विभाजित भएकै हो त न्यूयोर्कको नेपाली डायस्पोरा

विभाजित भएकै हो त न्यूयोर्कको नेपाली डायस्पोरा

प्रसंग सुरु गरौं, जर्ज जे. साञ्चेजद्वारा १९९३ मा लिखित पुस्तक ‘वि कमिङ मेक्सिकन अमेरिकन’को मुख्य विषयवस्तुमार्फत । यस पुस्तकमा साञ्चेजले आप्रवासीलाई अमेरिकन बन्न कि त कठिन छ, कस्तो संघर्ष गर्नुपर्दछ भन्ने विषयवस्तुलाई मेक्सिकन नागरिक या समुदायको स्टडीमार्फत उजागर गरेका छन् । यसमा अमेरिकन बन्नुभन्दा पनि अमेरिकन भइसकेपछि आफ्नो जातीयता, संस्कृति र पहिचान के हो त अमेरिकामा भन्ने गहन विषयवस्तुलाई उठान गरिएको छ । जुन सबै आप्रवासीहरुको साझा समस्या हो भन्दा अत्युक्ति नहोला । अब यस आलेखको विषयवस्तुतर्फ प्रवेश गरौं । भर्खरै सम्पन्न नेपाल डे परेड–२०१८ को सन्दर्भमार्फत ।

किन फक्रेन परेड–२०१८ ?

नेपाली परेड डे भन्दा केही दिन अगाडि क्यूनी ग्राजुएट सेण्टरका एक ७६ वर्षीय समाजशास्त्रका प्रोफेसरले पङ्तिकारसँग भन्दै थिए– ‘पछिल्लो केही दशकदेखि म मेडिसन एभिन्यूमा बस्दै आएको छु । प्रायः सबै आप्रवासीहरुको परेड हेर्ने गरेको छु ।’ सोही प्रसङ्गमा मैले मे २०, २०१८ का दिन नेपाली परेड रहेको बताएको थिएँ । संयोगबश परेड डे का दिन ती प्रोफेसर त्यहीं देखा परे । ती प्रोफेसरले ‘नेपाली समुदाय ट्राई स्टेटमा बाक्लो उपस्थिति भएको तथ्याङ्क भए पनि परेडमा भने उल्लेख्य उपस्थिति देखिएन’ भन्दै नेपाली समाजको एकता एवम् सम्बद्धतामाथि शंका गरे । मैले उनलाई नेपालीहरु अधिकांश निलो कलरको जागिर गर्ने हुनाले बिदा मिलाउन नसकेर उपस्थिति कम भएको स्पष्टीकरण दिएको विचारलाई आंशिक रुपमा स्वीकार्दै उनले आफ्नो तर्क यस प्रकार राखे । ‘अधिकांश अल्पविकसित मुलुकका समाज जातीयता र क्षेत्रीयतामा विभक्त हुन्छ, यहाँ पनि त्यस्तै भएको पो हो कि ?’ भन्दै  प्रतिप्रश्न गरे । म यो विषयमा जानकार व्यक्ति थिइन तर यो प्रश्नले मलाई पनि त्यो कोणबाट सोच्न बाध्य बनायो । तर पनि पछिल्ला दुई परेड डे को तुलनामा यस पटक उपस्थिति निकै कम भएको महसुस मैले पनि गरेको थिएँ । परेड अगाडि र पछाडि सामाजिक सञ्जालमा पोतिएका स्टाटसहरुको विश्लेषण गर्दा विभिन्न संघसंस्थाबीच निकै ठूलो पौठेजोरी चलेको रहेछ । अघिल्ला दुई परेडदेखिका विवादहरु चरमोत्कर्षमा पुगेका रहेछन् । खैर जेसुकै होस्, यो परेड ती वृद्धा समाजशास्त्रीले आँकलन गरेअनुसार जातीयताको गन्धबाट पनि अछुतो रहेनछ । सामाजिक सञ्जालमा पोखिएझैं अघिल्ला परेडहरुमा विसंगति र विकृति देखिएकै हो र केही व्यक्तिहरुले व्यक्तिगत लाभ लिएकै हुन् भने तीन–तीन वर्षसम्म त्यसविरुद्ध आवाज किन उठेन ? सम्बन्धितले दिएको स्पष्टीकरण एवम् सफाइमा चित्त नबुझे कानुनी उपचारको विकल्प रोज्ने हिम्मत किन गरिएन ? यसमा देखिएका या भएका विसंगति एवम् अनियमिताको विरोध गर्ने विभिन्न माध्यम थिए होलान् । यस्ता विरोधाभास र असन्तुष्टिलाई फुटेर होइन जुटेर समाधान गर्नु हामी किन र कहाँ चुक्यौं ? यसको बहस कसले र कहिले गर्ने ? मुट्ठीभर व्यक्तिका इगोको लडाइँमा नेपाली परेडलाई नै सहिद बनाउने प्रयास कति विवेकशील र कति प्रतिफलमुखी ? के परेड बहिष्कार गर्दैमा, असफल बनाउँदैमा सबै असन्तुष्टिका मुद्दाहरु सम्बोधन अब भएका हुन् ? यदि हो भने यसलाई सफलताको रुपमा लिऊँ । होइन भने परेड समग्र नेपाल र नेपालीको प्रतिष्ठा र समवेदनासँग जोडिएको विषय हो । विशाल जनसहभागितामार्फत नै अमेरिकामा नेपाली डायस्पोरा कति वजनदार र अर्थपूर्ण छ भन्ने सन्देश दिन सकिन्छ ।

कति अब्बल नेपाली डायस्पोरा ?

अमेरिकामा भित्रिएका नेपाली जो–जसरी भित्रिए पनि प्रायः सबै नेपालमा हुने खाने, चलखेल गरेका र आ–आफ्नो क्षेत्रमा टठाइ–बठ्याइँ जानेका या गरेका नै हुन् । राजनीतिक, आर्थिक, सामाजिक या पेशागत हिसाबले कुनै एकमा अब्बल भएका नै आइपुगेका छन् अमेरीका । यसरी सवै आ–आफ्नो क्षेत्रमा अव्बल र मजबुत मानिएका जमातहरुको भिडद्वारा निर्मित यो नेपाली डायस्पोरा किन यति कमजोर, विभक्त र जीर्ण छ ? यो विषय नेपाली डायस्पोराका नेता मानिएका व्यक्तिहरु तथा च्याउझैं उम्रेका संघसंस्थाबीच बहसको विषय सायदै बनेको होला । एक समुदायले अर्को समुदाय तथा एक गुटले अर्को गुटमाथि प्रतिस्पर्धा गर्ने र त्यसमा एकले अर्कोलाई लतार्दा रमाउने हो भने समुदाय र वर्गको उत्थान कहिल्यै सम्भव छैन । तसर्थ, प्रवासमा नेपालीलाई जातीय, भाषीय र भेगीय आधारमा विभाजन गरेर एउटा झुण्डको नेतृत्व गर्न अग्रसर हुने जो–कोहीलाई बेलैमा पहिचान गरेर सार्वजनिक बहिष्कार गर्न हरेक व्यक्तिले हिम्मत गर्नुपर्दछ । सबैको ऐक्यबद्धता, सम्बद्धता र सम्मानमा नेपाली डायस्पोरालाई फराकिलो र मजबुत बनाइनुपर्दछ । जसले डायस्पोरामा दोस्रो पुस्ताका नेपालीबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्न सकोस् । नेपाल र नेपालीको परम्पराको निरन्तरता कायम गर्न सकोस् । स्मरण रहोस्, जबसम्म एकले हरेक अर्कोको सहअस्तित्व स्वीकार्न, आपसी सहकार्यमा विश्वास राख्न र सबैको सम्मान गर्न सक्दैन तबसम्म नेपाली समाजले जनसाङ्ख्यिक रुपमा आकार त ठूलै लेला, तर सामाजिक विकास र सामुदायिक मजबुती कायम गर्न कदापि सक्दैन ।

अमेरिकामा नेपालीको जातीयता के ?

अमेरिकी सरकारको जातीय वर्गीकरणअनुसार नेपालीहरुको पहिचान नन हिस्पेनीक, नन लेटिनो जातीयताभित्र एसियन जाति हो । यहाँको जातीय वर्गीकरणले न त जनजाति चिन्दछ, न दलितलाई नै आरक्षण गर्दछ, न त अन्यप्रति अनुग्रह हुन्छ र न तराई–मधेशकालाई इनायत गर्दछ, न त खस र आर्यलाई पहिचान । नेपाल र नेपालीकै पहिचान स्थापित नभएको देशमा जातीयताको रंगभेद कति आवश्यक ? जातजातिका नाममा विभाजन केका लागि ? सकिन्छ र यदि सम्भव छ भने सबै जुटौं, पहिला हाम्रो पहिचान एसियनबाट नेपालीमा स्थापित गराऔं । त्यसपछि जातको लागि हामी–हामी फेरि लडौंला । होइन भने प्रवासमा एकअर्काविरुद्ध राजनीति गर्न खोलिएका यस्ता संघसंस्थाका आवश्यकता र औचित्य देखिँदैन । हामी त जात र जातीयताका लागि जीवनभर एकआपसमा लडिरह्यौं । यस परम्परालाई कम्तीमा अब हाम्रो दोस्रो पुस्तालाई त नसिकाऔं । उनीहरुलाई सबैको परम्परा, रीतिरिवाज र चाडपर्व हामी सम्पूर्ण नेपालीको आफ्नो पर्व हो भन्ने वातावरण तयार पारौं । यसका लागि खेद र बहिष्कारको बदनियत होइन, स्वागत र आम–सहभागितासहितको फराकिलो नेपाली मनको आवश्यकता छ ।

अन्त्यमा, विविधतामा एकता रहेको सन्देश दिन तथा नेपाली आप्रवासीको उपस्थिति प्रवासमा पनि उल्लेख्य छ भन्ने देखाउन हामी फुटेर होइन जुटेर अगाडि बढ्नुको विकल्प छैन । हामी पनि यो समाजको महत्वपूर्ण हिस्सा हौं भन्ने सन्देश दिन बाक्लो उपस्थितिसहितका यस्ता परेडहरु निकै प्रभावकारी माध्यम हो । तर, दुर्भाग्य यस्तैमा एकआपसमा भिडेर असफल पार्न जुट्छौं । फुटाउनु र विफल पार्नुलाई हामी ठूलो सफलता ठान्दछौं । तर, सम्रगमा यो नेपाली डायस्पोराको ठूलो हार हो । साञ्चेजले आफ्नो पुस्तकमा प्रस्तुत गरेजस्तै, हामी पनि प्रवासमा नेपाली जातिको पहिचान कसरी स्थापित गर्ने भन्नेतर्फ सबै एक भएर जुट्नुको विकल्प छैन ।

aojha@gradcenter.cuny.edu

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार