलम्बीहरु लुम्बिनी, स्वयम्भू लगायत नेपालका विभिन्न धार्मिक स्थलहरु खुल्ला रुपमा जाने–आउने गरिरहन्थे । भुटानका ‘धर्मराजा’ नेपालका सांस्कृतिक धरोहरसँग लोभिएका थिए । यसैकारण भुटानमा यस्ता धरोहर निर्माण गर्ने अभिप्रायले नेपालका विभिन्न स्थानबाट धर्मराजाले सिकर्मी, डकर्मी लाने सन्धि गरे । कामदार नपुग्ने देखेका राजाले काठमाडौं, गोरखा लगायतका राजाहरुसँग थप सन्धि गरी कामदार भित्र्याए । सन्धिपश्चात् नेपालबाट ल्याइएका नेपालीभाषी जनता र तिनका सन्तानले भुटानमै स्थायी रूपले बसोवास गर्न थाले । नेपाली कामदारहरुको कार्यशैली र इमानदारिताबाट प्रभावित भएका राजाले आफ्नो देशमा थप नेपाली बस्ती बसाल्न उपयुक्त हुने ठानिसकेका थिए । चाहनाअनुसार नै बङ्गाल, आसाम, सिक्किम र बर्माबाट पनि नेपालीभाषी मानिस खोजेर भुटानमा ल्याइएको पाइन्छ । कतिपय लेख तथा तथ्याङ्क भुटानकै राज्यले प्रोत्साहन दिएर नेपालीभाषीलाई देशमा ल्याइएको संकेत गर्छ । भारतीय लेखक निर्मला दासको पुस्तक ‘ड्रागन किङ्डम भुटान’ यसको प्रमाण हो । यी सबै विषयलाई सरसर्ती हेर्दा भुटानमा चार कालखण्डमा नेपालीभाषी बसेको प्रमाण भेटिन्छ । आदिमकालका नेपालीभाषी, राजाले ल्याएका नेपालीभाषी, ब्रिटिस सरकारको चाहनामा ल्याइएका नेपालीभाषी र अन्तर्राष्ट्रिय सिमानाका कारण भुटानपट्टि परेका नेपालीभाषी । 

धर्मराजाको निधनपछिको भुटान

धर्मराजाले दक्षिण क्षेत्रबाहेक भुटानका विभिन्न क्षेत्रमा विशेष अधिकार दिई प्रशासनिक सहयोगीका रुपमा पेन्लोपहरुलाई नियुक्त गरेका थिए । नियुक्त भएका पेन्लोपबीच शक्तिको होडबाजी र लुटपाट मच्चाउने प्रवृत्तिका कारणले झगडा हुने गथ्र्यो । झगडा चर्किंदै जाँदा टोङ्गसाका पेन्लोप उगेन वाङचुकले धर्मराजालाई सत्ताच्युत गरे । तत्पश्चात् भुटानको राजनीति फेरियो । धर्मराजाको शासन पद्धतिसमेत खारेज गरियो । तत्पश्चात् पुनाखामा सन् १९०७ डिसेम्बर १७ तारिखका दिन उगेन वाङ्चुकलाई भुटानका पेन्लोपहरुले राजा स्वीकार र घोषणा गरे । उगेनलाई यसअघि नै ब्रिटिस सरकारले सरको उपाधि दिइसकेको थियो । राजा घोषणा समारोहको दस्तावेजमा लोछम्पाहरुको सहमतिको प्रमाण भने पाइँदैन । दक्षिण भुटानी र भुटान दरबारका बीच देखिएको असमझदारी अन्त्य नभइकन उगेनको मृत्यु भयो ।

सन् १९२६ मा उगेनको मृत्युपश्चात् उनका छोरा जिग्मी वाङ्चुक भुटानमा वाङ्चुक वंशका दोस्रोे राजा भए । दोस्रा राजा जिग्मी वाङ्चुकको मृत्यु सन् १९५२ मा भयो । त्यसपछि उनका छोरा जिग्मी दोर्जी वाङ्चुक राजा भए । 

वाङ्चुक वंशका पहिलो राजा घोषणा समारोहमा दक्षिण भुटानका मानिस उपस्थित नहुनुको पछाडि डिभी गुरुङ नेतृत्वको प्रजातान्त्रिक आन्दोलन थियो । आन्दोलनरत उनीहरुका मागहरुको सम्बोधन नभएसम्म कसैलाई नमान्ने अडानमा थिए । जसका लागि हामीले पछाडि फर्केर हेर्न जरुरी छ । धर्मराजाको पालादेखि नै दक्षिण भुटानको प्रशासनिक व्यवस्था देशको अन्य भागभन्दा छुट्टै थियो । एक हिसाबले हेर्दा अघोषित स्वायत्त राज्य जस्तो गरी भुटानको दक्षिणी क्षेत्र सञ्चालित थियो । एसटी दोर्जी ब्रिटिस सरकारको चाहनामा भारतको कालिङपुङमा कार्यालयका प्रमुख भएसँगै दक्षिण भुटानको हर्ताकर्तासमेत भए । समयक्रमसँगै दक्षिण भुटान, भुटानी राजा र एसटी दोर्जीको शंका–उपशंका तथा शक्तिको होडबाजीको दमनमा पर्न थाल्यो । ब्रिटिस सरकारले राई बहादुरको उपाधि दिएर दक्षिण भुटानमा खटाएका गर्जमान गुरुङसँग खुलेरै एसटी दोर्जीले अत्याचार भने गर्न सक्दैनथे । ब्रिटिस सरकारले गुरुङलाई ङालुङ समुदायका डाँकाहरुबाट आपूm बच्न सुरक्षाको जिम्मेवारी दिएर राखेको थियो । डाँका समूहको आँखाको तारो बनेका गुरुङलाई अन्त्यमा पारो दरबारमा बोलाएर झुक्याएर मारेको भन्ने कतिपयको भनाइ छ । उनको हत्यापश्चात् उनका नातेदार डिभी गुरुङको नेतृत्वमा भुटान कांग्रेस नामक राजनीतिक दल खोलियो । ब्रिटिसपछि भारतमा भइरहेको राजनीतिक परिवर्तन र राजाको दमनका अगाडि दलले पनि सशक्त भूमिका भने खेल्न सकेन । भुटानमा अत्याचार र दमनका घटना बढ्दै जान थाले । यो अवस्थामा भुटानमा टिक्न नदिइएपछि डिभी गुरुङ भारतमा भूमिगत हुँदै आन्दोलन जारी राखे । घटनालाई नजिकैबाट हेरिरहेका नेपाल र भारतले भुटानका राजा र जनताबीच मेलमिलाप ल्याउने प्रयास सुरु गरे । यसैबीच नेपाललाई भारतले भुटानको मामिला हामी मिलाउँछौं भन्दै पछि हटाएको थियो । सन् १९५७ मा भारतले मेलमिलापका लागि गरेको सुझावलाई मध्यनजर गर्दै भुटानका राजाले डिभी गुरुङलाई देश फर्कन आग्रह गरे । १२ वर्षपछाडि गुरुङलाई बोलाइएको थियो ।

राजाले बोलाएर देश फर्किएका डिभी गुरुङ ससम्मान नागरिक जीवन जिउन भने सकेनन् । उनी प्रायः एक्लो जस्तै भइरहे । कार्यकर्ता राजाको डरले उनलाई भेट्न प्रायः जाँदैनथे । अन्ततः उनी अघोषित नजरबन्दी जस्तै भए । मानसिक तनावमा रहेका उनको आफ्नै घरमा निधन भयो ।

भुटानमा एकपछि अर्को पत्याउनै गाह्रो पर्ने घटनाहरु भइरहे । भुटान दरबार आफ्ना सन्तानबाहेक अर्को विद्वत व्यक्ति  राजनीतिमा आएको मन पराउँदैनथ्यो, जो आजसम्म पनि कायमै छ । गर्जमान गुरुङपछि भुटान दरबारको आँखामा कालिङ्पुङका एजेन्ट एसटी दोर्जीका दुई छोरा पाल्देन र लेण्डुप परे । दरबार दोर्जी दाजुभाइका कारण डिभी गुरुङले दल खोलेको भन्ने ठान्थ्यो जसकारण डिभी पनि दरबारको निशानामा थिए । अंग्रेजी विद्यामा निपूर्ण दुवै दोर्जीको सशक्त प्रयासमा भुटान दरबार तथा तत्कालीन अंग्रेज साम्राज्यवाद र स्वतन्त्र भारतका नेताहरुसँग समन्वयकारी भूमिका खेल्दै आएका थिए । यही परिवारको रचनात्मक भूमिकाबाट भारतीय प्रथम प्रधानमन्त्री पण्डित जवाहारलाल नेहरुले भुटान भ्रमण गरेर राजा र जनताको भलाइमा सुझाएका थिए । फलस्वरुप भुटानमा पाँचौं पञ्चवर्षीय योजनादेखि लिएर तमाम क्षेत्रमा भारतको सहयोग जुट्यो ।  विकासको थालनीकालमै एसटी दोर्जीका जेठा छोरा पाल्देन दोर्जीलाई भारतको सुझावमा राजाले प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । आफ्नो शक्तिशाली विपक्षी हुन सक्ने ठानेका उनलाई डिभी गुरुङसँग मेलमिलाप पनि भएका कारण कुनै पनि अवस्थामा भुटान दरबारले आफ्नो रुचीमा प्रधानमन्त्रीको अभिभारा दिने थिएन । बाह्य दबाबमा प्रधानमन्त्री बनाइएका पाल्देन दोर्जीको सन् १९६४ मा राजपरिवारबाटै हत्या भयो । त्यसपछि भुटानमा २००८ सालसम्म प्रधानमन्त्रीको नियुक्ति नै भएन । राजपरिवारबाटै हत्या भएको घटनालाई दबाएर राख्न दरबारले सेनाप्रमुखलाई थिम्पु मैदानमा मृत्युदण्ड दियो । यसरी निर्दोष सर्वसाधारणका छोरालाई खुलेआम मृत्युदण्ड दिएको घटनाले त्रसित प्रधानमन्त्रीका भाइ र दिदी तथा केही उच्चपदस्थ अधिकारी भुटानबाट रातारात भागेर नेपालको शरणमा पुगे । दोर्जी परिवारले त्यसताका भारतको भन्दा नेपालको सहयोग दह्रो हुने ठानेका थिए ।

इतिहासदेखि अहिलेसम्म हेर्दा भुटान शंकाको राजनीति गर्छ भन्दा कुनै फरक पर्दैन । भुटान दरबारले कुनै पनि विषय शंकाको घेरामा पा¥यो भने त्यसको जरो खनेरै मात्र छाड्छ, यो उसको स्वभाव हो । चाहे सामान्य होस् या जटिल सबै विषय यही स्वभावतः समाधान हुने गरेको छ । १९८० को दशकदेखि सिमानामा गोर्खाल्याण्ड आन्दोलन चर्किनु, दक्षिण भुटानका नागरिकलाई भारतको गान्धी परिवारको साहनुभूति रहनु, डिभी गुरुङ नेतृत्वको पार्र्टी सोही क्षेत्रमा खुल्नु लगायत घटनाक्रमले भुटान दरबार दक्षिण भुटानीसँग शंकाको नजरले हेर्न थाल्यो । यसैकारण गोप्य रुपमा राजाले आफ्नै भाइलाई प्रयोग गरी कांग्रेसमा संलग्न नागरिकको चियोचर्चो गर्न लगाए । राजाका भाइ नाम्गेल वाङ्चोक १९६५ देखि दक्षिण भुटानमा गएर अस्थायी बसोवास गर्न थाले । नाम्गेलको दैनिकी बाघ, हरिण, गैंडा, हात्ती मार्नुसँगै भारतीय सिमानामा आवतजावत गर्ने मानिस र दक्षिणी भुटानका धनीमानी व्यापारीको चियोचर्चो गर्नुमा बित्थ्यो ।

रिजाल भुटानी अधिकारवादी नेता हुन्

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार